शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
लघुकथा

सकम्बरी

शनिबार, २० जेठ २०८०, ०७ : ००
शनिबार, २० जेठ २०८०

‘ए राधा, छिटो गर न । ढिला हुन्छ के ।’ कृष्ण मुरारी पाखण्डी हतारमा थिए । 

‘किन ? के हतार भयो र ?’ उनले पुलुक्क हेरिन् । 

‘हिजो भनेको बिर्सियो ? मेरो उपन्यास सकम्बरीले सम्मान पाउँदैछ ।’ उनले सम्झाए ।

तयारीपछि दुवै हिँडे । कार्यक्रमस्थल प्रवेश गरे ।

कार्यक्रमस्थल झकिझकाउ थियो । मुर्धन्य साहित्यकारहरूको उपस्थिति भइसकेको थियो । 

औपचारिक कार्यक्रम सुरु भयो, भाषण भीषण भए । प्रमुख अतिथिबाट निधारमा रातो टीका, काँधमा दोसल्ला र हातमा सम्मान पत्र पाउँदा गर्वानुभूति महसुस गरे, लेखक कृष्ण मुरारी पाखण्डीले ।

कार्यक्रम समापन भयो । दम्पती बिदा भएर निस्के । 

राधाले खुसुक्कै सोधिन्, ‘सम्मानमा पैसा सैसा त केही छैन त ?’

‘धन पैसाको भन्दा सम्मान पत्रको महत्त्व बेग्लै हुन्छ । पैसा भनेको त उपियाँ हो । फट्किरहन्छ । आज छ, भोलि छैन । यो सधैँ रहिरहन्छ ।’ उनले बेलिविस्तार लगाए ।

फर्किदै गर्दा अचानक उनीहरु सवार बस दुर्घटनामा पर्यो । 

उनको खुट्टा र ढाडमा गहिरो चोट लाग्यो । हतार हतार अस्पताल पुर्याइयो । 

तुरुन्त अप्रेसन गर्नुपर्ने भएकोले एक लाख डिपोजिट गर्न भनियो ।

राधाले सबैसँग सहयोगको हात पसारिन् । तर सबै व्यर्थै भयो । 

उनले नजिक आएकी श्रीमतीलाई पुलुक्क हेर्दै भने, ‘केही उपाय लाग्यो त राधा ?’

‘अँह, कतै जोडजाम गर्न सकिएन । अब हजुरकै सञ्चयकोष निकाल्नु पर्यो ।’ उनले उपाय सुझाइन् ।

उनी द्रविभूत भए । आँसु झारे । केही बोलेनन् । 

‘किन चुप लाग्नु भयो ? सञ्चयकोष निकाल्नु पर्यो भन्या ।’

जिब्रो लर्बराउँदै लेखक महोदयले निराश भावमा भने, ‘त्यही सञ्चयकोष निकालेर त सकम्बरी छापेको ।’

                                             कोहलपुर, बाँके

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

छविलाल खड्का
छविलाल खड्का
लेखकबाट थप