मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

टाइटानिक हेर्न गएको तीन दिनदेखि हराइरहेको पनडुब्बी भेट्टाउन यति समस्या किन भइरहेको छ ?

बुधबार, ०६ असार २०८०, १३ : ५०
बुधबार, ०६ असार २०८०

टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी फेला पार्न उत्तरी एट्लान्टिकमा खोजी अभियान चलेको तीन दिनभन्दा बढी समय भइसकेको छ ।

पनडुब्बीमा अक्सिजनको मात्रा प्रत्येक घण्टा घट्दै गइरहेको छ । आइतबार बेपत्ता भएको पनडुब्बीमा अब ३० घण्टाभन्दा कम अक्सिजन बाँकी छ ।

२० हजार वर्ग किलोमिटरभन्दा ठुलो महासागरको क्षेत्रमा अमेरिकी तट, क्यानडाको नौसेना, वायुसेना, तट रक्षक र न्यूयोर्क एयर नेशनल गार्डले सहयोग गरिरहेका छन् तर अहिलेसम्म खासै सफलता हात लाग्न सकेको छैन ।

अमेरिकी कोस्ट गार्डका अनुसार समुद्र मुनिबाट केही आवाज पक्कै सुनिएको छ, जसलाई निकै महत्त्वपूर्ण मानिएको छ ।

यस्तो अवस्थामा सबैभन्दा ठुलो प्रश्न यो हो कि यो खोज यति चुनौतीपूर्ण र कठिन किन भइरहेको छ ? यस प्रश्नको जवाफ खोज्न बीबीसीले युनिभर्सिटी कलेज लन्डनका मरिन इन्जिनियरिङका प्राध्यापक एलिस्टेयर ग्रेगसँग कुरा गरेको छ ।

उनले पानी मार्फत सञ्चार गर्नु निकै गाह्रो काम भएको बताएका छन् । उनका अनुसार एक पटक सञ्चार गुमे, यसलाई भेट्टाउन कुनै चुनौती भन्दा कम हुँदैन ।

ग्रेग भन्छन्, ‘खोजी अभियानमा जुटेकालाई पनडुब्बीलाई एट्लान्टिक महासागरको सतहमा खोज्नुपर्छ वा समुद्र मुनी भन्नेबारे थाहा छैन । यो दुवै ठाउँमा हुन सक्छ । पनडुब्बी यी दुई बीच हुने सम्भावना धेरै कम छ ।’

पनडुब्बी क्याप कोडबाट करिब ९०० माइल टाढा समुद्रमा हराइरहेको छ, जहाँ समुद्रको गहिराई करिब १३ हजार फिट रहेको छ ।

ग्रेगका अनुसार यदि पनडुब्बी समुद्रको सतहमा छ भने, यसलाई भेट्टाउन धेरै गाह्रो छ, किनभने यो तैरनका लागि बनाइएको हो । यसका साथै पनडुब्बीको रङका कारण यसलाई हावाबाट पनि देख्न सकिँदैन ।

पनडुब्बीले आफ्नो शक्ति गुमाएको हो भने यसले सिग्नल पठाउन सक्दैन र यस्तो अवस्थामा यसलाई भेट्न सजिलो काम होइन ।

यसबाहेक, सबैभन्दा ठुलो समस्या भनेको पनडुब्बीमा बसेका यात्रुहरू आफैँ बाहिर आउन सक्दैनन्, किनभने उनीहरू भित्र बाँधिएका हुन्छन्, त्यसैले उनीहरू भित्र फसेका छन् ।

यदि पनडुब्बी समुद्रको सतहमा छ भने त्यसलाई हेर्न नपर्ने उनको भनाइ छ, किनभने उनका अनुसार यसलाई पत्ता लगाउन सोनार प्रविधि छ, जसमा सिग्नल पठाएर केही कुराको पत्ता लगाउन सकिन्छ ।

पनडुब्बीबाट टाइटानिकको यात्रा

आठ दिनको यो यात्राका लागि साढे दुई लाख डलरको टिकट खरिद गरिएको छ । यस यात्रामा टाइटानिकको भग्नावशेष समुद्रमा ३८०० मिटर तल गएर हेर्न सकिन्छ ।

ओसनगेट कम्पनीको एक विज्ञापन अनुसार यो आठ दिनको यात्रा सामान्यबाट बाहिर निस्कने र केहि असाधारण कुरा पत्ता लगाउने मौका हो ।

यो सानो पनडुब्बीमा एक पाइलट र तीन टिकट खरिद गर्ने अतिथि यात्रुहरू छन् । उनीहरू बाहेक पनडुब्बीमा विज्ञ पनि रहेको कम्पनीले जनाएको छ ।

यो मिसन न्युफाउन्डल्याण्डको सेन्ट जोन्सबाट सुरु हुन्छ ।

कम्पनीको वेबसाइटका अनुसार यसमा तीन वटा पनडुब्बीहरू छन्, जसमध्ये अहिले हराइरहेको टाइटनमा मात्र यति गहिराइमा जान सक्ने क्षमता छ ।

यो पनडुब्बीको तौल १० हजार ४३२ किलोग्राम रहेको र वेबसाइटका अनुसार १३ हजार १०० फिटको गहिराइमा जान सक्छ । 

टाइटानिक जहाज सन् १९१२ मा न्युयोर्कमा आफ्नो पहिलो यात्राको क्रममा डुबेको थियो । यो आफ्नो समयको सबैभन्दा ठुलो जहाज थियो। यसमा उपस्थित २२०० यात्रु र चालक दलका सदस्यहरू मध्ये १५०० भन्दा बढी मारिएका थिए । यस जहाजको भग्नावशेष पहिलो पटक सन् १९८५ मा फेला परेको थियो ।

यस पनडुब्बीमा पाकिस्तानी अर्बपति शहजादा दाउद, उनका छोरा सुलेमान, बेलायती व्यापारी हमिस होर्डिङसहित पाँच जना सवार छन् ।

यसमा यो पनडुब्बी सञ्चालन गर्ने कम्पनी ओसनगेटका सिइओ स्टकटन रश पनि छन् । यी बाहेक फ्रान्सेली अन्वेषक पल हेनरी नार्गेलेट पनि यहाँ छन् ।

पनडुब्बी खोज्नका लागि अन्तर्राष्ट्रिय निकाय पनि लागेका छन् । अमेरिकी कोस्ट गार्डका प्रवक्ताले उद्धार कार्य ‘अत्यन्तै जटिल’ रहेको र पनडुब्बीको स्थान थाहा भए ‘उद्धारमा आफ्नो सबै शक्ति खर्चने’ बताएका छन् ।

अमेरिकी होमल्यान्ड सेक्युरिटी डिपार्टमेन्टको मेमोलाई उद्धृत गर्दै पनडुब्बी गायब भएको स्थानबाट एक जोडदार विस्फोटको आवाज सुनिएको बताइएको छ ।

अमेरिकी मिडिया समूह सीएनएनले मंगलबार राती एउटा मेमो रिपोर्ट गर्याे जसमा आवाज धेरै पटक सुनिएको बताइएको छ । 

प्रश्नकर्ताको जागिर खोसियो

यसैबीच, न्यूयोर्क टाइम्सका अनुसार सन् २०१८ मा यस उद्योगका विज्ञहरूले ओसनगेट  कम्पनीको पनडुब्बी टाइटनको बारेमा चिन्ता व्यक्त गरेका थिए र कम्पनीका सीईओलाई पत्र लेखेका थिए ।

यस बाहेक अमेरिकी अदालतको दस्ताबेज अनुसार ओसनगेटले सन् २०१८ मा ती पनडुब्बी विशेषज्ञलाई जागिरबाट निकालेको थियो जसले पनडुब्बीको सुरक्षासम्बन्धि समस्यातर्फ ध्यान दिलाएका थिए ।

स्कटल्यान्डका पनडुब्बी विशेषज्ञ डेभिड लोखरिजले सन् २०१७ मा यो कम्पनीमा जागिर सुरु गरेका थिए ।

उनले पनडुब्बीमा रहेका कमजोरीबारे चेतावनी दिएका थिए, जसलाई बेवास्ता गरिएको थियो ।

त्यसपछि प्रतिवेदन लेख्दा गोप्य सूचना सार्वजनिक गरेको भन्दै उनलाई जागिरबाट निकालियो । यसका लागि लोकरिजले अदालतमा मुद्दा दायर गरेपछि यो मुद्दा टुङ्गियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप