बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

लुम्बिनी प्रदेशमा १५ वटा शीत भण्डार निर्माण, किसानलाई राहत

सोमबार, ११ असार २०८०, १२ : २२
सोमबार, ११ असार २०८०

बुटवल । लुम्बिनी प्रदेश सरकारले निर्माण सुरु गरेको १९ वटा शीत भण्डारमध्ये १५ वटा निर्माण सम्पन्न भइसकेका छन् । २०७६ सालदेखि प्रदेशका विभिन्न जिल्लामा क्रमागत बजेटअनुसार शीत भण्डार निर्माण गर्ने क्रममा अहिलेसम्म १५ वटा निर्माण सम्पन्न भएको प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

प्रदेशको कृषि तथा भूमि मन्त्रालयका सचिव यमनारायण देवकोटाले मन्त्रालयले उद्यमी, कृषि समूह, सहकारी आदि अनुदान रकम लिएर प्रदेशमा चिस्यान केन्द्र निर्माण अगाडि बढाएको बताए ।

उनले निर्माण भएमध्ये धेरैजसो सञ्चालनमा आइसकेको र केही प्रकृया पु¥याएर सञ्चालनमा ल्याउने तयारी भएको रातोपाटीलाई बताए । प्रदेश सरकारले सम्झौताअनुसार अनुदान दिँदै जाँदा अहिलेसम्म ३३ करोड ३३ लाख रुपैयाँ बजेट खर्च भएको छ ।

353671954_1439827813507671_4176607009148945429_n

अवस्था कस्तो छ ?

लुम्बिनी प्रदेशका १९ शीत भण्डारमध्ये रुपन्देहीको सम्मरीमाई–५ मा रहेको भवानी स्वाबलम्बन बहुद्देश्यीयले निर्माण गर्न थालेको कोल्ड स्टोरको काम रोकिएको छ ।

सहकारीको २५ प्रतिशत लगानी र सरकारको ७५ प्रतिशत लगानीमा निर्माण हुने शीत भण्डार अहिले सहकारीका सेयर सदस्यबीचको विवादले सञ्चालनको जिम्मेवारी गाउँपालिकालाई दिइएको छ । अब निर्माण समिति बनाएर काम आगाडि बढाउने तयारी छ ।

two

रोल्पाको जिल्लाको गंगादेव गाउँपालिका–३ मा रहेको किसानको लागि कृषक समूहले निर्माण गर्न थालेको कोल्ड स्टोर पनि अझै पूरा भएको छैन । रोल्पामा त्रिवेणी गाउँपालिकामा नुवागाउँ साना किसान सहकारीले शीत भण्डार निर्माण गर्दैछ ।

रोल्पाका दुवै सहकारीको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि निर्माणमा ढिलाई भएको छ । यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ मा पनि शीत भण्डार निर्माणकै क्रममा छ ।

img-6973_orig

यस्तै बाँकेको नेपालगञ्ज केल्ड स्टोरेज निर्माण सम्पन्न भएको छ । बर्दिया जिल्लाको बासगढी नगरपालिका– ७ मा रहेको भट्टराई दुग्ध उद्योग प्रालिले जिम्मा लिएको शीत भण्डार निर्माण सम्पन्न भएर सञ्चालमा आएको छ ।

सिजन कृषि सहकारीले सञ्चालन गरेको कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित कोल्ड स्टोर सञ्चालनमा आएको छ । यस्तै सोही नगरपालिका–६ मा रहेको गुमानसिंह कोल्ड स्टोर प्रालि पनि सञ्चालनमा आएको छ ।

गुमानसिंह कोल्ड स्टोरका सञ्चालक अच्युत टन्डनले प्रदेश सरकारको ५० प्रतिशत लगानीमा आफूहरूले २०७८ सालदेखि कोल्ड स्टोर सञ्चालनमा ल्याएको बताए ।

cc26f0bc-e4e5-4db5-a45c-300cebae0441_orig

सो कोल्ड स्टोरमा अहिले कपिलवस्तु विजयनगर गाउँपालिका–७  का किसान समूहले आलु, बाणगंगा नगरपालिका किसानका तरकारी र चितवनबाट ल्याएको गाजरको ठुलो मात्रा अहिले स्टोर गरेको टन्डनले रातोपाटीलाई बताए ।

