सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मधेसमा विश्वासको मत दिएपछि कोशीका लागि एमाले विश्वस्त

शुक्रबार, ०१ असार २०८०, १५ : ३७
शुक्रबार, ०१ असार २०८०

काठमाडौं । नेकपा एमालेले मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज यादवलाई विश्वासको मत दिएपछि कोशी प्रदेशको सरकार जोगाउन जसपा नेपालको साथ पाउने विश्वास लिएको छ ।

मधेस सरकारबाट मन्त्री फिर्तामात्रै होइन, सरकारप्रतिको समर्थन फिर्ता लिइसकेको एमालेले त्यहाँका मुख्यमन्त्री सरोज कुमार यादवलाई जेठ ३० गते विश्वासको मत दिएको थियो । मधेसमा जसपाका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि कोशी प्रदेशमा जसपाकै साथ पाएर आफ्नो सरकार जोगाउन सकिनेमा एमालेले विश्वास गरिरहेको छ । त्यसका लागि दुई दलको बीचमा लगभग सहमति पनि भइसकेको स्रोतले दाबी गरेको छ ।

एमाले स्रोतका अनुसार कोशी प्रदेश सरकार जोगाउने सर्तमै एमालेले मधेस प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।

कार्की नेतृत्वको सरकारबाट जसपाले जेठ १७ गते समर्थन फिर्ता लिएको थियो भने माओवादी केन्द्रले जेठ २३ गते फिर्ता लिएको थियो । माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ । सोही कारण कार्कीले विश्वासको मत लिनुपरेको हो ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जसपा नेपालका एक जना प्रदेशसभा सदस्यको समर्थन थियो । माओवादी र जसपाले फिर्ता लिइसकेपछि अहिले राप्रपासहित ४६ सांसदको मात्र समर्थन छ । सरकार बनाउनका लागि ४७ सांसद चाहिन्छ । जसपाले मात्र समर्थन गरेमा एमालेको सरकार जोगिने स्थिति रहेका कारण एमालेले मधेस प्रदेश सरकारमा विश्वासको मत दिएको स्रोतले जनाएको छ ।

एमालेका स्थायी कमिटी सदस्य भीम आचार्य (सुनसरी) ले कोशी प्रदेशमा जसपाको मत लिनका लागि छलफल भइरहेको बताए ।

‘मधेस प्रदेशमा हामीले विश्वासको मत दिइसकेपछि कोशी प्रदेशमा हामीलाई पनि जसपाले विश्वासको मत दिनुपर्ने हो, त्यसमा हाम्रो हक पनि लाग्छ र त्यही अनुसार कुराकानी भइरहेको छ,’ उनले भने, ‘हामीले जसपाको मात्र होइन, माओवादी, कांग्रेसको मतको आशा गरेका छौं, कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउँदा नै अहिलेको समस्या समाधान गर्न सकिन्छ ।’

केन्द्रको झगडामा नअल्झेर पार्टीहरुले प्रदेशमा आफ्नो स्वायत्तताका आधारमा निर्णय गर्न सक्नुपर्छ भन्दै उनले सबै दल नमिले जुनसुकै दुर्घटना हुनसक्ने बताए । मध्यावधिमा जाने कि सबै मिलेर प्रदेशको समस्या समाधान गर्ने भन्नेबारे सबै पार्टीले गम्भीर भएर सोच्नु पर्ने आचार्य बताउँछन् ।

कोशी प्रदेशको बारेमा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोली र जसपाका अध्यक्ष उपेन्द्र यादवको बीचमा पनि पटकपटक छलफल भएको छ । प्रदेश सरकारमा सहभागी नभए पनि एक अर्काको सरकारलाई सहयोग गर्ने प्रतिवद्धता दुवै दलका अध्यक्षले जनाएको स्रोतले दाबी गरेको छ ।

तर जसपाका केन्द्रीय सदस्य जयराम यादव (मोरङ) ले कोशी प्रदेशमा विश्वासको मत दिने कि नदिने विषयमा पार्टीमा कुनै छलफल नभएको बताए । ‘मधेस प्रदेशमा एमालेले विश्वासको मत दिएको छ, त्यसका लागि धन्यवाद दिएका छौं तर अहिले कोशी प्रदेशको बारेमा कुनै छलफल भएको छैन,’ उनले भने, ‘तर राजनीतिमा जे पनि सम्भव छ, त्यो विगतका घटनाले देखाइसकेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप