मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय
पर्यटक

पाँच महिनामा ४ लाख पर्यटक भित्रिए, बाँकी ७ महिनामा ६ लाख आउन कति सम्भव ?

बिहीबार, १८ जेठ २०८०, २० : २७
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्ययसहितको बजेट सार्वजनिक गरेको सरकारले सन् २०२३ देखि सन् २०३३ लाई भ्रमण दशक घोषणा गर्दै सुरुवाती वर्षमै १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको हो ।

सन् २०२३ को पाँच महिनामै ४ लाखभन्दा बढी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ को मे महिना सम्ममा कुल ४ लाख ४ हजार २३१ जना विदेशी पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् ।

गत अप्रिलसम्ममा ३ लाख २६ हजार ५२८ जना भित्रिएकामा मे महिनामा मात्र ७७ हजार ७०३ जना पर्यटक थपिएका हुन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनाए अनुसार मे महिनामा भारतबाट सबैभन्दा बढी ३६ हजार ५७५ पर्यटक भित्रिएका छन् भने अमेरिकाबाट ८ हजार ५४५, चीनबाट ४ हजार ६६७, बेलायतबाट २ हजार ९२७ जना, अस्ट्रेलियाबाट २ हजार १८४ जना भित्रिएका छन् ।

यसैगरी दक्षिण एसियाली मुलुक बंगलादेशबाट २ हजार १६४ जना, मलेसियाबाट १ हजार ३२१ जना, जर्मनीबाट १ हजार १६५ जना, फ्रान्सबाट १ हजार ९७ जना र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सन् २०१९ अर्थात् कोभिड–१९ पूर्वको तुलनामा हाल ९९.२० प्रतिशत पर्यटक आगमन रिकभर भएको पर्यटन बोर्डका प्रवक्ता मनिराम लामिछाने बताउँछन् ।

सन् २०१९ मा कुल ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सोही वर्षको मे महिनामा मात्र ७८ हजार ३२९ जना पर्यटक भित्रिएका थिए ।

त्यसयता सन् २०२०, २०२१ र २०२२ मा भने कोभिड–१९ को तीव्र प्रभावकाबीच क्रमशः २ लाख ३० हजार ८५ जना, १ लाख ४९ हजार ८३३ जना र ६ लाख १४ हजार १४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

लक्ष्य भेट्न ६ लाख बाँकी

सन् २०२३ का लागि सरकारले राखेको लक्ष्य अनुसार बाँकी ७ महिनामा ६ लाख पर्यटक भित्र्याउनुपर्ने छ । वर्षको जनवरीदेखि मे सम्ममा ४ लाख ४ हजार पर्यटक भित्रिसकेका छन् ।

प्रवक्ता लामिछाने बाँकी अवधिमा ६ लाख पर्यटक आरामले भित्रिने ठोकुवा गर्छन् । ‘अहिले हामी अफसिजनमा छौं, यसैअवधिमा राम्रो पर्यटक आगमन भइरहेको छ भने बाँकी सिजनमा पर्यटक नआउने भन्ने नै हुँदैन,’ उनले भने, ‘सरकारले राखेको लक्ष्य भन्दा पनि बढी पर्यटक यस वर्ष भित्रिने हामीले अनुमान गरेका छौं ।’

लामिछानेका अनुसार खासगरी वर्षको मुख्य सिजन अक्टोबर, नोबेम्बर र डिसेम्बर तीन महिनामै साढे ४ लाखभन्दा बढी पर्यटक भित्रिने अनुमान गरिएको छ । ‘बीचका ४ महिनामा सरदर ६० हजारका दरले पर्यटक भित्रिए भने पनि २ लाखभन्दा बढी पर्यटक नेपाल भित्रिनेछन् । यसले सरकारी लक्ष्य भेट्न गाह्रो छैन,’ लामिछानेले रातोपाटीसँग भने ।  

उसो त पछिल्लो महिनाहरुमा तीव्र गतिमा पर्यटक आगमन बढिरहेकाले पनि १० लाखको लक्ष्य सजिलै भेट्ने देखिन्छ । नेपालको मुख्य १० पर्यटन बजार लक्षित कार्यक्रमले पनि आगमन बढेको लामिछानेको भनाइ छ ।

यसअघि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा भएकोमा लगत्तै कोभिड महामारीका कारण सो अभियान प्रभावित हुन पुगेको थियो । २० लाखको लक्ष्य राखेर घोषणा गरिएको वर्ष मुस्किलले २ लाख मात्र पर्यटक भित्रिएका थिए ।

सन् २०१९ को अन्त्यबाटै कोभिडको प्रभाव सुरु भएकोमा सन् २०२०, सन् २०२१ र सन् २०२२ तीन वर्ष नेपालसहित विश्व पर्यटन बजारले नै दुःख भोग्नु प¥यो । तर, यतिबेला विश्व अर्थतन्त्र चलायमान भएसँगै पर्यटन क्षेत्रसमेत सक्रिय हुन पुगेको छ ।

विगत ५ वर्ष : कुन वर्षमा कति पर्यटक भित्रिए ?

सन् २०१९– ११ लाख ९७ हजार १९१

सन् २०२०– २ लाख ३० हजार ८५

सन् २०२१– १ लाख ४९ हजार ८३३

सन् २०२२– ६ लाख १४ हजार १४८

सन् २०२३– ४ लाख ४ हजार २३१ (जनवरी–मे सम्म)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप