बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

जसपाले नचाहँदा नचाहँदै जनमत पार्टी सहभागी हुँदैछ सरकारमा

शनिबार, २७ जेठ २०८०, १४ : ५०
शनिबार, २७ जेठ २०८०

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारमा ल्याउने गृहकार्य सुरु गरेका छन् । जनता समाजवादी पार्टीले नचाहँदा नचाहँदै प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा भित्र्याउने गृहकार्य सुरु गरेका हुन् । जसपाले मधेसमा आफ्नो प्रतिस्पर्धी जनमत पार्टीलाई मानेको छ । उसले जनमतलाई सत्ताभन्दा बाहिर नै राख्न चाहन्छ । सङ्घीय सरकारमा जनमत पार्टी सहभागी नहोस् भनी जसपाका अध्यक्ष उपेन्द्र यादवले जतिखेर पनि प्रधानमन्त्री प्रचण्डलाई कान फुकिरहेका हुन्छन् । 

तर अब जसपाका अध्यक्ष उपेन्द्र यादवको त्यो कान फुकाई काम नलाग्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले जनमतलाई सरकारमा सहभागी गराउने भित्री तयारी गरिसकेका छन् । प्रधानमन्त्रीले जनमत पार्टीका अध्यक्ष डा.सिके राउतसँग पनि यो विषयमा छलफल गरिसकेका छन् ।  उनले माओवादी केन्द्र वा काङ्ग्रेसबाट एउटा मन्त्रालय खाली गराएर जनमतलाई सरकारमा फर्काउन चाहेका छन् । जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जनमत पार्टीले कहिल्यै पनि सरकारमा नजाने भनेको नभई आफूले मागेको मन्त्रालय र त्यसमा भएको सहमति कार्यान्वयन नभएकोले सरकारभन्दा बाहिर बसेको बताए । जनताका लागि काम गर्ने मन्त्रालय दिए जनमत पार्टी सरकारमा जान तयार रहेको उनले बताए । यद्यपि उनले प्रधानमन्त्री प्रचण्ड र आफ्ना अध्यक्ष राउतबीच कुराकानी भएको विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताए ।

जसपाले जनमत पार्टीलाई केन्द्रबाट मात्र होइन मधेस प्रदेश सरकारमा समेत वञ्चित गर्ने तयारी गरिसकेको थियो । तर प्रधानमन्त्री प्रचण्डले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जनमतलाई नचलाउन भनेपछि उनी रोकिएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले रोक्दा रोक्दै पनि जसपाका अध्यक्ष यादवले जनमतका मन्त्रीलाई बिना विभागीय बनाउन सफल भएको श्रोतले बताएको छ । जनमतका कृषि मन्त्री र कृषि राज्यमन्त्रीलाई बिना विभागीय बनाइएको छ । त्यो कुरा प्रधानमन्त्री प्रचण्डलाई पनि मन परेको छैन । जसपाका अध्यक्ष यादवले गरेको त्यो कार्यप्रति प्रधानमन्त्री प्रचण्डले आपत्ति जनाएका थिए । 

मधेस प्रदेशमा पनि जनमतलाई मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डले अध्यक्ष यादवलाई भनिसकेका छन् । प्रदेशमा पनि जनमतलाई मन्त्रालय दिने विषयमा छलफल भइरहेको छ । यता केन्द्रमा पनि कुन मन्त्रालय दिने भन्ने भन्ने विषयमा छलफल सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप