बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय

माओवादी मन्त्रीहरू कहिलेदेखि कार्यतालिका बमोजिम पार्टी कार्यालय जान्छन् ?

शुक्रबार, १९ जेठ २०८०, १२ : ४५
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूले सामूहिक रूपमा जेठ १ गतेदेखि १६ गतेसम्म पार्टी कार्यालय नजाने निर्णय गरे । आगामी आर्थिक वर्षको बजेट निर्माण गर्नुपर्ने भएकाले १५ दिनका लागि पार्टी कार्यालय जान बन्द गरिएको थियो । 

बजेट आए लगत्तै प्रधानमन्त्री प्रचण्ड बुधबारदेखि चार दिने भारत भ्रमणमा निस्किए । अब प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि पार्टी बैठक बसेर पार्टी कार्यालयमा हुने भेटवार्ताबारे निर्णय हुने पार्टी सचिव डोरप्रसाद उपाध्याय बताउँछन् ।

‘अहिले प्रधानमन्त्रीलगायत मन्त्रीहरू भारत भ्रमणमा हुनुहुन्छ । भारत भ्रमणबाट प्रधानमन्त्री ज्यू फर्किएपछि पार्टी बैठकले निर्णय गरेर कार्यतालिका बमोजिम भेटघाट तय गर्ने छौँ ।’ उपाध्यायले भने । पहिलेकै कार्यतालिका बमोजिम प्रधानमन्त्रीसहित मन्त्रीहरूले पार्टी कार्यालयमा भेट्ने व्यवस्था हुने उपाध्यायले बताए । 

पार्टी कार्यालयमा भेट्दा धेरै प्रभावकारी भएकाले त्यसलाई निरन्तरता दिनेमा आशङ्का नगर्न उनले आग्रह गरे । ‘प्रधानमन्त्रीसहित मन्त्रीहरू पार्टी कार्यालयमा आउँदा धेरै राम्रो भएको छ । उहाँहरूलाई सजिलै भेट्न र आफ्ना कुरा राख्न मिलेको छ’ उनले भने, ‘यो कार्यातालिकालाई बरु अझ व्यवस्थित बनाउँछौँ, रोक्ने भन्ने हुँदैन ।’

पार्टीले आइतबार ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत, सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, मंगलबार सल्लाहकार र विज्ञ उपस्थित हुने निर्णय गरेको छ ।  यस्तै बुधबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी, बिहीबार उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ, शुक्रबार प्रधानमन्त्री प्रचण्ड र शनिवार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा उपस्थित हुने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप