शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्राकृतिक कारणले २० गैँडा मरे

बुधबार, १३ असार २०८०, २० : ५७
बुधबार, १३ असार २०८०

चितवन । प्राकृतिक कारणले धेरै गैँडा मरेपछि मृत्युको खोजी गरिरहेको चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा विगतको तुलनामा कम गैँडा मरेका छन् । यस वर्ष हालसम्म २२ वटा गैँडा मरेकोमा २० वटा प्राकृतिक कारणले मरेका हुन् भने दुई वटा चोरी शिकारीले मारेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा प्राकृतिक कारणले ४३ वटा गैँडा मरेका थिए । त्यसयताको वर्षहरूमा प्राकृतिक कारणले मर्ने गैँडाको सङ्ख्या त्यसभन्दा कम हुँदै आएको छ । आव २०७६–०७७ मा २६, ०७७–०७८ मा ३९ र ०७८–०७९ मा ३५ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । यस आवमा ०७२–०७३ मा भन्दा बढी तर त्यसयताका अन्य वर्षको तुलनामा कम गैँडा मरेका हुन् ।

त्यसवर्ष १४ वटा गैँडा मरेका थिए । आव २०७३–०७४ मा २४ वटा गैँडा मरेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । चालु आवको माघ महिनामा दुईवटा गैँडा चोरी शिकारीले मारेका थिए । अन्य गैँडा प्राकृतिक कारणले मरेको तिवारीले जानकारी दिए ।

प्राकृतिक कारणले मरेका गैँडा करेन्ट लागेर, चोटपटक लागेर, बूढो भएर, बाघको आक्रमणबाट, एकापसमा जुधेर, मगर गोहीको आक्रमणबाट मरेका हुन् । तिवारीले निकुञ्जभित्रको घाँसे मैदान र पानीको व्यवस्थापनका कारण गैँडा बाहिर ननिस्किएपछि मृत्यु घटेको अनुमान गरिएको बताए । 

प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययनका लागि टोली गठन गरेको थियो । सो टोलीले अध्ययनसँगै सुझाव दिएपछि प्राकृतिक कारणबाट गैँडाको मृत्युदर घटाउन निकुञ्जले सक्दो प्रयास गरिरहेको तिवारीले बताए । 

चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । विगतका वर्षहरूमा चोरी शिकारबाट धेरै गैँडा मर्ने गरेको भए पनि पछिल्ला वर्षहरूमा यो सङ्ख्यामा कमी आएको छ । आव २०७३–०७४ मा एउटा, २०७७–०७८ मा चार वटा र २०७८–०७९ मा दुई वटा गैँडा चोरी शिकारीले मारेका थिए । सशस्त्र द्वन्द्वको समयमा एकै वर्ष चोरी शिकारीका कारण ३७ वटा गैँडा मरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप