मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
मोर्चा घोषणा

शासन प्रणाली बदलिएपनि शासनशैली पुरानै छ : उपेन्द्र यादव

सोमबार, ०४ असार २०८०, १७ : १७
सोमबार, ०४ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासन प्रणाली बदलिएपनि शासनशैली पुरानै मानसिकताबाट चलेको बताएका छन् । 

सोमबार समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले राजनीतिक रुपमा शासन प्रणाली बदलिएपनि शासन गर्ने शैली पुरानै रहेको र प्रतिगमनकारी शक्तिहरु प्राप्त उपलब्धिलाई अगाडि बढाउन नदिन लागिरहेको बताए । 

उनले मोर्चा निर्माणको उद्देश्यबारे जानकारी दिँदै भने, ‘चारवटा पार्टीका भिन्नाभिन्नै धारणा र सिद्धान्त हुँदाहुँदै पनि राष्ट्रको हित र परिवर्तनका लागि साझा मुद्दाहरूमा सहमत भएर अवधारणा पत्र सुनाइयो त्यसमा सहमत भएर समाजवादी मोर्चा गठन भएको छ ।’ 

उनले विगतमा जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोहलगायतका विभिन्न आन्दोलनको परिणामअनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुन हुन पुगेपनि जनताले त्यो परिवर्तनको अनुभूति गर्न नपाएका बताए । ‘शासन प्रणाली बदलिएपनि शासनशैली पुरानै मानसिकताबाट चलेका छन्’, अध्यक्ष यादवले भने,  ‘लोकतन्त्रको संस्थागत, संघीयता, गणतन्त्र मौलिक हक जस्ता अधिकार प्राप्त भएपनि प्रतिगमनकारी शक्तिबाट धरापमा पार्ने र समाप्त पार्ने र पुरानै व्यवस्थामा फर्कने प्रयासलाई असफल पार्दै उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धि हासिल गर्न मोर्चा अग्रसर हुनेछ । उनले त्यसका लागि मोर्चाले संसद् र सडक संघर्ष गर्ने समेत बताए । 

अध्यक्ष यादवले नागरिकता समस्यामा प्रतिगामी शक्तिहरूले चलखेल गरिरहेको भन्दै आगामी दिनमा संघर्ष गर्नुपर्ने अवस्था समेत आउन सक्ने बताए । राजनीतिक अस्थिरताको अन्त्य गरी सुशानको बाटो हुँदै विभेद र असमानताको अन्त्य गर्दै समानतामा आधारित समाजवादको आधार तयार गर्न मोर्चा गठन भएको यादवले बताए ।

‘सामाजिक न्यायसहितको लोकतन्त्रलाई विकसित गर्दै समाजवादको धेय पुरा गर्न यो मोर्चा गठन गरिएको हो । यसमा चार दल मिलेर अगाडि बढ्ने । आआफ्ना दृष्टिकोण रहिरन्छन् तर साझा मुद्दामा हामीले भूमिका खेल्नुपर्छ’, यादवले मोर्चा बन्दै र भत्कँदै गरेपनि अव त्यसलाई गलत साबित गर्नुपर्ने बताए । उनले मोर्चाका कारण कसैले तर्सिनुपर्ने अवस्था नरहेको पनि बताए । ‘यो कसैका विरुद्धमा लक्षित छैन, त्यसैले कोही नतर्सिए हुन्छ’, उनले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै भने, ‘प्रतिगमनकारी शक्तिहरू जसले लोकतन्त्रलाई समाप्त पार्ने खेल खेलेका छन् । तिनका विरुद्ध मोर्चा उभिन्छ । आवश्यक परे संघर्ष पनि गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप