शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

शुक्रबार, २६ जेठ २०८०, २० : ४५
शुक्रबार, २६ जेठ २०८०

जुम्ला । जुम्लाका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । 

विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिइन् ।

पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ । पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ । बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ ।

वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ । बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ । देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्त्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । पालिकाका सबै वडालाई बाल विवाहमुक्त गर्न लागिपरेका छौँ ।

कार्यपालिकाबाट गरिएको निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न वडालाई निर्देशनसमेत गरिएको गाउँपालिका अध्यक्ष रोकायाको भनाइ छ । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।

विवाह गर्दा अनिवार्य वडाको सिफारिस गरेसँगै वडाबाट सिफारिस लिनेको सङ्ख्या बढेको तिला–१ को वडा कार्यालयले जनाएको छ । पालिकाको वडा नं ६ निवासी विकास रोकायाले विवाहका लागि वडाबाट सिफारिस लिएर विवाह गरेको वडाध्यक्ष जङ्ग रोकायाले जानकारी दिए । 

पातारासी गाउँपालिकाले पनि विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष जनमाया रोकायाले बताइन् । सिञ्जा गाउँपालिकाले पनि विवाह गर्दा अनिवार्य वडाको सिफारिस लागू गरेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप