विराटनगरमा शनिवार बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा
विराटनगर । विराटनगरमा शनिवार बिहानदेखि अनिश्चितकालिन निषेधाज्ञा तोकिएको छ । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकेको हो ।
प्रदेशको नामकरणपश्चात् विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिवार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालिन निषेधित क्षेत्र घोषणा गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवकाअनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवत जावतबाहेक सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ । गत फागुन १७ गते बसेको प्रदेशसभाको बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्।
यसले शान्ति सुरक्षामा असर पर्ने भएकाले निश्चित क्षेत्रमा सभा, जुलस, धर्ना, भेलालगायतको कार्यक्रम गर्न निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । जिल्ला प्रशासन कार्यालयले भनेको छ, ‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) क) बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ।’
निषेधित क्षेत्र तोकिएका स्थानमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म छन् ।
आदेशको उल्लङ्घन गरिए कारबाही हुनेतर्फ पनि प्रशासनले सचेत गराएको छ । आइतबारदेखि कोशी प्रदेशको प्रदेश सभाको बैठक बस्दैछ । पहिचानवादीको आन्दोलनले उक्त बैठक बिथल्ने भएकोले प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण