शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
पार्टीमा उमेर हद

एमाले निर्णयको ‘साइड इफेक्ट’ : कांग्रेसका ‘बुढो पुस्ता’मा उत्साह !

बिहीबार, २५ जेठ २०८०, १९ : ५५
बिहीबार, २५ जेठ २०८०

काठमाडौं । नेकपा एमालेमा भएको ७० वर्षे उमेर हद हटाउने निर्णयको ‘साइड इफेक्ट’ नेपाली कांग्रेसमा पनि देखिने चर्चा सुरु भएको छ । कांग्रेसमा युवा पुस्ताको जबरजस्त उपस्थितिपछि राजनीतिबाट रिङआउट हुने अवस्थामा रहेका बुढा पुस्ताका नेतालाई एमालेको निर्णयले राहत दिने चर्चा हुन थालेको हो ।

प्रमुख प्रतिस्पर्धी पार्टी एमालेमा आफ्नो वयका नेताहरु नेतृत्वमा रहिरहने परिस्थितिमा कांग्रेसको बुढो पुस्तालाई नेतृत्वमा रहिरहन नैतिक बल मिल्ने छ ।

७० वर्षे उमेयर हद हटेपछि एमालेको भावी नेतृत्व अब ७०–७५ वर्षकै उमेर वरिपरिकै हुने परिदृश्यले देखाउँछ । २०७८ मंसिरमा १० औं महाधिवेशन गरेको एमालेले ०८३ मा ११ औं महाधिवेशन गर्नुपर्ने छ ।

उमेर हदको प्रावधान निलम्बित भएसँगै ओलीलाई पुनः नेतृत्वमा आउने बाटो खुला हुनेछ । २००८ मा जन्मिएका ओलीमा पुनः अध्यक्ष हुने इच्छ पलाए ११ औं महाधिवेशनमा ७५ वर्षको हुने छन् । यस्तै २०१० मा जन्मिएका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, २००९ मा जन्मिएका उपाध्यक्ष सुवास नेम्वाङ, २०१० मा जन्मिएकी अष्टलक्ष्मी शाक्य २०१६ मा जन्मिएका विष्णु पौडेल, २०१० मा जन्मिएका युवराज ज्ञवाली, २०१२ मा जन्मिएका रामबहादुर थापा र २०१५ मा जन्मिएका सुरेन्द्र पाण्डेका लागि पनि यो प्रावधानले स्वास्थ्यले साथ दिएसम्म राजनीति गर्ने बाटो खुला हुने छ ।

यसले नेतृत्वको लेयरमा देखिएका महासचिव शंकर पोखरेल (६१ वर्ष)का लागि बाधा खडा गर्ने देखिन्छ । एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनित हुन चाहिने ७० वर्षे उमेर हद हटाएर ७२ वर्षीय मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाएको छ । एमालेले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने’ विधानको व्यवस्था निलम्बन गरेको हो ।

यो निर्णयले दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा छिट्टै पुग्ने बाटोमा अवरोध सिर्जना गर्ने भएको छ ।

एमालेमा नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन ७० वर्ष र दुई कार्यकालको व्यवस्था सुरु गरिएको थियो । पछि नेपाली कांग्रेसले पनि सभापतिमा दुई कार्यकालको व्यवस्था लागू ग¥यो । ७० वर्षीय उमेर हद हटेपछि एमालेमा अब दुई कार्यकालको व्यवस्था पनि हट्ने सम्भावना अधिक छ ।

एमाले अध्यक्ष ओलीले तेस्रो पटक अध्यक्ष बन्ने इच्छा राखे त्यो व्यवस्था पनि हट्ने एमाले नेताहरु नै बताउँछन् । एमालेमा युवा पुस्ताको बाटो बन्द हुँदा कांग्रेसको बुढो पुस्ताका नेताहरुलाई पनि नेतृत्व छाड्न नैतिक दबाब पर्ने छैन ।

कांग्रेस सभापति शेरबहादुर देउवा (७८ वर्ष) ले अब सभापति नबन्ने घोषणा गरिसकेका छन् । ७९ वर्षीय रामचन्द्र पौडेल राष्ट्रपति भएर कांग्रेसको राजनीतिबाट बिदा भइसकेका छन् । तर ८० वर्षीय गोपालमान श्रेष्ठ, ७५ वर्षीय अर्जुन नरसिंह केसी, ७४ वर्षीय कृष्णप्रसाद सिटौला, ७३ वर्षीय नारायण खड्का र ७२ वर्षीय शेखर कोइराला भावी नेतृत्वको दौडमा हुने छन् ।

यस्तै ६९ वर्षीय बलबहादुर केसी, ६८ वर्षीय विजय गच्छदार, ६७ वर्षीय विमलेन्द्र निधि, ६७ वर्षीय प्रकाशमान सिंह, ६८ वर्षीय दिलेन्द्र बडू, ६६ वर्षीय पूर्णबहादुर खड्का, ६९ वर्षीय सुजाता कोइराला र ६८ वर्षीय महेश आचार्यलाई पनि नेतृत्वका लागि दाबी कायम राखिरहन एमालेभित्रको प्रावधान एउटा उदाहरण बन्न सक्छ ।

कांग्रेसका एक युवा केन्द्रीय सदस्यले ६५ माथिका कांग्रेस नेताहरुमा पनि एमालेको निर्णयले उत्साह थपेको बताए । ‘प्रतिस्पर्धी पार्टीमा आफ्ना सहकर्मी कार्यकारी पदबाट बिदा हुँदा हाम्रा पार्टीका बुढो पुस्तालाई पनि प्रेसर पर्ने हुन्थ्यो । एमालेले ७० वर्षे उमेर हद हटाउने भएपछि हाम्रा बुढा नेताहरु पनि उत्साहित छन्,’ ती सदस्यले बताए ।

उनका अनुसार ६५ देखि ८० वर्ष उमेरका अधिकांश नेता कांग्रेस र एमालेमै छन् । उनले भने, ‘पार्टीमा ६५ वर्षे हद राख्नुपर्छ भनेर हामीले आन्तरिक छलफल गरिरहेका बेला एमालेको निर्णयले हाम्रो मुद्दालाई कमजोर बनाउने देखियो ।’

कांग्रेसको विधानमा उमेर हदबारे कुनै व्यवस्था नभए पनि संगठनमा ‘एक्जिट पोलिसी’ नहुँदा नयाँ पुस्ता कसरी आउँछन् भन्ने प्रश्न बेला–बेला उठ्ने गरेको थियो । संगठनलाई चुस्त बनाउन पनि ‘एक्जिट पोलिसी’ आवश्यक पर्ने महामन्त्री गगन थापाले बताउँदै आएका थिए ।

तर ‘एजले होइन एजेण्डाले हो राजनीति गर्ने’ भन्ने आवाज बलियो सुनिदा कांग्रेसमा ‘एक्जिट पोलिसी’को नीति बन्न सकेको थिएन ।

कांग्रेसमा आगामी भदौमा नीति महाधिवेशन हुँदा उमेर हदको विषय प्रवेश गराउने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आन्तरिक तयारी छ । तर एमालेको निर्णयले अब यो मुद्दा कमजोर हुने खतरा छ । कांग्रेस नेता गोपालमान श्रेष्ठले राजनीति गर्न उमेर बाधक नहुने बताए । उनले भने, ‘एमालेको निर्णय उसको घरेलु विषय हो । कांग्रेसमा नेतृत्वमा पुग्न कसैलाई बाधा छैन ।’

कांग्रेसमा सभापतिको अधिकार कटौती गरी निर्वाचनबाटै नेतृत्वमा पुग्ने बाटो खोलिदिएको उनको भनाइ छ । ‘नेपाली कांग्रेसमा महाधिवेशनबाट युवा नेताहरु नेतृत्वमा आउनु भएको छ,’ उनले भने, ‘पार्टीका साथीहरुको मन जितेर युवा साथीहरु नेतृत्व आइरहेका बेला एमालेको निर्णय के अर्थ ? त्यो उसको विषय हो । तर, अहिले पार्टीमा मुख्य अभाव विचार र क्रियाशीलताको हो, उमेर मुख्य विषय होइन ।’

कांग्रेसको आगामी नीति महाधिवशेनमा विचार र कार्यक्षमताले महत्त्व पाउनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप