शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
नक्कली शरणार्थी प्रकरण

इजलासको दृश्य : बालकृष्ण खाणको निधारमा कालो टीका, आफ्नो पक्षमा बहस सुन्न फ्रन्टलाइनमा टेकनारायण

टोपबहादुर भन्छन्– मेरो त केही छँदै छैन
आइतबार, २८ जेठ २०८०, १७ : ४४
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । शरणार्थी प्रकरणमा जेठ २१ मा सुरु भएको थुनछेक बहस जारी छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा थुनछेक सुरु भएसँगै शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना आरोपी दिनभर इजलासमा बस्ने गरेका छन् ।

सुरुमा ३ दिन आफ्ना विरुद्धको बहस सुनेर छटपटाएका उनीहरू पछिल्लो ४ दिनदेखि आफ्नो सुन्दा ‘खुसी’ देखिन्छन् । कारण ४ दिनयता उनीहरूको पक्षका वकिलले बहस गरिरहेका छन् ।  जेठ २४ देखि आरोपी तर्फका कानुन व्यवसायीहरूले बहस गरिरहेका हुन् ।

मुद्दा अभियोजन गर्ने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका सरकारी वकिलले आफ्ना विरुद्ध ३ दिन बहस गर्दादेखि नै निलम्बित सचिव टेकनारायण पाण्डे ‘नोट’ गरिरहन्थे । आइतबार पाण्डेतर्फका कानुन व्यवसायीले बहस सुरु गरे । आफ्नातर्फका कानुन व्यवसायीले बहस सुरु गरेपछि टेक नारायण यसअघि बस्दै गरेको सिट छाडेर कानुन व्यवसायी बस्दै आएको सबैभन्दा अघिल्लो बेन्चमा गए । अधिवक्ता राम घिमिरेले उनको तर्फबाट सुरुवाती बहस गरेका छन् ।

आफ्नो पक्षको बहस निकै चासोपूवर्क सुनेका पाण्डेले दिनभर कानुन व्यवसायीले भनेका कुरा ‘नोट’ गरिरहे । सधैँ पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग बस्दै आएका पाण्डे आइतबारको बहस सकिएपछि मात्रै खाण नजिकै गए । अनि, मुस्कुराए ।

आइतबार दिनभर पाण्डेको तर्फबाट बहस भयो । उनको तर्फबाट अधिवक्ताहरू राम घिमिरे, शरद कोइराला, डा. गणेश रेग्मी र जगत प्रकाश जोशीले बहस गरे ।

इजलासमा आउँदा कोट–पाइन्ट नछुटाउने पूर्व गृहमन्त्री बालकृष्ण खाण आइतबार निधारमा कालो टीका लगाएर आए । उनी टाउकोमा क्याप लगाउन पनि छुटाउँदैनन् । खाण बस्ने ठाउँ स्थायी छ । ३ जना बस्न मिल्ने कुर्सीमा खाणसँग पूर्व सांसद आङ्टावा शेर्पा र सचिव पाण्डे बस्छन् । कहिलेकाहिँ गृहमन्त्री हुँदाका स्वकीय सचिव नरेन्द्र केसीलाई खाण आफैँले इशाराले बोलाउँछन् र ‘खासखुस’ गर्छन् ।

इजलासमा खाण हत्तपत्त बोल्दैनन् । सँगैको अर्को कुर्सीमा हुन्छन्, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी । रायमाझी र खाण खासै ‘खासखुस’ गर्दैनन् । अनौपचारिक कुराकानीमा टोपबहादुर भन्छन्, ‘मेरो त केही छँदै छैन ।’

सेकेन्ड लास्ट लाइनको कुर्सीमा खाण, टोपबहादुर, पाण्डे र पूर्व सांसद आङ्टावा बस्छन् । अन्तिम लाइनको बेन्चमा बस्न पुग्छन् टोपबहादुरका छोरा सन्दीप । सन्दीप रायमाझी इजलासभित्र छिर्नासाथ आफ्नो बुवाको पाखुरामा समाउँछन् र आफू आइपुगेको संकेत गर्छन् । छोरालाई सान्त्वना दिँदै टोपबहादुर भन्छन्–‘बस् ।’

बुवाको आदेशपछि सन्दीप पछिल्लो लाइनमा गएर बस्छन् । इजलासमा बुवा–छोरा एक दिन पनि सँगै बसेका छैनन् । शरणार्थी नेता टेकनाथ रिजालले थुनछेक बहस सुरु भएको भोलिपल्ट जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपीलाई भने, ‘डीएसपी सा’प मलाई अप्ठेरो भइरहेको छ, छुट्टै कुर्सीमा बस्छु ।’ डीएसपी पवन भट्टराईले भने, ‘हुन्छ, बस्नुस् ।’

त्यस दिन लयर्स पोडियम नजिकैको कुर्सी आफैँले तानेर बस्न थालेका रिजाल सोही कुर्सीमा बसेर बहस सुनिरहेका छन् ।

खाजा समय २५ मिनेट

खाजा समय १ घण्टा भए पनि न्यायाधीश न्यौपानेले छोट्याएका छन् । बढीमा २५ मिनेटमा खाजा खाएर इजलासमा उपस्थित भइसक्नुपर्छ । त्यस्तोमा १८ जना आरोपीहरुलाई प्रहरीले क्यान्टिनसम्म लैजाने र ल्याउने समय पनि हुँदैन ।

इजलास बाहिर बरन्डामा उभिएर आरोपीहरू खाजा खान्छन् । परिवार र आफन्तहरूले उनीहरूलाई खाजा ल्याइदिन्छन् । नेपाल प्रहरी अस्पतालमा कार्यरत नर्स लक्ष्मी महर्जन पनि १८ जना सँगै थुनामा छिन् । उनको ११ महिनाको छोरा छ । आफन्तले बच्चा अदालतमा ल्याउँछन्, उनी खाजा समयमा बच्चालाई स्तनपान गराउँछिन् । अदालतले इजलास बाहरि स्तनपान गराउने प्रबन्ध गरिदिएको छ ।

लक्ष्मीका पति हरिभक्त पनि थुनामा छन् । पती–पत्नी एउटै बेन्चमा बसेर बहस सुन्छन्, अनि हिरासत फर्किन्छन् । थुनछेक बहस पुरा भएपछि शरणार्थी मुद्दामा जेठ ३१ मा आदेश गर्ने न्यायाधीश न्यौपानेले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप