मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

आरती साह प्रकरण : पति र ससुरालाई थुनामा पठाउने धनुषा जिल्ला अदालतको आदेश

मङ्गलबार, ०५ असार २०८०, १४ : ४३
मङ्गलबार, ०५ असार २०८०

धनुषा  । धनुषा जिल्ला अदालतले आरती साह प्रकरणमा अभियुक्त बनाइएका आरतीका पति र ससुरालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरतीका पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा फेला परेकी आरती साहको हत्या भएको भन्दै आरतीको माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी भनिएकी आरतीको गाला लगायत शरीरका अन्य भागमा पनि घाउचोट भेटिएपछि उनको हत्या भएको भन्दै किटानी जाहेरी परेको थियो । त्यसपछि अनुसन्धान गरेको प्रहरीले घटनामा आरतीका श्रीमान् र ससुराको संलग्नता रहेको भन्दै प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिल कार्यालय धनुषाले अदालतमा मुद्दा दायर गरेको थियो । 

गत असार १ गते दर्ता भएको उक्त मुद्दामा असार ३ गतेदेखि लगातार थुनछेक बहस भएको थियो । प्रतिवादीतर्फ धेरै कानुन व्यवसायी रहेको कारण हेर्दाहेर्दैमा राखेर उक्त मुद्दामा बहस सुनिएको थियो । मंगलबार खाजा समयअघि बहस सकिएपछि न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले दुवै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 

भएको के थियो ?

साँझ ६ः३० बजेतिर धनुषा जिल्लाको नगराइन नगरपालिका, ८ का विनोद प्रसाद साहलाई उनकै सम्धीको नम्बरबाट फोन आयो, आरती (विनोद साहकी छोरी) बेहोस भएकाले जनकपुरको काब्या अस्पताल ल्याएका छौँ, आउनुप¥यो । सम्धीको फोन पाएलगत्तै विनोदले जनकपुरमा बसेर अध्ययन गरिरहेकी आफ्नी कान्छी छोरी मनिषा साहलाई अस्पताल पठाए र आफू श्रीमतीसहित टेम्पो चढेर ८ किलोमिटर टाढा रहेको जनकपुर पुगे । 

अस्पताल पुगेकी मनिषाले दिदी (आरती)लाई बेहोस भएको जस्तो देखेपछि आमालाई फोन गरेर बताइन् । आमाले फोनबाटै आरतीका गोडाहरू छाम्न भनिन्, मनिषाले आरतीका गोडाहरु कक्रक्क परेको बताएपछि आमाले रुँदै फोन काटिन् । 

मनिषाले काव्या अस्पतालका डाक्टरसँग आरतीको अवस्थाबारे बुझिन् । जवाफ पाइन्, ‘ अस्पताल ल्याउँदा आरतीको मृत्यु भइसकेको थियो ।’

त्यसको केही समयमा अस्पतालमै प्रहरी आइपुग्यो र सोधपुछ सुरु ग¥यो । सोधपुछपछि आरती साहका ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र आरतीका पति मोती बाबु साहले घरमै झुन्डिएको अवस्थामा आरतीलाई फेला पारेकाले उद्धार गरी अस्पताल ल्याएको तर अस्पताल ल्याउँदा चिकित्सकले मृत्यु भइसकेको भनी घोषणा गरेको बताए । त्यसपछि घटनास्थल गएर प्रहरीले मुचुल्का तयार पा¥यो । घरको एक कोठाको सिलिङ फ्यानमा एउटा सल भेटिएको थियो, जसको प्रयोग गरी आरतीले झुन्डिएर आत्महत्या गरेको भनियो । 

आरतीको घाँटीमा आत्महत्या गर्दा हुनेजस्तै घाउ थियो भने गाला र शरीरका अन्य भागमा पनि घाउ थिए । आरतीका माइती पक्षलाई भने उक्त घटना आत्महत्या नभएर हत्या नै भएको शंका भयो । त्यसपछि उनीहरूले प्रहरीमा आरतीका ससुरा र पतिविरुद्ध कर्तव्य ज्यानको जाहेरी दिन खोजे । 

सुरुमा धनुषा प्रहरीले आरतीको माइतीपक्षबाट आएको जाहेरी दर्ता गर्न मानेन । घटना हेर्दा आत्महत्याजस्तो देखिएकाले बरु आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न सकिने प्रहरीको भनाइ थियो । पोस्टमार्टम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने पनि प्रहरीले बताएको थियो । 

जेठ ८ गते अपराह्न १ बजे आरतीको शवको पोस्टमार्टम भयो । रिपोर्टले झुन्डिएको र त्यो आत्महत्या हुन सक्ने भन्यो । साथै त्यही रिपोर्टमा गालामा चोट भएको र चोट भित्री भागसम्म रहेको उल्लेख ग¥यो । यही आधारमा कुटपिट गरी हत्या भएको दाबी गर्दै आरतीका माइतीपक्ष प्रहरीमा जाहेरी दर्ता गर्न गए, फेरि पनि प्रहरीले जाहेरी दर्ता गर्न मानेन । प्रहरीलाई दबाब दिन उनीहरुले जिल्ला प्रहरी कार्यालयअगाडि शव राखेर आन्दोलन गरे । प्रहरीले कर्तव्य ज्यानमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने प्रतिबद्धता जनाएपछि मात्र शवको दाहसंस्कार गरियो । 

आरतीको दाहसंस्कार सकिएलगत्तै प्रहरीले ससुरा मदन मोहन साह भन्ने मदन मोहन ब्याहुत सुडी र पति मोती बाबु साहलाई पक्राउ ग¥यो । अनुसन्धानका क्रममा मोतीबाबु साहले बयान दिए आफू दिनभर बाहिर रहेको र साँझ ५ बजेतिर घर फर्कँदा ढोका लगाइरहेको अवस्थामा ढकढक गर्दा कोठा नखोलेपछि लात्ताले हानेर ढोका फोडी भित्र जाँदा आरती झुण्डिरहेको अवस्थामा फेला परेको बताएका थिए । 

त्यसलगत्तै बुवालाई बोलाएर अस्पताल लगेको तर अस्पतालले आरतीको मृत्यु भइसकेको जानकारी दिएको मोतीबाबुले बताएका थिए । तर मोतीबाबुका बुवा मदन सोडीले भने आरती बहोस् भएको कारण अस्पताल लगेको बताएका थिए । 

जेठ ७ गते साँझ ५ः१५ बजे सलको पासो लगाएको अवस्थामा आरतीलाई फेला पारिएको र अचेत अवस्थामा रहेको भनिए पनि जेठ ८ गते अपराह्न १ बजे आएको पोस्टमार्टम रिपोर्टमा आरतीको मृत्यु २४ देखि ३६ घण्टा पहिले भइसकेको भनी उल्लेख छ ।

आरतीका माइती पक्षले भने आरतीको पति र ससुराले पटकपटक थप दाइजो मागेर आरतीलाई कुटपिट गर्ने गरेको र कुटपिटबाटै आरतीको हत्या भएपनि त्यसलाई आत्महत्या बनाउन खोजिएको आरोप लगायो । 

माइती पक्षका अनुसार, घटना हुनुभन्दा २५ दिनअघि पनि आरतीलाई ससुरा र पतिले कुटपिट गरेको भन्दै आरती माइत गएकी थिइन् । आरती माइतीमा १५ दिन बसेपछि मोतीबाबु आरतीलाई लिन ससुराली गएका थिए । अब राम्रोसँग बस्ने भन्दै मोतीबाबुले आरतीलाई घरमा ल्याएका थिए, तर घर ल्याएको १० दिनपछि नै आरतीको रहस्यमय मृत्यु भएको थियो ।

धनुषा प्रहरीको शंकास्पद भूमिका

आरती साहको मृत्यु प्रकरणमा धनुषा प्रहरीको भूमिका भने निकै शंकास्पद देखिएको थियो । सुरुमा जाहेरी दर्ता नै गर्न नमानेको प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि शव राखेर आन्दोलन गरेपछि मात्रै कर्तव्य ज्यानको जाहेरी लिएर अनुसन्धान थालेको थियो । तर घटनाको २२ दिनसम्म प्रहरीले आरतीको माइती पक्षलाई बोलाएको थिएन । माइती पक्षको भनाइ नै नराखी प्रहरीले एकाएक रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय धनुषामा पठाएको थियो । तर धनुषाका जिल्ला न्यायाधिवक्ता सुदीप दंगालले माइती पक्षको भनाइ समेत समावेश गरेर ल्याउन भन्दै प्रहरीको रायसहितको प्रतिवेदन फिर्ता पठाइदिएका थिए । त्यसपछि बाध्य बनेको प्रहरीले जेठ ३२ गते बिहीबार मात्रै आरतीको माइती पक्षलाई कागज गर्न बोलाएको थियो । 

माइती पक्षले आफूले भनेको जस्तो बेहोरा लेख्न र पहिलो जाहेरीमा ६ बजे हत्या गरेको उल्लेख गरेका कारण त्यसलाई सच्याएर शनिबार राति नै हत्या गरी आइतबार साँझ मात्रै खबर गरिएको बेहोरा लेख्न प्रहरीलाई दबाब दिएको थियो । प्रहरीले भने जाहेरीमा भएको बेहोरा सच्याउन नमिल्ने जवाफ दिएको थियो । साथै प्रहरीले पहिले नै तयार पारेको कागजमा हस्ताक्षर गर्न लगाउन खोजेपछि आफूहरूले प्रतिकार गरेको मृतक आरतीकी बहिनी मनिषा साहले रातोपाटीसँगको कुराकानीमा बताएकी थिइन् । 

प्रहरीले बनिबनाउ कागजमा हस्ताक्षर गर्न दबाब दिएपछि आफूले भिडियो खिचेको र उक्त भिडियो खिचेको भन्दै त्यहाँ कार्यरत डीएसपी वेदप्रसाद गौतमले आफूमाथि निर्घात कुटपिट गरेको मनिषाको आरोप थियो । 

मनिषाले रातोपाटीसँगको कुराकानीमा भनेकी थिइन्,‘कागज गर्न बोलाएपछि हामी त्यहाँ गयौँ तर प्रहरीले पहिले नै कागज तयार पारेर राखेको रहेछ । हामीले भनेकोभन्दा फरक कुरा उल्लेख गरेर हस्ताक्षर गराउन खोज्यो । हामीले त्यस्तो कागजमा हस्ताक्षर गर्न मानेनौँ । प्रहरीले दबाब दिएपछि मैले मोबाइल त्यसको भिडियो खिच्न थालेँ । त्यही समयमा प्रहरीले मेरो मोबाइल खोसेर ममाथि कुटपिट ग¥यो । सुरुमा विवाद भएको कोठामा सिसिटिभी थियो, तर त्यसपछि मलाई त्यो कोठाबाट अन्यत्र लगेर त्यहाँका डीएसपी वेदप्रसाद गौतमले पेटमा लात्तीले हाने । उनले मलाई घाँटीमा समातेर झुन्डाए । शरीरभरि लात्तीले हाने । पेटमा लात्तीले हानेपछि मेरो ब्लिडिङ पनि भयो । अनि रातको १०ः३० बजे उल्टै हामीलाई माफी मगाएर खुट्टा ढोग्न लगाएर कागजमा हस्ताक्षर गराइयो । त्यो कागजमा के लेखिएको छ थाहा छैन, तर पछि बनाएको कागजमा भने हामीले भनेको जस्तो नै लेखिएको छ रे । पहिले भने एकजनालाई मात्रै प्रतिवादी बनाउन दबाब दिइएको थियो र कर्तव्य ज्यानमा नभई आत्महत्या दुरुत्साहनमा मात्रै मुद्दा चलाउने गरी कागजात तयार भएको थियो ।’ 

प्रहरीले त्यसबेलादेखि नै मनिषाको मोबाइल खोसेर राखेको छ । उक्त मोबाइल प्रहरीले अहिलेसम्म पनि फिर्ता दिएको छैन । 

करिब २ वर्ष पहिले दाइजोसहित २५ लाख खर्च गरेर आरतीको विवाह आफूभन्दा १० वर्ष जेठा मोतीबाबुसँग भएको थियो । केटापक्षले आफूलाई इञ्जिनियर भएको बताएर विवाह गरेपनि विवाहपछि केटा इञ्जिनियर नभएको पत्ता लागेको थियो ।

पीडित परिवार धर्नाका लागि माइतीघरमा 

आरतीको साहको हत्या भएको र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दा प्रहरीले उल्टै पीडित परिवारमाथि ज्यादती गरेको भन्दै मृतक आरतीको माइती पक्षले असार १ गते शुक्रबारदेखि काठमाडौँको माइतीघरमा धर्ना दिएका थिए ।

घटनाको सुरुवातदेखि नै प्रहरी पीडक पक्षसँग मिलेको माइती पक्षको आरोप छ । प्रहरीले जबरजस्ती अर्कै कागजमा हस्ताक्षर गराउन खोजेको, कर्तव्य ज्यानको घटनालाई आत्महत्या दुरुत्साहनमा परिणत गर्न खोजेको, घटनाको सम्बन्धमा निष्पक्ष अनुसन्धान नभएको र दुवै अस्पतालको भूमिका समेत शंकास्पद देखिएको भन्दै यसमा थप अनुसन्धान गर्न उनीहरूको माग गरेका थिए । प्रहरीले मोबाइल नै खोसेर कुटपिट गर्नुपर्नाको कारण माग गर्दै कुटपिटमा संलग्न प्रहरी कर्मचारीलाई निलम्बन गरी छानबिन गर्नुपर्ने समेत उनीहरुले माग गरेका थिए । 

सीआईबी टोली घटनास्थलमा

आरती साहको हत्या वा आत्महत्या के भएको भन्ने सम्बन्धमा थप अनुसन्धानका लागि यतिबेला केन्द्रीय अनुसन्धान ब्युरोबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । जेठ ३२ गते सिआइबीको टोली जनकपुर पुगेर घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप