शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
ब्लग

यो सहर त्यो गाउँ

शनिबार, २० जेठ २०८०, १७ : ०५
शनिबार, २० जेठ २०८०

मलाई लाग्थ्यो सहर भनेको स्वर्ग हो । यहाँ आएपछि सुखैसुख हुन्छ । यहाँ नपाउने र नहुने कुरा केही पनि छैन । गाउँ हुँदा सहरमा बस्ने मानिस कति आनन्दमा रमाउँदा होलान है ! कति सुख सुविधा होला । यहाँ गाउँमा त बाह्रै मासा दुःख मात्र छ । काम, काम, काम अनि दुःखैदुःख छ जस्तो लाग्ने गथ्र्यो । सहर छिरेको एक दशक बितेपछि मलाई यो सहरले गुम्स्याएको छ, उकुसमुकुस बनाएको छ । बेलाबेलामा घोत्लिन्छु अनि सोच्छु कि त्यो स्वर्ग छोडेर म किन सहरिया हुन खोजेँ ! अन्तर्मनमा आफैँले आफैँलाई प्रश्न सोध्छु अनि अनुत्तरित हुँदै मौन हुन्छु ।

गाउँको दैनिकी शारीरिक कष्ट पक्कै थियो तर मानसिक रूपमा आनन्दित नै थियो ।

बिहानको झुल्के घामसँगै ओछ्यानबाट उठ्यो अनि आँखा मिच्दै गाई गोठमा पुग्यो । हातमा बाल्टिन बोकेर गाई दुहुनु मेरो दैनिकी थियो । मोबाइलमा भजन बजायो अनि भजनका तालमा कहिले एउटा त कहिलेकाहीँ त तीन वटासम्म गाई दुहुनु कुनै नौलो थिएन । गाई दुहेर सकेपछि खोलेपानी खुवायो । गोबर सोर्यो अनि हातमा ब्रस मन्जन लिएर एउटा बाल्टिन र जग बोकेर कुवामा गयो । नुहाएर नित्य कर्म सक्ने गर्थें । जाडो होस् या गर्मी, म प्रायः नुहाउने नै गर्थें । घरमा आयो पूजा बन्दना गर्यो । भगवान्लाई धुप बाल्यो, चिया पियो । त्यसपछि दैनिकी सुरु हुन्थ्यो ।

गाउँमा बसेपछि किसानी कर्म नगरी त सुखै थिएन । सानो खेती भएकाले खेती किसानी गर्नैका लागि अरू जग्गा पनि भाडामा लिएका थियौँ । जसमा मौसम र ऋतु अनुसारको अन्नबाली लगाउने गरिन्थ्यो । मकै, आलु, गोलभेँडा, मुला, काउली, बन्दा, धानलगायत खेती गरिन्थ्यो । हरेक दिन बिहान बारीमा गयो, झार उखेल्यो, मल हाल्यो, पानी लगायो  । यस्तै यस्तैमा दैनिकी चल्थ्यो ।

बिहान १०–११ बजेभित्र खाना खायो । त्यसपछि फेरि खेतीमै लाग्यो । अहिले मलाई स्मरण हुन्छ, त्यो गर्मीमा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म खेतीमै रमाउनु एक प्रकारको बाध्यता नै थियो भनौँ । विषादी यति छर्किन्थ्यौँ कि शरीर पूरै विषादीमय हुन्थ्यो । कहिले मेलापात गर्यो त कहिले घरमै आराम गर्यो । मुख्य उद्देश्य भनेको राम्रो उत्पादन गरेर २–४ रुपैयाँ आम्दानी गर्नु नै थियो ।

मुख्य समस्या के लाग्थ्यो भने बजारमा उत्पादन बिक्री हुने हो कि हैन ! बजार भाउ कति हुने होला ! कति नाफा होला ! यस्तै मनोभाव बोलेर महिना कट्ने गथ्र्यौं । उत्पादन बेच्ने बेला भएपछि ७०–७५ किलोसम्म डोकामा हाल्यो अनि नाम्लो लगाएर बोकेर लगभग तीन किलोमिटर अर्थात् ४०–४५ मिनेट तल बजार झर्यो । बजारमा व्यापारीको एकलौटी राज थियो । बजारमा कति उत्पादन आउँछ, त्यो आधारमा व्यापारी एक चुच्चो भएर तरकारीको मूल्य राख्ने गर्दथे । यस्ता पनि कैयौँ दिन आए कि तरकारी नबिकेर व्यापारीलाई हात जोडेर लगेर बेचेर आएको पैसा ल्याइदिनुस् न लौन भन्दै बिलौना नै गर्नुपर्ने । भारी बोकेर ल्याउँदा ढाडमा जुरो उठेको हुन्थ्यो । पिँडुला गाँठा पर्थे, थाप्लो गाडिएको हुन्थ्यो । पसिनाले शरीर भिजेको हुन्थ्यो हेर्दै भिजेको मुसा जस्तो ।

आज त राम्रो बजार मूल्य आउला ! यति हजार त हात पर्ला अनि त्यो पैसा यहाँ यहाँ तिरोतारो गराँैला । सपना तुहिन केही समय नलाग्ने, व्यापारीको एकछत्र राज, त्यसमाथि प्रायः भारतीय व्यापारी हुन्थे । काठमाडौँको कालिमाटी, बल्खु, टुकुचा सबै भारतीय र काठमाडौँ बाहिरका व्यापारीको राज चल्थ्यो सायद !

बिहान घाम झुल्केदेखि उत्पादन बजार लाने चटारो, खानपिन सबै छोडेर साँझ भारी बोकेर बजार आयो अनि तरकारी बिक्री नभएर खोलामा फालेर रुन्चे मुख लगाउँदै थुइक्क भाग्य भन्दै अँधेरो साँझमा घरतिर लाग्यो ।

अहिले सम्झिँदा पनि मनै अमिलो हुन्छ । सपना छिनको छिनमै तुहिने कस्तो किसानको कर्म है ।

घरमा गयो । घरमा बाआमाले कतिमा बेचिस् काउली ? कतिमा बेचिस् गोलभेँडा ? भनेर सोध्दा मुटु नै खाने । अनि निन्याउरो मुख लगाएर आज बजारमा मूल्य नै थिएन ! बेच्नै सकिएन ! भोलि बेच्न उसै राखेर आए । व्यापारीले हेर्दै नहेर्ने, हात जोडेर बाबा विधाता मेरो तरकारी लगिदेऊ न भनेर खुट्टै ढोग्नुपर्ने ! अनि लाग्थ्यो किन बनेँ किसान, किन गइनँ म खाडीमा जस्तो लाग्थ्यो ।

अहिले सहरमा बँधुवा गाई जस्तो भइयो । आफैँले आफ्नै ज्यान बोकेर हिँड्न नसक्ने, ऊ बेला ६०–७० किलोको मलका बोरा, आलुका बोरा बोकेर घुँडाले नाकको डाँडी भाँच्ला जस्तो उकालो हिँड्दै लगभग ४ घण्टामाथि पाखामा पुग्यो । गोरुले जोतिए झैँ दिनभर काम गर्यो । साँझ आँखाले भुइँ देखिउन्जेल कोदाली चलायो अनि अन्धकार भएपछि बत्ती बाल्दै घरमा छिर्यो । खाना पनि कम्ता रुच्ने हैन । आफैँले फलाएको तरकारी, आफैँले दुहेको गाईको दुध र भात खाएर अटसमस हुँदै ओछ्यानमा पुग्न पाको हुँदैन निन्द्रादेवीको काखमा पुगिन्थ्यो।

यति गाह्रो हुन्थ्यो कि दिनभरको थकानले लाग्थ्यो कि भोलि बिहान नै नहोस् !

मैले भनेर न रात रोकिन्थ्यो न त दिन नै । ढाड दुख्ने, खुट्टा, पैताला दुख्ने हुन्थ्यो तर दैनिकी नै कस्तो थियो भने ती कुरा सामान्य नै लाग्ने गथ्र्यो । हातमा उठेका ठेला कुनबेला फुट्थे, बिझेको काँडा कुन बेला खिल पथ्र्यो पत्तै हुन्न थियो । छिमेकिको पर्म गयो दिनभरी हासीमजाक गर्दै काम गर्दाको त्यो खुसी अहिले कुर्सीमा बसेर ल्यापटप चलाउँदा कतै पाइएन । गाउँको दुःख देखेर सहर पसेको अहिले गाउँ नै फर्किन पाए बरु सिस्नु खान्थेँ, ढिँडो खान्थेँ, खोले घोटेर खान्थँे कम्तीमा मानसिम तनाव त हुन्थेन कि जस्तो लाग्छ ।

अचेल सहरमा मान्छे नै मान्छेको भीडमा छु तै पनि एक्लो नै छु जस्तो अनुभव हुन्छ । कोही कसैलाई कसैको केही मतलब छैन । कोही हिँड्दा हिँड्दै लड्यो भने उठाइदिने कोही हुन्नन किनकि यहाँ मान्छे अथाह छन् तर आफन्त भने पाउनै गाह्रो छ ।

गाउँमा यसो ज्वरो, रुघाखोकी मात्र लाग्यो भने मात्र पनि टोल छिमेकी हालखबर सोध्न आइहाल्थे । तर सहरमा भेन्टिलेटरमा राख्यो भने पनि पल्लो कोठाका मानिसलाई थाहा नहुने, अझै भनौ मतलब पनि नहुने । अहो बढो गजबको सहर रहेछ यो । सबै भागदौडमा छन् कसैलाई कसैको मतलब छैन । कसैलाई कसैको बारेमा सोच्ने फुर्सद छैन भनौँ या सोचेर फाइदा छैन, त्यो मैले आजसम्म बुझ्नै सकिरहेको छैन ।

अहिले सहरमा बिहान उठ्न मन लाग्दैन । बिहान ७–८ बजे उठ्यो अनि चिया पियो अनि कपडा लगायो, ल्यापटपको झोला बोक्यो अनि अफिस लाग्यो । अफिसमा उस्तै काम, बाइक चढ्यो, घरी वल्लो चोक त घरी पल्लो चोक दौडियो । दिउँसोको १२–१ बजे खाना खायो । अनि फेरि फलानोलाई भेट्ने, तिलानोलाई भेट्न भन्यो रात अबेरसम्म मिटिङ र सिटिङ गर्यो । साँझ ८–९ बजे घर आयो खाना बनायो अनि खाना खाएर हातमा मोबाइल लिएर गफिन थाल्यो । च्याट, स्याट गर्यो अनि अबेर राति १२–१ बजेसम्म निन्द्रा लाग्दैन । यता छटपटियो उता छटपटियो, मरे निन्द्रा नलाग्ने । उता गाउँमा छँदा ओछ्यानमा पुग्न पाइँदैन थियो भुसुक्कै भइन्थ्यो ।

शारीरिक दुःख त थियो तर मानसिक कुनै दुःख थिएन । खाना यसरी पच्थ्यो कि मानौँ घट्टमा हालेको मकै जस्तै !

खुट्टामा जुत्ता हुँदैन थियो । हातमा पन्जा हुँदैन थियो, शरीरबाट पसिनाको गन्ध छुट्दैन थियो । छरछिमेकमा साह्रोगाह्रो पर्दा सबैको एकै हात हुन्थ्यो । मर्दापर्दा सबै सहयोग गर्न आउने चलन अझै पनि जीवितै छ गाउँमा । तर सहरमा मरिहाल्यो भने पनि कुकुर मरे जस्तो चार जना मलामी पाउन पनि गाह्रो । सबै व्यस्त, सबै जागिरे । कसैलाई मर्नै पर्दैन जस्तो लाग्ने, बढो गज्जबको यो सहर !

गाउँमा छिमेकमा मोही पारे भने पनि ल्याइदिन्छन् । यसो सागसब्जी साटपाट पनि हुन्छ । खोला किनारामा गयो भने खोले झार, निउरो, जङ्गलमा कुरिलो, तरुल, गिट्ठा खोजेर पनि गुजारा चल्ने, यता सहरमा त साग किलोमा बिक्री हुन थाल्यो । पानी पिउन पनि गोजीमा दाम भए पायो, नत्र प्यासै लागेर मरिएला जस्तो । गाउँमा छिमेकीका घरमा साँझ बिहान गयो भने चिया पिउने कि दुध पिउने त्योसम्म मायाले पाइन्छ । अहिले सहरमा अरू त के कुरा पानी पनि नकिनी पिउन पाइन्न । कोही कसैलाई कसैको मतलब हुन्न । बिहान उठ्यो पैसा, पैसा अनि पैसा भन्दै रटान लगायो । बल्ल एक दिन शनिबार आउँछ, त्यो पनि किन आयो जस्तो हुन्छ । किनभने त्यस दिन पनि पैसा नै कमाउन दौडिनु नै छ ।

गाउँमा राजा जस्तो जिन्दगी थियो । मन लागे काम गरौँ, नलागे आज आराम गरौँ भन्यो बस्यो । यहाँ त एक दिन काम नगरे हात खाली त मुख खाली उखान जस्तो ।

गाउँमा आफैँले फलाएको अन्नबाली, आफैँले उब्जाएको सागपात, आफैँले पालेको गाईभँैसीको आफैँले दोहेको दुधमा आफ्नै खेतको धानको भातले मत्याएर सहरमा सुख खोज्न दौडिएको मलाई यहाँ भन्दा सुख के दिऊन भगवानले !

पेट बढेर घैँटो जस्तो भएको छ । चार पाइला हिँड्यो भने स्वाँ–स्वाँ र स्याँस्याँ गर्न पर्छ । धुवाँ र धुलो नाकभरी भरिएर श्वास फेर्नै नसकिने, धुलो र ग्यासले आँखा पोलेर हैरान हुइने, हातखुट्टा गलेर आफैँले मसाज गरेर सज्याउन पर्ने हुन्छ ।

मैले कल्पना गरेको स्वर्ग यति पीडादायी रैछ, अनि मैले भोगेको गाउँ त्यति आनन्ददायी रहेछ भन्ने कुरा सहरमा डेरा सर्दा सर्दा थाकेपछि मलाई ज्ञान भयो ।

अहिले म त्यो पाखोबारी, त्यो गाउँबँेसी, त्यो खेतीपाती र त्यो हातका ठेला सम्झिन्छु अनि यो उराँठ र दिक्क लाग्दो सहरसँग गाउँलाई दाँजेर हेर्छु । कल्पिन्छु हैट गाउँ त स्वर्ग नै रहेछ । कास म गाउँ फर्किहाल्न पाए !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजानन्द माण्डव्य
राजानन्द माण्डव्य
लेखकबाट थप