शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
शरणार्थी प्रकरण

इजलासमा सरकारी वकिल– ‘चितवनबाट गिरोहका सदस्यले सरकारी गाडीमा दुई बोरा पैसा ल्याएछन्’

न्यायाधीशले सोधे–‘त्यो पैसा कहाँ गयो ?’
आइतबार, २१ जेठ २०८०, २३ : ४४
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । शरणार्थी प्रकरणमा आइतबार दिनभर सरकारी वकिलले जाहेरवालाको तर्फबाट थुनछेक बहस गरेका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिललाई बहसका लागी मङ्गलवार सम्मको समय दिएका छन् ।

आइतबार काठमाडौँ जिल्ला अदालतका जिल्ला  न्यायाधिवक्ता महेश खत्री र अर्का जिल्ला महान्यायाधिवक्ता जनक घिमिरेले बहस गरे । जिल्ला महान्यायाधिवक्ता महेश खत्रीले गृह मन्त्रालयको स्वामित्वमा भएको बि.ए.बी–१४०५ नम्बरको निशान पट्रोल जिपमा गिरोहले चितवनबाट दुई बोरा पैसा ल्याएको इजलासमा सुनाए । ‘सन्देश शर्माले बायोमेट्री गराउन बोलाएर पीडितहरूसँग उठाएर दुई बोरा पैसा ल्याएको देखिन्छ’ खत्रीले इजलासमा भने–‘श्रीमान्, प्रहरीको बर्दिबाल चालकले सरकारी गाडीमा ल्याएर दुई बोरा पैसा ललितपुरको महालक्ष्मी स्थानमा लगेर झारेको भेटियो ।’

खत्रीलाई न्यायाधीशले सोधे–‘त्यहाँबाट त्यो पैसा कहाँ गयो ?’ जिल्ला महान्यायाधिवक्ता खत्रीले भने–‘त्यसपछि सो रकम सङ्गठित समूहमा गइहाल्यो नि, श्रीमान् ।’

इम्बोस्ड नम्बर बि.ए.बी–१४०५ नम्बरको सो जिप गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको नाममा छ । सो गाडी नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगीधन्दा चलाउने गिरोहका सदस्य सन्देश शर्मालाई दिएको अनुसन्धानबाट देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

शरणार्थीको नामा ठग्ने समूहका मुख्य योजनाकार सानु भण्डारीले बैङ्क खातामा ३४ पटक करोडौं रुपैयाँ राख्ने र झिक्ने गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला महान्यायाधिवक्ता खत्रीले बताए । बहसमा खत्रीले भने– ‘सो रकम जग्गा कारोबारको हैन, पीडितहरूका पैसा हुन् श्रीमान् ।’

‘चौँरी गोठालाको पैसा पनि खाए’

पूर्व सभासद् आङटावा शेर्पाले दोलखाका चौँरी चराउनेहरुको पैसा शरणार्थी कोटामा अमेरिका पठाउने नाममा खाएको सरकारी वकिलले जिकिर गरेका छन् । रामेछापबाट २०७० मा चुनाव जितेका शेर्पाविरुद्ध दोलखाका ६ जनाले जाहेरी दिएका छन् । ‘दोलखाका चौँरी चराउनेहरूलाई चौँरी बेच्न लगाएर पैसा उठाएको देखिन्छ’ जिल्ला महान्यायाधिवक्ता खत्रीले भने–‘आङटावाले ५४ लाख हिनामिना गरेको जाहेरी आएको छ ।’

पूर्व गृहमन्त्री बालकृष्ण खाणको नाम बयानमा नलिन आङटावाले सानु भण्डारीलाई हिरासतमा भेटेर उनका दाई राजु भण्डारीसँग ३० लाखको कागज गरेका छन् । शेर्पा र भण्डारीबीच भएको कागज विधि विज्ञान प्रयोगशालामा जाँच गर्दा पुष्टि भएको खत्रीले जिकिर गरेका छन् ।

शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले भारतमा लगेर मोबाइल फालेको सरकारी वकिलले दाबी गरेका छन् । त्यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजालले सानु भण्डारीको खाताबाट ५ लाख रुपैयाँ निकालेको अनुसन्धानबाट पुष्टि भएको जिकिर गरिएको छ ।

नेपालीलाई शरणार्थी बनाएर अमेरिका पठाउने ‘प्रोजेक्ट’ लाई सहयोग नगरेमा शरणार्थी नेता टेकनाथ रिजालको सुविधा खोस्नेबारे तत्कालीन गृह–सचिव टेकनारायण पाण्डे र केशव दुलालको बीचमा कुराकानी भएको भेटिएको छ । रिजाललाई सरकारले मासिक १ लाख नगद, गाडी र पिएसओ दिँदै आएको थियो ।

‘तत्कालीन गृह–सचिव पाण्डे र गिरोहका सदस्य केशव दुलालको बिचमा टेकनाथ रिजालको सुविधा खोस्ने कुरा भएको अडियो रेकर्ड प्रमाणको रूपमा पेश गरेका छौँ’ जिल्ला महान्यायाधिवक्ता खत्रीले बहसमा भने–‘शरणार्थीको नाममा योजनाबद्ध र सङ्गठित रूपमा ठग्ने काम भएको छ ।’

आत्मदाहको चेतावनी

शरणार्थी प्रकरणमा सुरुमा पक्राउ परेका सानु भण्डारीले आफू उच्च पदस्थहरूबाट पीडित भएको बताउँदै आफ्नो भनाई जस्ताको तस्तै नराखे ‘आत्मदाह’ को चेतावनी दिएको थाहा भएको छ ।

इजलासमा बहस गर्दै जिल्ला महान्यायाधिवक्ता जनक घिमिरेले भने– ‘२२ औँ दिनमा उनले गरेको बयान रेकर्ड गरेर प्रमाण लगाउने गरी बुझाएका छौँ ।’

कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएर आएपछि गिरोहले अनुसूचीमा नाम थपेर चलखेल गरेको घिमिरेले बताए । कार्यदलका सदस्य गणेशबहादुर केसीलाई शरणार्थीबारे कुनै विषय थाहा नभए पनि सानु भण्डारीको योजनामा उनलाई कार्यदलमा राखेको घिमिरेले जिकिर गरेका छन् । डा.इन्द्रजित राईलाई त्रिपुरेश्वरस्थित आँगन स्वीट्स र हिमालय होटेलमा नगद बुझाएको कुरा सरकारी वकिलले ‘अडियो रेकर्ड’ अदालतमा अभियोग पत्रको साथमा पेश गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप