बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कार्यकक्षमै थुनिएका महेन्द्र क्याम्पस प्रमुखसहित ६ जना अझै मुक्त भएनन्

शुक्रबार, २६ जेठ २०८०, २१ : ३६
शुक्रबार, २६ जेठ २०८०

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुख बाबुराम तिम्सिनासहित ६ जनालाई विद्यार्थीले कार्यकक्षमै थुनिदिएका छन् । उनीहरू साँझ साढे ९ बजेसम्म छुटेका छैनन् । 

क्याम्पस प्रमुख तिम्सिनासहित सहायक क्याम्पस प्रमुख विष्णुदेव दास, सुशील अधिकारी, शिवनारायण चौधरी, सामान्य प्रशासन प्रमुख सविना गौतम र कर्मचारी प्रशासन महाशाखाका गोपाल घिमिरेलाई विद्यार्थीहरुले दिउँसो २ बजे कार्यकक्षमै थुनेका थिए । 

स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासनको दादागिरी रवैयाविरुद्ध उनीहरुलाई क्याम्पसमै थुनेको जनाएको छ । 

स्ववियु सभापति जसवन्त पौडेलले क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनलाई बेवास्ता गरेर क्याम्पस प्रशासनले आफू खुसी मनपरीतन्त्र चलाएकोले त्यसको विरुद्ध थुनिएको बताए । 

सभापति पौडेलले सम्पन्न भइसकेको स्वतन्त्र विद्यार्थी युनियनको हिसाब किताब क्याम्पस प्रशासनले सार्वजनिक गर्न आलटाल गरिरहेको, क्याम्पस प्रशासनले आयव्यय विवरण सार्वजनिक गर्न नचाहेको र विद्यार्थीहरूलाई प्रयोगात्मक परीक्षाको लागि पठाउनुपर्ने नम्बर नपठाएको कारण थुनिएको बताए । 

क्याम्पस परिसरमा विद्यार्थीका दुई पक्षबीच झडप हुँदा साँझ क्याम्पस परिसर तनावग्रस्त बनेको थियो । अहिले क्याम्पसको आसपासमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । क्याम्पस प्रमुखसहित थुनिएकाहरुलाई निकाल्न विद्यार्थीसँग सरोकारवाला पक्षले वार्ता गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप