बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
जसपा विधान अधिवेशन

बाबुरामले त्यागेको पद छाड्न चाहँदैनन् अशोक राई

बिहीबार, ०७ असार २०८०, १९ : ५४
बिहीबार, ०७ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले असार १० गतेदेखि तीन दिनसम्म विधान अधिवेशन गर्ने भएको छ । 

सो अधिवेशनका लागि विधानको मस्यौदा तयार भइसकेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा गठन भएको मस्यौदा तयारी समितिले पटक पटक संशोधन गरी विधानको मस्यौदा तयार गरिसकेको छ । 

अध्यक्ष यादवले तयार गरेका मस्यौदामा संघीय परिषद्को प्रावधान हटाइएको थियो तर अशोक राईको पक्षबाट विरोध हुँदा सो प्रावधान पुनः राखिएको स्रोतले जनाएको छ ।

नयाँ शक्ति पार्टीसँग एकीकरण गरेर समाजवादी पार्टी बनाउँदा त्यसमा डा.बाबुराम भट्टराईलाई व्यवस्थापन गर्न संघीय परिषद्को प्रावधान राखिएको थियो । परिषद्को अध्यक्ष भट्टराईलाई बनाएपछि समाजवादी पार्टीमा एक नम्बरको अध्यक्ष को हो भन्ने विवाद भएको थियो । 

बाबुराम भट्टराई र उपेन्द्र यादवले आफैलाई पार्टीमा एक नम्बरको अध्यक्ष ठानिरहे । तत्कालीन राजपासँग एकीकरण गरेर जसपा बनाउँदा त्यतिबेला पनि बाबुराम भट्टराई, महन्थ ठाकुर र उपेन्द्र यादवमा को एक नम्बरको अध्यक्ष हुने विवाद भएको थियो । 

त्यही विवादका कारण बाबुराम भट्टराईले जसपा नेपाल निर्वाचन आयोगमा दर्ता गराउँदा टिपेक्स लगाएर आफ्नो नाम कार्यकारिणी सदस्यमा मात्र राखेका थिए । यसरी एक नम्बर को रहने भन्ने विवाद कायमै रह्यो । बाबुराम भट्टराई पुनः परिषद्मै फर्केका थिए । 

जसपाबाट महन्थ ठाकुरहरु अलग भएपछि बाबुराम भट्टराईले दुई अध्यक्षीय प्रणाली राख्नुपर्ने प्रस्ताव पार्टीमा राखेका थिए । जसपामा दुई जना अध्यक्ष थिए । महन्थ ठाकुर गएपछि अध्यक्षको एउटा पद खाली भयो, त्यहाँ कसैलाई चयन गर्नुपर्ने बाबुराम भट्टराईको माग थियो तर उपेन्द्र यादवले अरु कसैलाई अध्यक्ष बनाउने पक्षमा थिएनन् । 

त्यही विवादका कारण बाबुराम भट्टराई जसपाबाट अलग भए । भट्टराईले छाडेको ठाउँमा उपेन्द्र यादवले वरिष्ठ नेता रहेका अशोक राईलाई परिषद्को अध्यक्ष बनाएका थिए ।

टाउको दुखाइको रुपमा रहेको संघीय परिषद्लाई नै विधान अधिवेशनबाट हटाउन उपेन्द्र यादवले चाहेका थिए । उनले तयार पारेको विधान मस्यौदामा संघीय परिषद्लाई हटाइएको थियो । त्यसपछि अशोक राईले नै त्यसमा विरोध जनाएपछि सो परिषद्लाई पुनः राखिएको हो । 

अशोक राईको पार्टी संघीय समाजवादी पार्टी नेपालसँग उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमको एकीकरण गरेर संघीय समाजवादी फोरम नेपाल बनाएका थिए । र, त्यसमा अशोक राईलाई वरिष्ठ नेताको रुपमा राखिएको थियो । 

लामो समय वरिष्ठ नेताको रुपमा पार्टीमा रहेका अशोक राई बाबुराम पार्टी छाडेर गएपछि परिषद्को अध्यक्षमा चयन भए, अब त्यो ठाउँ छाड्ने पक्षमा नरहेको उनी निकट नेताहरु बताउँछन् ।   

तयार गरिएको विधानको मस्यौदामाथि आज बसिरहेको कार्यकारिणी समितिको बैठकबाट छलफल गरी ९ गते बस्ने केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्नेछ । त्यहाँबाट पारित गरी १० गतेदेखि सुरु हुने विधान अधिवेशनमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप