सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहणको ७० वर्ष, बेलायतस्थित दूतावासमा आरोही सम्मानित

मङ्गलबार, ३० जेठ २०८०, २० : ४२
मङ्गलबार, ३० जेठ २०८०

लन्डन । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेकेको ७० वर्ष पुगेको अवसरमा लन्डनस्थित नेपाली दूतावासले सोमबार साँझ एक विशेष सम्मान कार्यक्रमको आयोजना गरेको छ । १९५३ मे २९ तारिख नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए ।

 कार्यक्रममा स्वर्गीय तेञ्जिङ नोर्गेका सुपुत्र जेम्लिङ तेञ्जिङ र हिलारीका छोरा पिटर हिलारी, छोरी सारा हिलारीलगायत सगरमाथा आरोहणमा कीर्तिमानी कायम गर्ने आरोही तथा तिनका परिवारलाई सम्मान गरिएको थियो  ।

दुवै खुट्टा गुमाएर पनि कृत्रिम खुट्टाको सहायताले भर्खरै मात्र सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न सफल हरि बुढामगर, १७ पटक सगरमाथा आरोहण गर्ने बेलायती नागरिक केन्टन कुल, सगरमाथा चढ्ने पहिलो ब्रिटिस महिला रेबेका स्टेफेन्स, सबैभन्दा कम अवधि ६ महिना ६ दिनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका निर्मल पुर्जा (निम्स दाई) सम्मानित भएका हुन् ।

उपस्थित आरोहीहरूलाई बेलायती राजपरिवारका सदस्य ‘डुक अफ ग्लोस्टर’ एवं राजदूत ज्ञानचन्द्र आचार्यले सम्मान गरेका हुन् । निर्मल पुर्जा भने नेपालमा भएकाले कार्यक्रममा सहभागी हुन् सकेनन् ।  तेञ्जिङ नोर्गेका सुपुत्र जेम्लिङ तेञ्जिङ र हिलारीका छोरा पिटर सारा र जेम्लिङले आफ्ना पिताले हिमाल आरोहणको क्षेत्रमा पुर्याएको योगदानको बारेमा प्रस्ट्याएका थिए । आफ्ना पिताहरूले विश्व कीर्तिमानी मात्र नभई आरोहीको लागि प्रेरणाको श्रोत समेत रहेको उल्लेख गरे । जलवायु परिवर्तनको मार खेपिरहेको सगरमाथाको संरक्षण गर्नु नेपालको मात्र नभई विश्वकै जिम्मेवारी भएको उनीहरूको धारणा थियो ।

IMG_8804

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएका आरोहीहरू हरि बुढामगरले आरोहणका क्रमको भोगाई र आरोहणको तयारीका कठिनाइको बारेमा उल्लेख गरे । दुवै खुट्टा नभएका कारण आरोहण अनुमति नपाएपछि सर्वोच्च अदालतमा मुद्धा लडेर नीति परिमार्जन गराएर सगरमाथा आरोहणको कीर्तिमानी  कायम गर्ने सपना पूरा भएको सुनाए ।

१७ पटक सगरमाथा आरोहण गर्ने बेलायती नागरिक केन्टन कुल र सगरमाथा चढ्ने पहिलो ब्रिटिस महिला रेबेका स्टेफेन्सले सगरमाथा आरोहण गर्दाको तिता मिठा अनुभव र अविस्मरणीय क्षणको बारेमा उल्लेख गरेका थिए ।

राजपरिवारका सदस्य ‘डुक अफ ग्लोस्ट'र’ ले नेपाल भ्रमणको क्रममा हिमाली क्षेत्रको पदयात्राको स्मरण गर्दै हिमालय संरक्षणमा नेपालले मात्र नभई सम्पूर्ण  विश्व नै एक हुनुपर्ने बताए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सहभागीहरूलाई स्वागत गर्दै सगरमाथा आरोहणको ७० वर्ष उपलब्धि र प्रेरणाको अवसर भएको बताए । हिमालय पर्यावरणको क्षेत्रमा भएको प्रकोप नेपालको मात्र नभएर सम्पूर्ण विश्वलाई नै चिन्ताको विषय भएको उल्लेख गर्दै यसको बारेमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

IMG_8793

बेलायतको विदेश मन्त्रालयकी डेपुटी डाइरेक्टर मायाले बेलायत नेपाल द्विपक्षीय सम्बन्ध र गोर्खा योगदानको चर्चा गर्दै ब्रिटेन नेपालको प्रमुख विकास साझेदार रहेको स्मरण गरिन् । 

दूतावासकी नियोग उपप्रमुख रोशन खनालले सञ्चालन गरेको सो कार्यक्रममा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्दाको ऐतिहासिक वृत्तचित्र प्रदर्शन गरिएको थियो । दूतावास हलमा आयोजित कार्यक्रममा अतिथिहरूको स्वागतार्थ राखिएका टेबलहरूको नाम पनि सगरमाथा,अन्नपूर्ण,ल्होत्से,मकालु,कञ्चनजङ्घा,धौलागिरि जस्ता विभिन्न हिमालका नामले नामकरण गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप