शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा जेठ १६ बाट राष्ट्रिय भलिबल प्रतियोगिता हुने

आइतबार, १४ जेठ २०८०, १८ : ४६
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । जेठ १६ गतेबाट हेटौंडामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान हेटौंडाले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो । 

प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको सयुंक्त आयोजनामा हेटौंडामा जेठ १६ गतेदेखि खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा १० टिमको सहभागितामा रहने जिल्ला भलिबल संघका अध्यक्ष वसन्त कुमार सिटौलाले जानकारी दिए । २०६४ सालपछि पहिलो पटक हेटौंडामा राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगिता अन्तर्गतको सम्पूर्ण खेल हेटौंडा ४ स्थित हुप्र चौरमा रहेको भलिबल कोर्टमा हुने उनले बताए ।

प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, बागमती प्रदेश भलिबल टिम, मधेस प्रदेश भलिबल टिम, मणिमुकुन्द भलिबल टिम बुटवल, गण्डकी प्रदेश भलिबल टिम, वालिङ भलिबल टिम स्याङजा, पाथिभरा भलिबल टिम झापासहित आयोजक मकवानपुर जिल्ला भलिबल संघको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले २ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र, द्धितिय हुने टिमले नगद एक लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको सेमिफाइनलमा पुग्ने २ टिमलाई ५०÷५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने अध्यक्ष विष्टले बताए ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ र विधागत उत्कृष्ट हुने खेलाडीहरुलाई जनही नगद ५÷५ हजार रुपैयाँबाट पुरस्कृत गरिने छ ।

२५ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त प्रतियोगिता संचालनका लागि हेटौंडा उपमहानगरपालिका, बागमती प्रदेश खेलकुद विकास परिषद्, हेटौंडा उपमहानगरपालिकाको १९ र ३ नम्बर वडा कार्यालयले आर्थिक सहयोग गर्नेछन् भने प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका भलिबल संघ, थाहा नगरपालिका भलिबल संघ, मकवानपुरगढी गाउँपालिका भलिबल संघ र भीमफेदी गाउँपालिका भलिबल संघको समनवय रहने जनाइएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप