बजेट संशोधनप्रति के भन्छन् सांसदहरु ?

काठमाडौँ । सांसदहरुले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन् ।
संसदमा बजेट संशोधनसहित पारित गर्नुपर्ने आवाज उठिरहेको अवस्थामा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन् । यद्यपी बजेट संशोधन गर्ने कुरामा सत्तारुढ दलहरुको स्वार्थ बाझिएको हुनसक्ने पनि प्रतिपक्षी दलहरुले आशंका गरेका छन् ।
नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले सत्तारुढ दलका सांसदहरुलाई भागबण्डा पुर्याउनका लागि बजेट संशोधन गर्नेकुरा गरिएको बताए । उनले सरकारले बजेट संशोधन गर्ने कुरा सुनिएपनि बजेटको आधारभुत पक्षहरुमा संशोधन गर्न नखोजिएको बताएका हुन् । प्रमुख सचेतक गिरीले सत्तापक्षका सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रहरुमा भागबण्डा पुर्याउनका लागि बजेट संशोधनको कुरा गरिएको बताए । उनले सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले संशोधन गरेर भएपनि पास गर्ने भन्नुभएको भन्दै यसबाट आशा गर्नुपर्ने ठाउँ नदेखिएको बताए ।
एमाले सचेतक महेश बर्तौलाले बजेटलाई पुनःलेखन नै गर्नुपर्ने आफ्नो पार्टीको भनाइ रहेको बताए । प्रतिपक्षी दलका सांसदहरुले संसदमा उठाएका विषयहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने उनले बताए । उनले बजेटमा प्रधानमन्त्री, अर्थमन्त्री, केही प्रभावशाली मन्त्री र सत्तापक्षकै प्रभावशाली नेता तथा सांसदहरुको अनुहार देखिएको टिप्पणी गरे । उनले सन्तुलित विकास गर्नुपर्नेमा जोड दिए ।
नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले बजेटले सत्तारुढ दलका धेरै सांसदहरुलाई असन्तुष्ट बनाएको बताए । उनले विधि र कानूनले दिएसम्म बजेटलाई परिमार्जन गरेर लैजानुपर्ने बताए । उनले बजेट छुट्याउन आवश्यक ठाउँहरुमा विनियोजन गरी सन्तुलन मिलाएर जानुपर्ने बताए ।
त्यस्तै नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले पूर्वाधार विकास क्षेत्रको बजेट असन्तुलित भएको बताए । उनले बजेटलाई सन्तुलित बनाउन सांसदहरुले माग गरिरहेको उल्लेख गरे । उनले कानुनी उपायहरूको खोजी गरेर बजेटलाई सन्तुलित बनाउनुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आजसम्म बजेट संशोधन भएको आफूले नदेखेको भन्दै बजेटलाई संशोधन गर्नु गल्ती हुने बताए ।
जनता समाजवादी पार्टी,नेपालकी सांसद सुशीला श्रेष्ठले संसदमा छलफलपश्चात बजेट संशोधन गर्दा राम्रो हुने धारणा राखिन् । उनले बजेट संशोधन हुँदा सांसदहरुको गरिमा बढ्ने पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिवको धम्कीबाट नडराउन सरकारलाई पाण्डेको सुझाव
-
राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार गर्यो
-
बाढीको जोखिम रहेको उपत्यकाका नदीको अनुगमनमा मन्त्री
-
माओवादीले संघीय निजामती विधेयकबारे संसद्मा कुरा उठायो
-
भोटेकोसी र सुनकोसी किनार क्षेत्रमा उच्च सुरक्षा सतर्कता
-
प्रतिनिधिसभामा बैठकमा रास्वपा र राप्रपाको विरोध