एउटा नगरपालिका दुई वटा कोल्ड स्टोर सञ्चालन आउँदा किसानलाई राहत भएको शिवराज नगरपालिका वडा नम्बर–६, गडगौडाका किसान राम चौधरीले बताए ।

उनले स्थानीय किसानहरुले सिजनमा भन्दा अफ सिजनमा फलफूल, तरकारी आदि स्टोर ल्याएर राख्दा मूल्य धेरै पाउने गरेको बताए ।

353677239_989429452074505_7997699964576484664_n

यस्तै प्रदेश सरकारको अनुदानमा बुद्ध सिड प्रालि नवलपरासी, रामग्राम–५ मा पनि शीत भण्डार सञ्चालनमा आएको छ । साना किसान सहकारीको जिम्मामा रहेको कोल्ड स्टोर बर्दिया मधुवन नगरपालिका–८ मा हालै सञ्चालनमा आएको छ । शिवशक्ति मिश्रित कृषक समूहले अर्घाखाँची जिल्लाको पणेना गाउँपालिकामा निर्माण गरेको शीत भण्डार पनि सञ्चालनमा छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका र बर्दियाको गौरी पशु फर्माले जिम्मा लिएको मधुवन नगरपालिस्थित शीत भण्डार पनि सञ्चालनमा छ ।

प्रगतिशील कृषक समूहले गुल्मीको धुर्कोट गाउँपालिकामा कोल्डस्टोर निर्माण गरेको छ । कोल्डस्टोर निर्माणसँगै तरकारी उत्पादक किसानहरु उत्साहित भएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

353706518_1299758724310698_2494164448486298786_n

यस्तै चर्तित किसान समूह कपिलवस्तुले निर्माण गरेको कोल्ड स्टोर, हरियाली किसान समूह रुपन्देहीले तिलोत्तमामा निर्माण गरेको कोल्ड स्टोर पनि सञ्चालनमा आएको छ । पाल्पाको अगाह खोला सहारा कृषि सहकारी संस्थाले रम्भा गाउँपालिकामा निर्माण गरेको कोल्ड स्टोर पनि सञ्चालनमा आएको छ ।

मन्त्रालयका प्रवक्ता अनिल मरासिनी किसानलाई बिउ, दुधदेखि फलफूल तरकारीसम्मका लागि फरक फरक तरिकाका कोल्ड स्टोरको माग आएअनुसार क्रमगत रुपमा मन्त्रालयले बजेट छुट्याएर काम गरेको बताउँछन् ।

353670457_310082624684439_5652750282396173363_n

निर्माणमा झमेला

रोल्पाको दहवन र जिनाबाङमा तीन÷तीन करोड लागतका शीत भण्डार निर्माण सकिनै लाग्दा मापदण्डअनुसार काम नभएको निष्कर्षसहित लुम्बिनी सरकारको कृषि मन्त्रालयले भुक्तानी दिन अस्वीकार गरेको छ ।

निर्माणका क्रममा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयद्वारा अख्तियारमा उजुरी परेपछि ती दुई वटै केन्द्र विवादित बनेका हुन् । गत आर्थिक वर्षमै निर्माण भइसकेका ती केन्द्र विवादका कारण सञ्चालनमा आउन नसकेका हुन् ।

रुपन्देहीको सम्मरीमाई–५ मा रहेको भवानी स्वाबलम्बन बहुद्देश्यीयले १४ वटा सहकारी मिलेर काम गर्ने तयारी गरिरहँदा अन्तिममा केही सहकारीका सदस्यहरुले शेयर निकाल्दा झमेला भएको छ ।

साना किसान सहकारी संस्था बर्दिया मुधबनी नगरपालिकाको शीत भण्डारमा पनि मन्त्रालयले रकम भुक्तानी गरेको छैन । विभिन्न झेमलाका कारणले निर्माण सम्पन भएका आधा दर्जन जति कोल्ड स्टोरको रकम भुक्तानी गर्न नसकिएको मन्त्रालयले जनाएको छ ।

निर्माणको क्रममा केही कोल्ड स्टोरमा झमेला आएपछि मन्त्रालयले दिने अनुदान रकम रोकिएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप