शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ललिता निवास प्रकरण

ललिता निवास प्रकरणमा सीआईबीको ‘एक्सन’

मुख्य अभियुक्त भनिएका भाटभटेनीका सञ्चालक गुरुङबाट थप रहस्य खुल्ने प्रहरीको आश
मङ्गलबार, १२ असार २०८०, १३ : ०२
मङ्गलबार, १२ असार २०८०

काठमाडौँ । चर्तित ललिता निवास प्रकरणका मुख्य अरोपीतमध्येका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो (सीआईबी) ले मंगलबार नक्सालस्थित निवासबाटै नियन्त्रणमा लिएको हो । 

गुरुङसहित पाँचजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, हुपेन्द्रमाणि केसी र धर्मप्रसाद गौतम रहेका छन् । उनीहरूलाई सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतको भनाई छ ।

ललिता निवासको ललिता निवासको १ सय ४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हिनामिना भएको निष्कर्षसहित यसअघि सीआईबीले गुरुङलगायत ३ सय ६० जनाविरुद्ध मुद्दा चलाउन सरकारलाई सिफारिस गरेको थियो । हिनामिना भएको जग्गा मध्ये ११२ रोपनी ४ आना जग्गा गुरुङसहित शोभाकान्त ढकाल र रामप्रसाद सुवेदी लगायतसँगको मिलेमतोमा खरिद गरेका थिए । 

जग्गा हिनामिनामा गुरुङविरुद्ध यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ३९ करोड २७ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । गुरुङ २०७७ माघ २१ गते आफैँ विशेषमा उपस्थित भएका थिए । उपस्थित भएकै दिन गुरुङ २ करोड धरौटी तिरेर छुटेका थिए । 

सरकारको नाममा रहेको ललिता निवासको जग्गा भूमाफियासँगको मिलेमतोमा गुरुङलेसमेत आफ्नो नाममा पार्न सफल भएका थिए । 

नक्कली मोही खडा गरेर गुरुङले नै सबैभन्दा बढी जग्गा आफन्त र नातागोता मात्रै होइन विभिन्न व्यापारीलाई बेचेको अरोपसमेत छ । कित्ता नम्बर ७४, १३७, ४१३ का जग्गाहरू गुरुङले आफ्नै नाममा लिएका थिए ।

गुरुङले कित्ता नम्बर १०, १२, १४, १७, ५७, ५८, ७९, ८१, ८२ र २८६ भाटभटेनी डेभलपर्स प्रालिका नाममा राखेका छन् । 

गुरुङकै संलग्नतामा एमाले उपाध्यक्ष विष्णु पौडेलले खरिद गरेको देखिन्छ । तर, राजनीतिक पहुँचका आधारमा सीआईबी र अख्तियारले पौडेललाई मुद्दाको प्रतिवादी बनाउन सकेनन् । सीआईबी प्रमुख एआइजी किरण बज्राचार्यले पक्राउ परेका गुरुङमाथि अनुसन्धान भइरहेको बताइन् । 

मीनबहादुरले गैरआवासीय नेपाली संघ (एनआरएन) लाई समेत जग्गा बिक्री गरेका थिए । उनले एनआरएनलाई बालुवाटारमा जग्गा किनाएका थिए ।

एनआएनको भवन २०७१ फागुन १५ गते शिलान्यास गरिएको थियो । तर, जग्गा भने २०७२ जेठ १४ गते मात्रै जग्गा खरिद गरेको थियो । जग्गा किनेको रकमको चेक एनआरएनले गुरूङ र उनकी पत्नीलाई दिएको थियो । उक्त रहस्य जग्गा खरिदका लागि गठित समितिले पत्ता लगाएको थियो । अहिले उक्त भवनमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय छ । बैंकले भाडामा प्रयोग गरिरहेको हो । अख्तियारले दायर गरेको मुद्दामा एनआरएनलाई पनि प्रतिवादी बनाएको छ ।

भ्याट छलीमा समेत गुरुङ जोडिएका छन् । भाटभटेनीले मूल्य अभिवृद्धि कर छली वस्तु आपूर्ति गर्नेहरूसँग खरिद गरेको नक्कली बिजक बनाएर आफ्नो खर्च बढाएको भन्दै सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप