बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

स्मार्ट स्ट्रिट लाइटबाट बेथान र मन्थली झिलिमिली

सोमबार, २९ जेठ २०८०, १२ : ०५
सोमबार, २९ जेठ २०८०

काठमाडौँ। रामेछाप जिल्लाको सदरमुकाम मन्थली र सोही जिल्लाको सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले पालिकाहरूसँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकहरूमा हाइमास्ट र सडकमा बत्ती राखेको छ ।

बत्ती राखेपछि रातिको समयमा ती क्षेत्रहरू झिलिमिली बनेका छन् । मन्थली नगरपालिमा पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ती जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ ।

बसपार्क र बिनिता चोकमा १२.५ मि. अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ । कम विद्युत खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । सडक बत्तीको लागत एक करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यसैगरी, सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ । जसमा ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमश ः १४८ र १८३ वटा रहेका छन् ।  १२.५ मि. अग्लो पोलमा ३ वटा हाइमास्ट लाइट जडान गरिएको छ । सडक बत्तीको लागत २ करोड रुपैयाँ रहेको छ ।

मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तीको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लब श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे । बेथानमा जडान गरिएको बत्तीको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङको अन्त्यपछि अहिले २४सै घण्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पुर्‍याउने काम अभियानकै रूपमा भइरहेको बताए । 

स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी  रात्रिकालीन सौन्दर्यता बढाउने छ । सडक बत्तीको महसुल सम्बन्धित पालिकाहरुले तिर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ । स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सिधै जोडिएको छ । सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ । सफ्टवेरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ । बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ ।

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकाहरूसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । ठेक्का सम्झौता अनुसार सडकबत्ति नियमित मर्मत सम्भार पाँच वर्षसम्म निर्माण व्यवसायीले गर्ने छ । पोल, तार, बत्तिलगायतका संरचनाहरु प्राधिकरणकै स्वामित्वमा रहने छन् ।

यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप