शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
नेपालको पानीमा भारतको भर

सम्झौताअनुसार नहरमा पानी दिन भारतको आलटाल, किसान सधैँ मर्कामा

बिहीबार, ०७ असार २०८०, १० : २९
बिहीबार, ०७ असार २०८०

बारा । नेपाल र भारत सरकारबीच भएको ‘गण्डक सम्झौता’ अनुसार भारतीय पक्षले नेपाललाई पानी दिन बर्सेनि आलटाल गर्दै आएको छ । दुई देशबीच भएको सम्झौता अनुसार भारतीय पक्षले नेपालको लागि वार्षिक ८५० क्युसेक पानी नहरको माध्यमबाट दिनुपर्ने उल्लेख छ । 

तर, सम्झौता अनुसार पानी दिन भारतले बर्सेनि आलटाल गर्दा बारा, पर्साका किसानहरू मर्कामा पर्दै आएका छन् । कृषि उत्पादन अभिवृद्धि गर्ने र स्थानीय कृषकहरूको जीवनस्तर बढाउने उकास्ने उद्देश्यले नारायणी नदीको पानीलाई गण्डक ब्यारेज निर्माण गरेर नहर प्रणालीको माध्यमबाट दुवै देशमा वितरण हुँदै आएको करिब ५० वर्ष पुगिसकेको छ ।  

बारा, पर्सा र रौतहटको ८२ किलोमिटर क्षेत्र हुँदै यो नहर भारतसम्म फैलिएको छ । नेपालको समेत ३ जिल्लाका ३७  हजार ४ सय हेक्टर भूभागमा सिँचाइ  गर्ने लक्ष्य भए पनि भारतले सम्झौता अनुसार पानी नदिँदा हाल बारा र पर्साको २८ हजार हेक्टर खेतीयोग्य जमिनमा मात्रै सिँचाइको व्यवस्था पुगेको  नारायणी सिँचाइ कार्यालय वीरगन्जका इन्जिनियर सुरेश प्रसाद साहले जानकारी दिए । 

nahar  (3)

सम्झौता अनुसार पानी प्राप्त नभएपछि रौतहटको हकमा भने बारा जिल्ला भएर बग्ने जमुनी नदीमा ब्यारेज निर्माण गरेर सिँचाइको व्यवस्था मिलाउने काम भइरहेको इन्जिनियर साहले बताए । करिब ५० वर्ष पुरानो नहर प्रणाली धेरै ठाउँमा मर्मत सम्भार गर्नुपर्ने देखिएको छ ।

करिब ५० वर्षको अवधिमा भारतले १ वर्ष  अधिकतम ६ सय क्युसेक पानी नेपालको नहरमा छोडेको थियो । अन्य वर्षहरूमा भने ५ सय देखि ५५० क्युसेक मात्रै पानी दिएको साहले बताए। 

असार १५ पछि मात्रै नहरमा पानी छोड्दा किसानलाई समस्या

भारतीय पक्षले समयमै नहरमा पानी छोड्दा किसानहरू थप मर्कामा परेका छन् । लगातार खडेरी हुने तर नहरको पानी नछाडिँदा किसानहरूले समयमै धानको बिउ समेत राख्न नपाउने अवस्था छ ।

नेपाल-भारतबीच ४ डिसेम्बर १९५९ मा भएको गण्डक सम्झौता अनुसार भारतले नेपालको पानी लगेको हो । तर सम्झौताअनुसार पानी नेपालले पाउन नसकेको हो । ‘भारतबाट सम्झौता अनुसारको पानी समयमै नआएका कारण हामीले माथिल्लो निकाय सिँचाइ विभाग, जलश्रोत मन्त्रालयलाई जानकारी गराएर पहल गरिरहेका  छौँ,’ इन्जिनियर साहले भने ‘विगतका वर्षहरू भन्दा पहिले नै पानी छोड्दिनुपर्‍यो, हाम्रा किसानहरूलाई धेरै ठुलो मर्का परिरहेको छ भनेर हामीले पहल गरिरहेका छौँ।’ असार १५ अगावै नेपालको नहरमा पानी छोड्न भारतीय पक्षसँग वार्ता भइरहेको उनको भनाइ छ । नेपालको नारायणी र त्रिवेणी नदीको पानी भारतले गण्डकमा ब्यारेज निर्माण गरेर बाँडफाँड गर्दै आएको छ । 

nahar  (2)

भारतको आलटालले समस्या बढ्दै गएपछि पानीको अभाव पूर्ति गर्न रौतहटमा सिँचाइका लागि बाराको जमुनी खोलामा ब्यारेज निमार्णको काम भइरहेको  छ । ‘जमुनी नदीको हाल गेट जडानको काम बाँकी रहेको छ,जमुनी खोलामा गेट बनाउने काम सकिए लगत्तै रौतहटमा सिँचाइ सुविधा उपलब्ध गराउँछौँ,’ इन्जिनियर साहले भने । यो आयोजना अन्तर्गत ३ जिल्लामा गरेर सिञ्चित हुने क्षेत्रलाई १५ वटा ब्लकहरूमा विभाजन गरिएको छ । बारा र पर्सामा ६/६  वटा र रौतहटमा ३ वटा ब्लकहरू रहेका छन् ।

‘नहरहरूको आयु सकिएकोले नयाँ बनाउनेतर्फ कार्यक्रममा समावेश गरेर हामीले अध्ययन थालिसकेका छौ’ साहले भने । सरकारले नहरको मर्मतका लागि बर्सेनि ४ देखि ५ करोड र वृहत् कार्यक्रम अन्तर्गत करिब १० करोड सम्मको बजेट दिँदै आएको छ । जमुनी नदीको ब्यारेज निमार्णको लागि भने थप बजेट प्राप्त हुने सिँचाइ कार्यालयले जनाएको छ ।

nahar  (4)

नेपालको पानीमा भारतसँग निर्भर हुनुपर्ने बाध्यता

नारायणी र त्रिवेणी नदीको पानी भारतको विहार राज्यको वाल्मिकीनगरमा ब्यारेज निर्माण गरी दोन शाखा नहर मार्फत पर्सा, बारामा आउने गर्दछ । 

नेपालको पानीको श्रोत भए पनि भारतको खटाइमै बारा, पर्साका किसानहरूले पानी पाउने गर्दछन् । किसानहरूको आवश्यकता भन्दा पनि असार १५ पछि लगातारको वर्षा र बाढीपछि भारतले नेपाल तर्फ पानी छोड्ने गरेको किसानहरूको गुनासो छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप