बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंक र प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता

बुधबार, ०६ असार २०८०, १० : ५०
बुधबार, ०६ असार २०८०

काठमाडौँ । माछापुच्छ्रे बैंक र निजी क्षेत्रका विद्यालयहरूको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वित्तीय र डिजिटल साक्षरता पहल सम्बन्धी सम्झौता भएको छ । बैंकले आम जनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापीरुपमा वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम संचालन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । 

सोमबार राजधानीको होटल याक एण्ड यतीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र  प्याब्सनका तर्फबाट अध्यक्ष डिके  ढुङ्गानाले हस्ताक्षर गरे । 

उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बैंक र(प्याब्सनको सहकार्यमा सञ्चालन हुने उक्त वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रममा आवश्यक परेको खण्डमा नेपाल राष्ट्र बैंकको तर्फबाट सहयोग प्रदान गर्ने बताए । 

उनले पछिल्लो समयमा ग्राहकवर्गमा चेतनाको कमी र सामान्य त्रुटिका कारण पनि ठुला ठुला वित्तीय अपराधहरू भइरहेकोले विद्यालय स्तरमा आयोजना हुने यस्ता कार्यक्रमहरूले विद्यार्थी मात्र नभएर उनीहरूका अभिभावकसम्म जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

त्यसैगरि बैंकमन अध्यक्ष एवं गैर आवासीय संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले विभिन्न तहका विद्यार्थीहरूको पाठ्यपुस्तकमा बैंकिङ्ग शिक्षासँग सम्बन्धित विभिन्न जानकारीहरु  समावेश गर्नसकेको खण्डमा अझ उपर्युक्त हुने भन्दै यसका लागि पहल थालिनुपर्नेमा जोड दिए । 

उनले सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिनुपर्ने आजको आवश्यकता रहेको बताए ।

सोही कार्यक्रममा प्याब्सनका अध्यक्ष ढुङ्गानाले प्याब्सनले आफ्नो शैक्षिक क्यालेण्डरमा समेत बैंकिङ्ग शिक्षा लगायतका विषयहरुलाई समावेश गरेको जानकारी गराए ।  बैंक र प्याबसनबीचको यो सम्झौताले बैंकिङ्ग शिक्षालाई गाउँगाउसम्म पुर्‍याउन र पछिल्लो समय डिजिटल कारोबार बढेसँगै बढ्दै गइरहेका डिजिटल अपराधहरूलाई न्यूनीकरण गर्न निकै ठुलो भूमिका खेल्ने बताए ।  

बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकिङ्ग उद्योगको मुख्य चुनौतीको रूपमा रहेको डिजिटल अपराधलाई कम गर्नका लागि बैंकले प्यावसनसंग सहकार्य गरेको जानकारी गराए । उनले उक्त सम्झौताको माध्यमबाट बैंक अझ बृहतरुपमा आम जनमानसमा सचेतना जगाउन सफल हुने र यस्ता सचेतनामुलक कार्यक्रमहरुलाई आगामी दिनमा पनि अझ प्रभावकारी रूपमा अगाडी बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जुकुमार थापाले स्वागत मन्तव्य राखेका थिए । 

उक्त सम्झौता पश्चात प्याब्सनसँगको सहकार्यमा अब बैंकले वित्तीय साक्षरता, डिजिटल अपराधबारे सचेतनामुलुक कार्यक्रमहरू देशव्यापीरुपमा सञ्चालन गर्नेछ भने  प्याब्सनले आफूसँग आबद्ध शैक्षिक संस्थाहरूलाई समन्वय र सहजीकरण गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप