शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा जारी प्रदर्शनलाई हिंसात्मक नबनाउन आयोगको आग्रह

सोमबार, १५ जेठ २०८०, १२ : १७
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर जारी प्रदर्शनलाई हिंसात्मक नबनाउन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सोमबार जारी प्रदेशको विज्ञप्तिमा  नागरिकको शान्तिपूर्ण भेला हुने र विचार राख्ने अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरिएको छ । 

यस्तै कुनै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँदा कानुनसम्मत विधि र मानव अधिकारमैत्री व्यवहार गर्न, विवादको विषयलाई वार्ता र संवादको माध्यमबाट टुङ्ग्याउन, आम नागरिकले आफ्नो पेसा, व्यवसाय र गतिविधि निर्बाध रूपले गर्न सक्ने गरी भयरहित वातावरण सिर्जना गर्न र मानव अधिकारका मूल्यमान्यताको ख्याल गरी प्रदर्शकारीहरुमाथि संयमित व्यवहार गर्न आयोग सरकारलाई आग्रह गरिएको छ । 

यसैगरी, आफ्ना मागहरू राख्दा विधिसंगत, शान्तिपूर्ण र मर्यादित ढङ्गले राख्न, आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार प्रभावित हुने गतिविधि नगर्न तथा विरोध प्रदर्शनलाई हिंसात्मक नबनाउन आयोगले प्रदर्शनकारीहरूलाई अनुरोध गरेको विज्ञप्तिमा उल्लेख छ । 

 साथै, आयोगले राजनीतिक दलहरुले पनि प्रदर्शनलाई हिंसारहित तथा शान्तिपूर्ण बनाउन तथा वार्ता र संवादकै माध्यमबाट समाधान खोज्नका लागि सार्थक भूमिका निर्वाह गर्न अनुरोध गरेको छ । 

आइतबार विराटनगरमा भएको भएको विरोध प्रदर्शनका क्रममा भएका घटनाहरूको अनुगमनपछि आयोगले यस्तो बताएको हो । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मी बिच झडप हुँदा दुवैतर्फ केही व्यक्ति घाइते भएका छन् । घाइतेहरूमध्ये १२ जनाको विराटनगरस्थित न्युरो अस्पतालमा, २४ जनाको कोशी अस्पतालमा  र एक जनाको विराट नर्सिङ होममा उपचार भइरहेको छ । 

यस्तै झडपका क्रममा १६ जना सशस्त्र प्रहरी र ३७ जना नेपाल प्रहरी घाइते भएका छन् ।  प्रहरीले स्थिति नियन्त्रणमा लिन माइकिङ, पानीको फोहरा तथा ९१ राउन्ड अश्रुग्याँस प्रयोग गरेको पाइएको आयोगको भनाइ छ ।  प्रदर्शनकारीतर्फ २० जना घाइते भएको प्रदर्शनकारीले बताएका छन् । यसैगरी प्रदर्शनकारीहरुले कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा ढुंगा, इँटा प्रहार गर्दा मन्त्रालयका झ्यालका सिसा फुट्नुका साथै कर्मचारी बस्ने कुर्सीहरुमा समेत शिसाका टुक्राहरु पुगेको र स्वास्थ्य मन्त्रालयमा राखिएको एउटा गाडीको सिसा समेत फुटाइएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप