बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
१६औँ गणतन्त्र दिवस

‘संसद्‍मा राजसंस्थाका पक्षमा आवाज उठ्दा रास्वपालाई राम्रो लाग्दैन’

सोमबार, १५ जेठ २०८०, ०७ : ००
सोमबार, १५ जेठ २०८०

संविधानले जुन राजनीतिक व्यवस्था ग्यारेन्टी गरेको छ, ती सबैमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिबद्ध छ । हामीले पार्टी स्थापना गरेदेखि पार्टीको विधिवत महाधिवेशन गर्न पाएका छैनौँ र पार्टीको दस्तावेजीकरण गर्न बाँकी छ, तर अहिलेको हाम्रो सामान्य भनाइ र बुझाइ के हो भने यो संविधानले गरेको राजनीतिक व्यवस्थाप्रति हामी इमानदार छौँ । हामी यो व्यवस्थालाई अझै बलियो र सुदृढ बनाउन प्रतिबद्ध छौँ । 

धर्मनिरपेक्षतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति कहिलेकाहीँ नकारात्मक टीकाटिप्पणी गरिन्छ, तर यो त्यतिकै आएको व्यवस्था होइन । यसमा लामो समयदेखिको सङ्घर्षको इतिहास छ । यसका लागि लामो राजनीतिक, सामाजिक, सांस्कृतिक सङ्घर्ष रहेको छ । यी सबै सङ्घर्षले गणतन्त्रलाई यो ठाउँमा ल्याइपुर्‍याएको हो । 

जनतालाई अधिकार सम्पन्न बनाउने सन्दर्भमा, जनताका पक्षमा राज्यलाई उत्तरदायी बनाउने सन्दर्भमा लोकतन्त्रमा योभन्दा उत्तम विधि के हुन सक्छ ? विभिन्न कालखण्डमा हामीले गरेका सङ्घर्षबाट स्थापित जुन राज्यव्यवस्था छ, त्यसमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिबद्ध छ । 

यो व्यवस्थालाई अझ सुदृढ बनाउन, जनताका पक्षमा काम गर्ने अवस्था सिर्जना गर्न हाम्रो पार्टी तयार छ । 

हामीले प्रदेशमा उम्मेदवारी नदिनुको पछाडि प्राविधिक र समय सीमितताका कुरा थिए । त्यसकारण हामीलाई सङ्घीयताविरोधी हो कि भन्ने शङ्का गरियो ।

गत निर्वाचनमा प्रदेश सभातर्फको निर्वाचनका लागि उम्मेदवार नउठाएपछि हाम्रो पार्टी सङ्घीयताविरोधी हो कि भन्ने आशंकाले लामो समयसम्म टीकाटिप्पणी चल्यो । त्यो एउटा भ्रम मात्र थियो । 

हामीले प्रदेशमा उम्मेदवारी नदिनुको पछाडि प्राविधिक र समय सीमितताका कुरा थिए । त्यसकारण हामीलाई सङ्घीयताविरोधी हो कि भन्ने शङ्का गरियो, तर आज त्यो शङ्का चिरिइसकेको छ, किनभने हामीले हाम्रो पार्टीको संरचना सङ्घीय स्वरूपमा बनाइसकेका छौँ । हामीसँग अहिले पार्टीको प्रदेश कमिटी छ । हामीले देशको शासन व्यवस्था अनुसारको पार्टीको सङ्गठन निर्माण गरिरहँदा हामीलाई सङ्घीयताविरोधी भनिरहनु तथ्यपरक हुँदैन । 

सङ्घीयतालाई अझ प्रभावकारी बनाउन, अझ जनताका पक्षमा काम गर्ने बनाउन र यसलाई चुस्त–दुरुस्त बनाउने सवालमा रास्वपाले निरन्तर काम गर्नेछ । धेरै ठूलो राजनीतिक सङ्घर्षबाट जुन व्यवस्था आएको छ, त्यसप्रति हाम्रो प्रश्न छैन ।

जनतालाई नै राज्यको सर्वोपरी ठान्ने राजनीतिक प्रक्रियाले कुनै पनि जनताको छोरो शासनसत्ताको त्यो पदमा रहन पाउनुपर्छ भनेर आएको गणतन्त्रमाथि हामी प्रश्न गर्दैनौँ । 

अहिले प्रतिनिधिसभा बैठकमा गणतन्त्रविरुद्ध र राजसंस्थाको पक्षमा आवाज पनि उठिरहेको छ, त्यो राप्रपाको आफ्नो कुरा हो । उसको दर्शन, विचार नै राजा हो । पार्टीका हिसाबले उहाँहरूले गर्ने गतिविधि त्यही हो, त्यसमा हाम्रो सरोकार छैन ।  आज गणतन्त्र नेपालको सङ्घीय संसद्मा त्यस्तो कुरा भइरहँदा, सुनिरहँदा कताकता राम्रो लाग्दैन । राजनीतिक विचारलाई निषेध पनि गर्नु हुँदैन । राजनीतिमा एउटा नैतिकता भन्ने कुरा हुन्छ । कुन कुरालाई कुन ठाउँमा उठाउने  भन्ने पनि होला । त्यो उहाँहरूको राजनीतिक दर्शन हो । त्यसमा भन्नु केही छैन । 

गणतन्त्र त जनताका पक्षमा हो । जनतालाई नै राज्यको सर्वोपरी ठान्ने राजनीतिक प्रक्रियाले कुनै पनि जनताको छोरो शासनसत्ताको त्यो पदमा रहन पाउनुपर्छ भनेर आएको गणतन्त्रमाथि हामी प्रश्न गर्दैनौँ । 

अर्को कुरा, हामीले जुन राजनीतिक व्यवस्था परिवर्तन गर्‍यौँ, त्यो व्यवस्था परिवर्तन भएपछाडि हिजोकै व्यवस्थाका पात्र, हिजोको त्यही सामन्ती व्यवस्था, त्यही एकात्मक राज्यप्रणालीमा विफल भएका पात्र नै नेपाली राजनीतिको केन्द्रमा छन् । त्यो व्यवस्था सँगसँगै पात्रको व्यवहार र चरित्र पनि फेरिनुपर्छ ।

सिद्धान्तअनुसार व्यवहार भएन भने केही कुरा टिक्दैन । अहिले भएको पनि त्यही हो । हामी गणतन्त्रमा गयौँ, कतिपय पात्रमा अझै पनि सामन्ती, राजतन्त्रको जस्तो शैली बाँकी छ । हामी सङ्घीयतामा गयौँ, अझै पनि कतिपय पार्टीका नेता एकात्मक राज्यप्रणालीको मनोदशाबाट ग्रसित छन्, यस्तो भइरहने गर्छ, तर यस्तो भयो भन्दैमा हामीले  व्यवस्थालाई दोष दिनु हुँदैन । त्यो व्यक्ति र पात्रको कुरा हो । व्यवस्थाले जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्छ, त्यो परिवर्तन ल्याउने पात्रहरूले तदनुरूपको काम गर्नुपर्छ । केही अमूक पात्रहरू व्यवस्था अनुकूल भएन भनेर व्यवस्थामाथि प्रहार गर्न पाइँदैन । 

जनताले आफ्नो शासक आफैँले लोकतान्त्रिक विधि–पद्धतिबाट छान्ने एउटा व्यवस्था भएका कारण गणतन्त्र पछाडि र हिजो राजतन्त्र भएका बेलाबीच फरक अवस्था हुनुपर्छ । राजकाज, राज्यकला फरक हुनुपर्छ । त्यो छलफलको विषय होला, तर राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई सर्वोपरी मान्छ । जनता सार्वभौम छन्, राज्य शक्तिका स्रोत हुन्, जनता नै यो देशका मालिक हुन् । जनतालाई यो देशको मालिक बनाउनका लागि गणतन्त्रबाट हामी पछाडि हट्न सक्दैनौँ । यो गणतान्त्रिक व्यवस्थालाई जनताका लागि छोइने र महसुस हुने खालको बनाउनुपर्छ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर काम गर्नेछ । 

(राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारसँग रातोपाटीकर्मी शम्भु दङ्गालले गरेको वार्तामा आधारित ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सन्तोष परियार
सन्तोष परियार
लेखकबाट थप