शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सुरक्षा नीति प्रभावकारी कार्यान्वयनमा विज्ञको जोड

आइतबार, २८ जेठ २०८०, १९ : २९
आइतबार, २८ जेठ २०८०

काठमाडौँ । सुरक्षा विज्ञहरूले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।  आइतबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सुरक्षा विज्ञहरूले राष्ट्रिय सुरक्षा नीतिको समयानुकूल परिमार्जन गर्दै प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । 

बैठकमा बोल्दै पूर्वसचिव तथा राष्ट्रिय सुरक्षा विज्ञ खेमराज रेग्मीले प्रदेश सरकारका गृहमन्त्री र गृहसचिवहरुलाई कुनै अधिकार नदिएको भन्दै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले प्रमुख जिल्ला अधिकारीहरुलाई प्रदेश सरकारको गृह मन्त्रालयप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए ।  

पूर्वसचिव तथा राष्ट्रिय सुरक्षा विज्ञ वामनप्रसाद न्यौपानेले प्रधानमन्त्री र मुख्यमन्त्रीहरुका बीचमा समन्वयात्मक बैठक बस्न नसक्नु र तीन तहका सरकारका बीचमा समन्वय हुन नसक्नु नै देशको सुरक्षा चुनौती भएको बताए । उनले अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुको छाँया पनि नेपालमा परिरहेको उल्लेख गर्दै त्यो पनि सुरक्षा चुनौतीको रूपमा रहेको बताए ।  

बैठकमा बोल्दै राष्ट्रिय सुरक्षा विज्ञ केशरबहादुर भण्डारीले देशको राष्ट्रिय सुरक्षा नीतिमा पर्याप्त कुराहरू नलेखिएको बताए । उनले विभिन्न निकायहरूमा रहेका ऐन, नियम, कानुनहरूलाई संगठित गर्दै एउटै बनाउनुपर्नेमा जोड दिए । उनले अहिलेको राष्ट्रिय सुरक्षा नीति काम नलाग्ने थोत्रो कोदालो बराबर रहेको टिप्पणी गरे । 

राष्ट्रिय सुरक्षा विज्ञ राजेन्द्रबहादुर सिंहले नेपाल प्रहरी ऐनलाई राम्रोसँग कार्यान्वयन गर्न सकेमा आन्तरिक सुरक्षामा बल पुग्ने बताए । उनले राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन पक्ष कमजोर रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप