मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
नेतृत्वमा निरन्तर

मधेसी दलका सदाबहार अध्यक्ष : उपेन्द्र २६ र महन्थ १६ वर्षदेखि नेतृत्वमा

जसपा र लोसपामा कहिले फेरिएला नेतृत्व ?
बिहीबार, २५ जेठ २०८०, १६ : ४१
बिहीबार, २५ जेठ २०८०

काठमाडौं । नेकपा एमालेमा ७० वर्षे उमेर हद हटाउने निर्णय भएसँगै सबै पार्टीमा उमेर हदको चर्चा सुरु भएको छ । तराई केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पनि उमेर हदको चर्चा सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव २६ वर्षदेखि पार्टीको (फोरम सामाजिक संस्थाको रुपमा गठन भएदेखि) अध्यक्षमा विराजमान छन् भने लोसपाका अध्यक्ष महन्थ ठाकुर १६ वर्षदेखि निरन्तर नेतृत्वमा छन् ।

यद्यपि जसपाले आफ्नो विधान संशोधन गरेर ७० वर्ष उमेर पूरा भएको व्यक्ति केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको पदाधिकारी वा सदस्यमा निर्वाचित हुन वा बस्न नपाउने व्यवस्था गर्न लागेको छ ।  

कांग्रेस, एमाले, राप्रपालगायत अन्य दलमा पटक पटक नेतृत्व फेरिएका छन् । जसपा र लोसपा गठन भएदेखि सो पार्टीमा नेतृत्व परिवर्तन भएको छैन । २०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा सामाजिक संस्थाको रुपमा मधेशी जनअधिकार फोरम गठन भएको थियो । पछि त्यही फोरमलाई २०६४ मा पार्टी बनाइएको हो ।

मधेशी जनअधिकार फोरम नेपाल पार्टीको रुपमा आएपछि २०६५ मा पहिलो महाधिवेशन भएको थियो । त्यस यता उपेन्द्र यादवले महाधिवेशनको सामना गरेका छैनन् । मधेशी जनअधिकार फोरमबाट संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुँदै जसपा नेपाल बने पनि हालसम्म न महाधिवेशन भएको छ, न नेतृत्व फेरिएको छ ।  

मधेशी जनअधिकार फोरम पार्टीको रुपमा गठन भएको १६ वर्ष भइसक्यो तर महाधिवेशन गराउन सकेको छैन । यो बीचमा विभिन्न दलसँग एकीकरण गरेर जसपा गठन भयो । पार्टी एकीकरणकै नाममा नेतृत्वले पार्टीको महाधिवेशन टार्दै आएको छ । जति पटक पार्टी एकीकरण भयो, एकता महाधिवेशन गर्ने भनियो तर पटकपटक मिति तय भए पनि तोकिएको मितिमा कहिल्यै महाधिवेशन भएन ।

जसपाका एक जना कार्यकारिणी सदस्यले भने, ‘उपेन्द्र यादवले आफूलाई सुरक्षित नदेखेसम्म महाधिवेशन हुँदैन, महाधिवेशन भयो भने उपेन्द्र यादवको विरुद्धमा उम्मेदवारी पर्छ र त्यसलाई थेग्न उहाँलाई गाह्रो हुन्छ । त्यही भएर आफ्नो अनुकुल नभएसम्म उहाँले महाधिवेशन गराउनु हुन्न ।’

अहिले फेरि नेकपा एकीकृत समाजवादी पार्टीलगायत विभिन्न दलसँग जसपाको एकताका लागि पहल भइरहेको छ । एकता भयो भने पुनः महाधिवेशन तोकिएको समयमा नहुने निश्चित छ ।

सिनियरलाई आउट

राजनीतिमा उपेन्द्र यादवभन्दा अशोक राई निकै सिनियर नेता हुन् । तर राई नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीसँग एकीकरण गर्दा उनलाई वरिष्ठ नेतामै थन्क्याएर राखियो । डा.बाबुराम भट्टराई पनि उपेन्द्र यादवभन्दा सिनियर नेता हुन् तर उनीसँग पनि एकीकरण गर्दा संघीय परिषद्को अध्यक्षमा सीमित राखियो । महन्थ ठाकुरभन्दा उपेन्द्र यादव जुनियर नेता हुन् तर पार्टी एकीकरण गर्दा उपेन्द्रले महन्थलाई अध्यक्ष स्वीकार गर्न सकेनन् । दुई अध्यक्ष प्रणालीमा पार्टी बनाए । पछि आफूमाथि खतरा देखेपछि महन्थ ठाकुरलाई पार्टीबाट अलग गरे ।

लोसपाका एक नेताले भने, ‘त्यतिबेला जसपामा दुई जना अध्यक्ष भए पनि उपेन्द्र यादवले एकलौटी रुपमा पार्टी चलाउन चाहेका थिए, त्यसमा महन्थ ठाकुरले ब्रेक लगाएपछि षड्यन्त्रपूर्वक पार्टीबाट निकाल्नुभयो ।’

त्यतिमात्र होइन, डा.बाबुराम भट्टराईले महन्थ ठाकुर गइसकेपछि त्यो ठाउँमा अर्को अध्यक्ष चयन गर्न पार्टीमा प्रस्ताव लगे । यो कुरा पटकपटक उनले पार्टीमा उठाए तर उपेन्द्र यादवलाई अपाच्य भयो । षड्यन्त्र गरेर जसपाबाट बाबुरामलाई पनि अलग गरे ।

पछि अशोक राईले पनि अध्यक्षको चाहना राखेका थिए । तर उनलाई संघीय परिषद्को अध्यक्ष र शिक्षा मन्त्री बनाएपछि उनको मुख पनि बन्द भएको छ । अर्थात् उपेन्द्रले आफू पार्टीको नेतृत्वमा रहन महाधिवेशन टार्दै जानुका साथै जो जसले अध्यक्षका लागि दाबी गरे, तिनलाई पार्टीबाटै कारवाही गरेर निकालेको सोही पार्टीका नेताहरु बताउँछन् ।

कहिले होला महाधिवेशन ?

असार १० गतेदेखि जसपाको विधान अधिवेशन गर्ने मिति तय भइसकेको छ । अधिवेशनको तयारीमा पार्टी लागेको छ । विधान अधिवेशनबाटै महाधिवेशनको मिति तय गर्ने तयारी रहेको जसपाले जनाएको छ । जसपाका कार्यकारिणी सदस्य रकम चेम्जोङले विधान अधिवेशनपछि बन्ने विधानको आधारमा महाधिवेशनको मिति तय हुने बताए ।

‘विधानले के निर्देश गर्छ, अध्यक्ष पदाधिकारी लगायतको कस्तो व्यवस्था हुन्छ, त्यसका आधारमा नेतृत्वको विषयमा छलफल हुन्छ,’ उनले भने । अध्यक्ष उपेन्द्र यादवको विकल्प छैन भन्दा पनि महाधिवेशनले के निर्णय गर्छ त्यसमा भर पर्ने उनको भनाइ छ ।

जसपा नेपालको अन्तरिम विधानमा ‘महाधिवेशन प्रत्येक ५ वर्षमा हुनेछ तर विशेष कारणवश तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिनेछ’ उल्लेख छ । यो प्रावधान मधेशी जनअधिकार फोरम, संघीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टीसम्मको विभिन्न विधानमा उल्लेख हुँदै आएको छ । कुनै विधानमा पाँच वर्ष, कुनैमा तीन वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो तर हालसम्म महाधिवेशन भने हुन सकेन ।

पार्टीहरुसँग एकीकरण गर्दै नयाँ पार्टी र विधान बनाउँदै गएपछि उपेन्द्र यादव नेतृत्वको दल कहिल्यै महाधिवेशनमा जानु परेन । पार्टी एकीकरणपछि एकता महाधिवेशन गर्ने निर्णय पनि हुन्थ्यो, अर्को महाधिवेशन गर्ने बेलासम्म फेरि कुनै दलसँग एकीकरण हुँदा विधान नै हेरफेर भएपछि महाधिवेशन गराउने आवश्यकता नै पर्दैनथ्यो । त्यो क्रम जसपासम्म चल्यो ।

एकीकरणमै टर्‍यो महाधिवेशन

२०७२ जेठ २२ गते तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकीकरण भइ संघीय समाजवादी फोरम नेपाल बनेको थियो ।

त्यो एकीकरणपछि पार्टीले २०७५ माघ २८ गतेदेखि ३० सम्म जनकपुरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । त्यसपछि अर्को मिति २०७६ वैशाखका लागि तय भयो । तर वैशाखमा महाधिवेशन त भएन, वैशाख २३ गते डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण भयो ।

नयाँ शक्तिसँग एकीकरण भएपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखियो । त्यसपछि समाजवादी पार्टी नेपालको पनि एकता महाधिवेशन गर्ने चर्चा पार्टीमा चलायो । महाधिवेशनको चर्चा चलिरहेकै बेला २०७७ वैशाख १० गते तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भयो । दुई पार्टीबीच एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बन्यो ।

सो पार्टीको अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुर थिए । सो पार्टी एकीरकणपछि बनेको विधानमा पाँच वर्षमा एकता महाधिवेशन गर्ने उल्लेख थियो । तर महाधिवेशनको चर्चा नहुँदै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबीच खटपट सुरु भयो र पार्टी विभाजन भयो ।

महन्थ ठाकुरले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरे भने उपेन्द्र यादव जसपा नेपालको अध्यक्ष भएर बसे । अहिले पनि उपेन्द्र यादव अध्यक्ष रहेको जसपाको पुरानै अन्तरिम विधान छ । त्यसलाई संशोधन गर्नका लागि विधान अधिवेशन गर्ने तयारी भइरहेको छ ।

महन्थ ठाकुर १६ वर्षदेखि अध्यक्ष

कांग्रेस, माओवादी केन्द्र, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि महाधिवेशन सम्पन्न गरिसकेको छ तर २०६४ मा तमलोपा गठन भएपछि अध्यक्ष बनेका महन्थ ठाकुर हालसम्म महाधिवेशन बिना नै अध्यक्षमै छन् । २०६४ वैशाख १० गते तमलोपा गठन भएको थियो । तमलोपा हुँदै राजपा, जसपा हुँदै अहिले लोसपा बनेको छ ।

तत्कालीन तमलोपाको पहिलो महाधिवेशन २०७३ असार ६ गते नवलपरासीमा भएको थियो । त्यस यता कुनै महाधिवेशन भएको छैन । मधेशी जनअधिकार फोरम नेपालजस्तै अध्यक्ष ठाकुरले पनि विभिन्न दलसँग एकीकरण गर्दै, विधान फेर्दै लोसपासम्म आइपुगेका छन् । १६ वर्षदेखि पार्टीको नेतृत्वमा रहेका उनले अझै नेतृत्व हस्तान्तरण गर्ने छाँटकाँट देखिएको छैन ।

एकीकरणको शृङ्खला

२०७३ मा महाधिवेशन सम्पन्न गरेको तमलोपाले २०७४ वैशाख ७ गते महिन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेश सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टी, राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल र अनिल झा नेतृत्वको तत्कालीन संघीय सद्भावना पार्टीसँग एकीकरण गरेर राष्ट्रिय जनता समाजवादी पार्टी नेपाल गठन गरेको थियो ।

सो पार्टीमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र महिन्द्र राय यादवसहितको एउटा अध्यक्षमण्डल बनायो । दुई दुई महिनामा अध्यक्षमण्डलको संयोजक रहने चक्रीय प्रणालीमा पार्टी सञ्चालन भयो । चक्रीय प्रणाली भएपछि सबैको सहमतिमा ठाकुर २२ महिनासम्म अध्यक्षमण्डलको संयोजक भएर काम गरे । पछि दुई दुई महिनाको चक्रीय प्रणाली सुरु भएको थियो । तत्कालीन राजपा नेपालको विधान २०७४ मा एक वर्षभित्र महाधिवेशन सम्पन्न गर्ने उल्लेख थियो ।

 

महाधिवेशन टार्न विधान संशोधन

एक वर्षभित्र महाधिवशेन त हुन सकेन, राजपाको तीन वर्ष अलमलमै बित्यो । यहाँसम्म कि तत्कालीन राजपाले महाधिवेशनको मिति सार्नका लागि दुई पटक आफ्नो विधान नै संशोधन ग¥यो ।

२०७५ वैशाखमा पहिलो पटक एकीकरण भएको दुई वर्षभित्र महाधिवेशन गर्ने निर्णय गरी विधान सच्याएर निर्वाचन आयोगलाई बुझाएको थियो । त्यो अवधिमा पनि महाधिवेशन गराउन नसकेपछि २०७६ वैशाखमा दोस्रो पटक विधान संशोधन गरेर एकीकरण भएको तीन वर्षभित्र महाधिवेशन गरिसक्ने उल्लेख गर्दै सोही सालको असार २९ गते आयोगलाई पत्र बुझायो । तर तीन वर्षको अवधिमा तीनपटक महाधिवेशनको मिति सार्दा पनि महाधिवेशन हुन सकेन ।

त्यो तीन वर्षको अवधिमा एकता महाधिवेशनका लागि तत्कालीन राजपा नेपालले विभिन्न मिति तय गरेको थियो । तर सो पार्टीभित्र यस्तो आन्तरिक विवाद थियो कि तोकिएको मितिमा महाधिवेशन हुन सकेन । तत्कालीन राजपाले २०७६ वैशाख ७–९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर त्यो मितिमा महाधिवेशन हुन नसकेपछि २०७६ वैशाख १३ गते पत्रकार सम्मेलन गरेर तत्कालीन राजपाले २०७६ कात्तिक २८ गतेदेखि ३० गतेसम्म महाधिवेशन गर्ने जानकारी गराएको थियो ।

त्यसका लागि तत्कालीन अध्यक्षमण्डल सदस्य महन्थ ठाकुरको संयोजकत्वमा केन्द्रीय कार्यसमितिका सबै सदस्यहरु रहने गरी महाधिवेशन मूल आयोजक समिति र उनकै संयोजकत्वमा सबै पदाधिकारी सम्मिलित महाधिवेशन तयारी समिति समेत गठन गरिएको थियो । महाधिवेशन सम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार संयोजक ठाकुरलाई नै दिएको थियो । यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो ।

उपेन्द्र यादवसँग एकीकरण

त्यस अवधिमा पार्टी समायोजनको काम सकाएर प्रदेश, जिल्ला, पालिका, वडासम्म अधिवेशन सम्पन्न गर्ने मितिसमेत तय गरिसकेको थियो । तर पार्टीभित्र ६ जनाको बीचमा यस्तो आन्तरिक विवाद थियो कि समायोजनको काम नै अगाडि बढ्न सकेन ।

बरु नेताहरुले जिल्ला जिल्लामा समान्तर कमिटी समेत बनाउन थाले । त्यही विवादका कारण कात्तिक २८ गतेका लागि तोकिएको महाधिवेशन हुन सकेन र २०७७ वैशाख १० गते मध्यरात तत्कालीन राजपाले उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपालसँग एकीकरण गरेर जसपा नेपाल गठन गरेको थियो ।

जसपा नेपालमा दुई जना अध्यक्ष रहने तय भयो । त्यसमा महन्थ ठाकुर पहिलो वरीयताका अध्यक्ष बने । जसपा गठनपछि बनेको अन्तरिम विधानमा पाँच वर्षभित्र पार्टीको महाधिवेशन सम्पन्न गर्ने उल्लेख थियो । त्यसअघि पार्टी समायोजनका सम्पूर्ण कार्य सम्पन्न गर्ने निर्णय गरेको थियो । पार्टी समायोजनको काम सुरु भएपछि राजपाजस्तै जसपामा पनि आन्तरिक विवाद सुरु भयो ।

एक वर्ष विवादमै बित्यो । एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको तत्कालीन सरकारमा सहभागी हुने विषयलाई लिएर जसपाभित्र उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच यस्तो विवाद उत्पन्न भयो कि पार्टी एक रहन सकेन । जसपाबाट अलग भएर महन्थ ठाकुरले आफ्नो अध्यक्षतामा लोसपा गठन गरे । लोसपाको अन्तरिम विधान २०७८ मा महाधिवेशन प्रत्येक पाँच वर्षमा हुनेछ तर विशेष कारणवश तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिने उल्लेख छ ।

अन्तरिम विधान अनुसार लोसपाको महाधिवेशन गर्ने समय पुगेको छैन । नयाँ पार्टी बनाएका कारण महाधिवेशन नभएको लोसपाका नेताहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप