मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
१६औँ गणतन्त्र दिवस

विकास र समृद्धिको आधार गणतन्त्रबाट निर्माण भएको हो : प्रदेश प्रमुख शर्मा

सोमबार, १५ जेठ २०८०, १० : ३१
सोमबार, १५ जेठ २०८०

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले देश विकास र समृद्धिको आधार गणतन्त्रबाट निर्माण भएको बताएका छन् । सोमबार सोह्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले गणतन्त्रको आधारमा टेकेर देश सुशासन, विकास एवं समृद्धिको पथमा लम्किएको बताए ।

उनले नेपाल शाह वंशीय राजतन्त्रात्मक शासन व्यवस्था अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेको ऐतिहासिक र गौरवमय दिनका रूपमा गणतन्त्र दिवस रहेको उल्लेख गरे ।

प्रमुख शर्माले शुभकामना सन्देशमा भनेका छन्, ‘यस महत्त्वपूर्ण दिनको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात, अज्ञात अमर सहिदहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै उनले बेपत्ता, घाइते तथा अपाङ्ग योद्धाहरूमा उच्च सम्मान प्रकट गरेका छन् ।

शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भनेका छन्, यो दिनलाई हामी वंश परम्परामा चलिआएको निरङ्कुश, केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको अन्त्य गर्दै नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने दिनका रूपमा स्मरण गर्दछौँ ।’

गणतन्त्रात्मक व्यवस्थामा संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता एवं समावेशिता सहितको संविधान प्राप्त भएको प्रमुख शर्माको भनाइ छ । प्राप्त गरेको उपलब्धि माथि धावा बोल्नेबाट सचेत रहँदै मुलुकको स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै संविधानको मर्म र भावना अनुसार चल्नु हामी सबै नागरिकको दायित्व भएको उनले बताए ।

‘नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक न्याय, सामाजिक सुरक्षा, श्रम, महिला, बालबालिका, दलितका हक जस्ता विषय हाम्रा लागि अत्यन्त सुखद र खुसीको विषय भएको छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यी तमाम प्राप्त उपलब्धिको रक्षा र कार्यान्वयन गर्दै अघि बढेमा गणतन्त्र थप दिगो र दरिलो हुँदै जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन अवश्य हुने छ ।’

हाम्रो जीवनलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणसहित सभ्य र सुसंस्कृत बनाउँदै समुन्नत समाज निर्माणमा गणतन्त्रले सदैव मार्ग प्रशस्त गर्ने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप