शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
गठबन्धनमा खटपट

बालुवाटारमा गठबन्धन बैठक : बजेटमा बढेको असन्तुष्टि सम्बोधनको प्रयास

मङ्गलबार, ३० जेठ २०८०, ११ : ५८
मङ्गलबार, ३० जेठ २०८०

काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी छन् । 

नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट विनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले छुट्टाछुट्टै र सामूहिक छलफल थालेका हुन् । गठबन्धनमा रहेका एकीकृत समाजवादी र जसपाका नेताहरूले सार्वजनिक रूपमै बजेट विनियोजन गर्दा पहुँचका आधारमा निश्चित क्षेत्रमा केन्द्रित गरेको भन्दै संशोधन नभए पारित हुन नदिने चेतावनी नै दिएका छन् । 

सोही क्रममा आइतबार र सोमबार दुवै दलका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर ध्यानाकर्षण गराइसकेका छन् । सोमबार माधव नेपालसहितका समाजवादीका सांसदहरू बालुवाटारमा प्रधानमन्त्रीसँग भेटेर बजेट सच्चाउन आग्रह गरेका थिए । त्यस क्रममा प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री डा. महतलाई के गर्न सकिन्छ भन्दै गर्न भने पनि उनीहरू बजेट सच्चिनेमा विश्वस्त हुन सकेका थिएनन् । सत्ता गठबन्धनमा रहेका दलहरू आश्वस्त हुन नसकेपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार गठबन्धनका शीर्ष नेताको बैठक बोलाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप