बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रशासनिक बोझ संघीय सरकारमै छ, प्रदेशलाई मात्र बलिको बोको बनाउनु हुँदैन: सचेतक मेचे

बुधबार, ३१ असार २०८३, १४ : ४९
बुधबार, ३१ असार २०८३

सारांश

  • नेकपा (एमाले) की सचेतक रोशनी मेचेले प्रशासनिक बोझ संघीय सरकारमै रहेकाले प्रदेशलाई मात्र बलिको बोको बनाउन नहुने बताएकी छिन्।
  • उनले संघीय सरकारको कमजोर वित्तीय अनुशासन र बोझिलो संरचनालाई लुकाउन प्रदेश संरचनामाथि प्रश्न उठाउनु तथ्यहीन रहेको दाबी गरिन्।
  • उनले विगत ३५ वर्षमा साक्षरता दर र औसत आयुमा भएको वृद्धि तथा मातृ तथा बाल मृत्युदर न्यूनीकरणमा नेपालको प्रगति उदाहरणीय रहेको बताइन्।

काठमाडौँ। राष्ट्रिय सभामा नेकपा (एमाले) की सचेतक रोशनी मेचेले प्रशासनिक बोझ संघीय सरकारमै रहेकाले प्रदेशलाई मात्र बलिको बोको बनाउन नहुने बताएकी छिन्। 

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारको कार्यशैली, देशको वर्तमान वित्तीय अवस्था र सुशासनको खस्कँदो अवस्थाप्रति ध्यानाकर्षण गराउँदै यस्तो बताएकी हुन्।

उनले संघीय सरकारको कमजोर वित्तीय अनुशासन र बोझिलो संरचनालाई लुकाउन प्रदेश संरचनामाथि प्रश्न उठाउनु तथ्यहीन रहेको दाबी गरिन्। सचेतक मेचेले पछिल्लो समय प्रदेश संरचना महँगो भएको भन्दै यसलाई खारेज गर्ने तर्क सस्तो लोकप्रियतावादका लागि फैलाइएको टिप्पणी गरिन्। 

विगत ३५ वर्षमा देशमा केही उपलब्धि नभएको भन्ने नकारात्मक भाष्यको खण्डन गर्दै मेचेले २०४६ सालयता साक्षरता दर ३९ प्रतिशतबाट बढेर ७६.२ प्रतिशत पुगेको र नेपालीको औसत आयु ५४ वर्षबाट ७१ वर्ष पुगेको तथ्य पेस गरिन्। मातृ मृत्युदर र बाल मृत्युदर न्यूनीकरणमा नेपालले हासिल गरेको प्रगति विश्वमै उदाहरणीय रहेको उनको भनाइ छ।

प्रदेश र संघको खर्चको तुलना गर्दै बैठकमा सचेतक मेचेले भनिन्, ‘सातै प्रदेशका पदाधिकारीको पारिश्रमिक र भत्तासहितको प्रशासनिक खर्च जम्मा ५ अर्ब ४५ करोड रुपैयाँ मात्र छ। तर संघीय सरकारको एउटै मन्त्रालयको बजेट त्योभन्दा बढी देखिन्छ।’ 

वित्तीय संकटको मुख्य स्रोत प्रादेशिक संरचना नभई संघीय सरकारकै बोझिलो संरचना र फितलो अनुशासन भएको उनको तर्क छ। युवाहरूको अवस्थाबारे बोल्दै उनले थपिन्, ‘विदेशका गल्लीमा स्टिकर टाँसेर युवा फर्काउने बाचा गर्नेहरू आज सत्तामा छन्, तर स्वदेशमा रहेका युवाको रोजगारी खोसिँदै छ।’

वर्तमान सरकारको असफलताका कारण देशका ऐतिहासिक उपलब्धिहरू ओझेलमा परेको र युवाहरूमा चरम निराशा छाएको उनले बताइन्। रोजगारीको अभावमा युवाहरू आत्मदाह गर्न बाध्य हुनुलाई उनले सरकारको चरम असफलताको रूपमा चित्रण गरिन्। यसैगरी सचेतक मेचेले गरिब र विपन्न नागरिकका लागि ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएकोमा समेत सरकारको तीव्र आलोचना गरिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप