बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

श्रोत सुनिश्चित नहुँदा आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि चुनौतीपूर्ण : चेम्बर

मङ्गलबार, १६ जेठ २०८०, १५ : ४५
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष  २०८०/८१ का लागि सरकारले ल्याएको १७ खर्व ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटको श्रोत सुनिश्चित गर्ने कार्य चुनौतीपूर्ण रहेको चेम्बरको भनाई छ । 

वर्तमान राजश्व सङ्कलनको लक्ष्य हेर्दा आगामी वर्षका लागि १२ खर्व ४८ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य चुनौतीपूर्ण रहेको चेम्बरले जनाएको हो । ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य पनि निकै महत्त्वाकाङ्क्षी भएको चेम्बरको ठहर छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘चालु आर्थिक वर्षमा समग्रमा २ दशमलव १६ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने सन्दर्भमा आगामी आर्थिक वर्षका लागि ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य निकै  महत्त्वाकाङ्क्षी रहेको देखिन्छ ।’

चालु आर्थिक वर्षमा १७ खर्व ९३ अर्ब रुपैयाँको बजेट ल्याए पनि खर्च गर्न नसकेर संशोधन मार्फत १५ खर्व ४ अर्ब रुपैयाँमा झारिएको भन्दै चेम्बरले बजेट यथार्थमा आधारित हुन नसकेको बताएको हो । 

ठुलो आकारको बजेट घोषणा गर्ने तर खर्च गर्नका लागि संरचनागत सुधार हुन नसक्दा र श्रोत सुनिश्चित हुन नसक्दा आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न कठिनाइ हुने चेम्बरले जनाएको छ ।

शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई लयमा फर्काउन बजेटले पर्याप्त मात्रामा सम्बोधन गर्न नसकेको समेत चेम्बरले जनाएको छ । चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ,  ‘वर्तमान परिस्थितिमा २ खर्व ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्यले वित्तीय बजारमा तरलता संकट उत्पन्न हुने सम्भावना देखिन्छ ।’ 

बजेटमा सरकारी खर्च कटौती एवं मितव्ययिताको घोषणा गरिनु भने  स्वागतयोग्य रहेको चेम्बरले जनाएको छ । वि सं २०८० साल साउन १ गतेदेखि आयात हुने मालबस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्रै बजार पठाउने व्यवस्थाले सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गर्ने चेम्बरको विश्वास छ । 

यस्तै वातावरणीय प्रभाव मूल्याङकन सम्बन्धी सम्पूर्ण पक्रिया ३० दिनभित्र गर्ने व्यवस्था स्वागतयोग्य  भएको चेम्बरको ठहर छ । कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको भन्दै चेम्बरले औषधिजन्य प्रयोजनको लागि गाँजा खेतीको सम्भावनाको अध्ययन एवं कार्यान्वयन गरिनु सकारात्मक रहेको टिप्पणी गरेको छ । 

सरकारले लामो समयदेखि बन्द रहेका जग्गाको कित्ताकाट फुकुवा गर्ने  तथा स्थानीय निकायबाट अनुमति प्राप्त ब्रोकर मार्फत घर जग्गा बेचबिखन गरिने व्यवस्थाको गरिनुलाई पनि चेम्बरले सकारात्मक मानेको छ । १ सय रुपैयाँमा नै अनलाइन मार्फत कम्पनी दर्ता तथा खारेज एवं पुँजी वृद्धि गर्दा दस्तुर नलाग्ने व्यवस्था सकारात्मक रहेको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले सन २०२३ देखि २०३३ सम्मलाई पर्यटन दशक घोषणा एवं आगामी वर्ष लगानी सम्मेलन गर्ने कार्यक्रमले लगानीमैत्री वातावरण सिर्जना गर्ने चेम्बरले अपेक्षा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप