शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

म्यानचेस्टर सिटीको सफलता र अल्भारेजको दूर्लभ कीर्तिमान

आइतबार, २८ जेठ २०८०, ०८ : ३१
आइतबार, २८ जेठ २०८०

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगको उपाधि शनिबार राति इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले जित्यो । त्यो जितपछि म्यानचेस्टर सिटी र प्रशिक्षक पेप ग्वार्डिओलाले गतिलै चर्चा बटुलिरहेका छन् । किनभने, ग्वार्डिओलाको प्रशिक्षकत्वमा म्यानचेस्टर सिटीले एकै सिजन तीनवटा ठुला युरोपेली प्रतियोगिताको उपाधि जितेको थियो ।

तर, च्याम्पियन्स लिग उपाधिको छिनोफानो भएलगत्तै म्यानचेस्टर सिटीकै एक खेलाडीले भने त्योभन्दा पनि ठूलो र दूर्लभ कीर्तिमान बनाएका छन् । ति खेलाडी हुन्, २३ वर्षीय अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेज ।

अल्भारेजले केवल ६ महिनाको अवधिमा चारवटा ठूला प्रतियोगिताको उपाधि जितेर विश्व फुटबल इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखाएका छन् । सबैभन्दा पहिलो उनले गत डिसेम्बरमा अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि चुमाए ।

कतार विश्वकपको फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४—२ गोलले हराउँदा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । उक्त विश्वकपको सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३—० गोलले हराउँदा त अल्भारेजले दुई गोल पनि गरेका थिए । उक्त सेमिफाइनलमा स्टार स्ट्राइकर लियोनल मेसीले पनि एक गोल गरेका थिए ।

अस्ट्रेलियाविरुद्घको प्रिक्वार्टरफाइनल खेलमा पनि मेसी र अल्भारेजले एक-एक गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिना २—१ गोलले विजयी भएको थियो । समग्रमा अल्भारेजले कतार विश्वकपको उपाधि अर्जेन्टिनालाई चुमाउन चार गोलको योगदान गरेका थिए ।

त्यसपछि सन् २०२२ मा उनी ब्यवसायीक फुटबल खेल्न म्यानचेस्टर सिटीमा आबद्ध भए । सिटीमा आबद्ध भएलगत्तै उनले क्लबलाई प्रिमियर लिगको उपाधि चुमाउन महत्वपूर्ण योगदान गरे । उनले जितेको यो दोस्रो ठुलो उपाधि थियो ।

त्यसलगत्तै म्यानचेस्टर सिटीले एफए कपको उपाधि जित्यो । सिटीले त्यो उपाधि जित्दा पनि उनी टोलीका महत्वपूर्ण सदस्य थिए । अल्भारेजले जितेको यो तेस्रो उपाधि थियो । त्यसपछि शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा सिटीले इन्टर मिलानलाई हरायो । सिटीको यो सफलतामा पनि जोडिएका छन्, अल्भारेज । अल्भारेजले जितेको यो चौथो ठुलो उपाधि थियो ।

यसरी अल्भारेजले केवल ६ महिनाको अवधिमा चारवटा महत्वपूर्ण प्रतियोगिताको उपाधि जितेर इतिहास रचे । यस्तो सफलता हात पार्ने अल्भारेज विश्वकै एकमात्र खेलाडी हुन् । यसअघि नौजना खेलाडीले एकै सिजन विश्वकप र च्याम्पियन्स लिग वा युरोपियन कपको उपाधि जितेका छन् । तर, उनीहरुले त्यही सिजन घरेलु लिगको उपाधि भने जित्न सकेका थिएनन् ।

यो सिजन म्यानचेस्टर सिटीका लागि अल्भारेजले १७ गोल गरेका छन् । उनी यो सिजन म्यानचेस्टरका लागि दोस्रो सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । कतार विश्वकपमा भने उनी सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा तेस्रो नम्बरमा थिए । टर्कीको इस्तानुबलमा सिटीले च्याम्पियन्स लिगको उपाधि जित्दा उनी मैदानमा भने सक्रिय थिएनन् । तर, टोलीको सदस्य भएकाले उपाधिको खुसीयाली मनाउँदा भने उनी मैदानमा थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप