बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा विनोद चौधरीले ‘जब पर्‍यो राती, तब बुढी ताती’ भनेपछि...

बिहीबार, २५ जेठ २०८०, १३ : ४५
बिहीबार, २५ जेठ २०८०

काठमार्डौँ । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्ने क्रममा आपत्तिजनक शब्द बोलेको भन्दै उनको भ्वाइस संसदको रेकर्डबाट हटाइएको छ । बिहीवार बजेटमाथिको छलफलमा बोल्ने क्रममा उनले नेपाली उखान ‘जब प¥यो राती तब बुढी ताती’ भन्ने शब्द प्रयोग गरेपछि एमाले सांसद दिपा शर्माले नियमापत्ति जनाइन् । सांसद चौधरीले लिखित रुपमा ल्याएको मन्तव्य पढिरहेका बेला महिला सांसदले एक्कासि नियमापत्ति जनाउँदै उठेपछि सांसद चौधरीले चकित परेर चस्मा फुकाल्दै महिला सांसदतिर हेरेका थिए । 

सांसद शर्माले प्रतिनिधिसभा नियमावलीको २१ को ‘घ’ मा संसदमा कसैलाई अपमान गर्न नपाइने लेखेको बताउँदै उखानलाई लिएर जहिले पनि नेपाली महिलामाथि आक्रमण गर्ने गरिएको बताइन् । उनले भनिन्– ‘यो कुरा कहिलेदेखि अन्त्य हुन्छ म सोध्न चाहन्छु । जहिलेपनि उखान टुक्का गर्दा महिलामाथि नै यो सदनमा बोलिनुपर्ने ? कहिलेदेखि नेपालको यो समाजलाई सुसंस्कृत, समान खालको बनाउने ? यो शब्द आपत्तिजनक छ । जब ‘पर्यो राती अनि बुढी ताती’ भन्ने उखान धेरै माननीयज्यूका मुखबाट सुनिरहेका छौँ । आजको दिनदेखि कुनैपनि माननीय सांसदहरुले विगतमा महिलामाथि बोलिने त्यस्ता शब्द नबोल्न आग्रह गर्दछु ।’

त्यसपछि सभामुख देवराज घिमिरेले सो उखान लैङ्गिक मैत्री नभएको भन्दै संसदको रेकर्डबाट हटाउन निर्देशन दिए ।  सांसद चौधरीले धान रोप्ने बेला भएपछि मात्र सरकार रासायनिक मल खोज्न हतारिने गरेको भन्दै सो सन्दर्भमा सरकारको काम ‘जब पर्यो राती तब बुढी ताती’ भन्ने उखान प्रयोग गरेका थिए । उनले त्यस्तो प्रवृतिले कहिले पनि किसानलाई खुसी राख्न नसकिने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप