सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीले जित्यो च्याम्पियन्स लिग : ग्वार्डिओलालाई एकै सिजन तीन ठुला उपाधि

आइतबार, २८ जेठ २०८०, ०७ : १९
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । युरोपियन ब्यवसायीक लिग फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । म्यानचेस्टर सिटीले शनिबार राति खेलिएको फाइनलमा इटालियन सिरिए क्लब इन्टर मिलानलाई १-० गोलले हराउँदै च्याम्पियन्स लिगको उपाधि चुमेको हो ।

फाइनल खेल निकै प्रतिस्पर्धात्मक थियो । म्यानचेस्टर सिटीको जितमा रोड्री नायक बने । उनले निर्धारित समयको ६८औं मिनेटमा म्यानचेस्टर सिटीका लागि निर्णायक गोल गरेका थिए । म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

यो सिजन म्यानचेस्टर सिटीले तीनवटा महत्वपूर्ण प्रतियोगिताको उपाधि चुमेको हो । पेप ग्वार्डिओलाको प्रशिक्षकत्वमा यो सिजन म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगका रुपमा पहिलो उपाधि जित्यो । त्यसपछि एफए कपको उपाधिमाथि म्यानचेस्टर सिटीले कब्जा जमायो ।

तेस्रो उपाधिका रुपमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जितेको हो । म्यानचेस्ट सिटी एकै सिजन तीनवटा ठूला प्रतियोगिताको उपाधि जित्ने दोस्रो इङ्लिस क्लब पनि बनेको छ । यसअघि म्यानचेस्टर युनाइटेडले यस्तो उपलब्धि हासिल गरिसकेको थियो ।

पेप ग्वार्डिओला तीनवटा च्याम्पियन्स लिग उपाधि जित्ने तेस्रो प्रशिक्षक पनि बनेका छन् । यसअघि कार्लो एन्सोलोटी र जिनेदिन जिदानले तीनपटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । यसअघि म्यानचेस्टर सिटी सन् २०२१ मा च्याम्पियन्स लिगको फाइनलमा चेल्सीसँग पराजित भएको थियो ।

च्याम्पियन्स लिगको उपाधि सबैभन्दा बढी पटक जित्ने क्लब भने रियल म्याड्रिड हो । रियल म्याड्रिडले हालसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि चुमेको छ । दोस्रो स्थानमा रहेको इटालियन क्लब मिलानले सात पटक उपाधि जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप