शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दीपेन्द्र र वर्षा उत्कृष्ट वर्ष खेलाडी

शनिबार, १६ असार २०८०, १३ : ३८
शनिबार, १६ असार २०८०

काठमाडौँ । क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओली ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड— २०७९’ को वर्ष खेलाडी घोषित भएका छन् । सुदूरपश्चिम स्पोर्टस अवार्डको यो चौथो संस्करण हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा धनगढीमा भएको अवार्ड कार्यक्रममा दुबैजनाले उक्त अवार्ड हात पारेका हुन् । दीपेन्द्रले एथलेटिक्सका शिवराज पार्की र कबड्डीका प्रकाश गिरीलाई पछि पार्दै अवार्ड हात पारे । दीपेन्द्रले गत वर्ष नेपाललाई विश्वकप क्वालिफायरमा पु¥याएका थिए । साथै उनी गत वर्ष टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन बनाउने र एक दिवसीयमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी पनि बनेका थिए ।

महिलातर्फ उत्कृष्ट खेलाडी बनेकी वर्षा गत वर्ष नेपाललाई पहिलो पटक यू—१५ साफ च्याम्पियनसीपको उपाधि जिताउँदा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् । उनी उमेर समूह वा सिनियर साफ च्याम्पियनसिप र दक्षिण एसियाली खेलकुदमा नेपाली टोलीको उपाधि खडेरी टार्दै ह्याट्रिकसहित पाँच गोल गर्ने खेलाडी पनि हुन् । गत वर्ष नेपाली यू—१५ टोलीले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध जित हात पार्दा उनले निर्णायक गोल गरेकी थिइन् । उनले गत वर्ष यू—१७ साफ च्याम्पियनसिपमा पनि तीन गोल गरेकी थिइन् ।  उनी एएफसी छनोटका सबै खेल खेल्दै गोल गर्ने नेपाली खेलाडी पनि हुन् ।

यसैगरी युवा खेलाडीको अवार्ड क्रिकेटका हेमन्त धामीले जिते । धामीले भारोत्तोलनका हेमन्त पाल र क्रिकेटकी अनु कडायतलाई पछि पारे । हेमन्तले गत वर्ष नेपाललाई यू—१९ विश्वकप क्रिकेटमा पु¥याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । वर्ष प्रशिक्षकको अवार्ड क्रिकेटका जगत टमटाले हात पारे । टमटाले गत वर्ष नेपाललाई यू—१९ विश्वकप क्रिकेटमा पु¥याएका थिए । उनी आठ वर्षपछि नेपाललाई यू¥१९ विश्वकपमा कमब्याक गराउने प्रशिक्षक हुन् । उनले नेपाली महिला क्रिकेट टोलीलाई कतारविरुद्धको शृंखला पनि जिताएका थिए । उनले कुस्तीका राजेन्द्र चन्द र भारोत्तोलनका जीवन गौतमलाई पछि पारे । 

सुुदूरपश्चिम आईकन पुरुषतर्फ फेन्सिङका जलेन्द्र शाही घोषित भए । शाहीले ९ औं राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमका लागि स्वर्ण पदक दिलाएका थिए । उनले फुटबलका जियारत सेख (फुटबल) र आनन्द कामी (कराँते) लाई पछि पारेका हुन् । सुदूरपश्चिम आइकन महिला फुटबलकी दिपा रोकाया घोषित भइन् । दीपाको कप्तानीमा नेपालले गतवर्र्ष  पहिलो पटक यु १५ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो । उनले कविता कुँवर (क्रिकेट) र मनिषा सिंह (कुस्ती)लाई पछि पार्दै उक्त अवार्ड जितेकी थिइन् । 

लाइफ टाइम एचिभमेन्ट विष्टलाई

भबिलबलका प्रशिक्षक सहदेव विष्टलाई लाइफ टाइम एचिभमेन्ट प्रदान गरियो । २०२२ सालमा सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा जन्मिएका विष्टले कलिलै उमेरदेखि भलिबल खेल्न थालेका हुन् । स्कुलमा पढ्दा पढ्दै विरेन्द्र सिल्डको पहिलो सहभागितामै उत्कृष्ट खेलाडी बनेका विष्टले त्यही प्रतियोगिता हुँदै क्षेत्रीय टीममा परेर धनकुटामा राष्ट्रिय प्रतियोगिता खेले । जहाँ साविकको सुदूरपश्चिम विकास क्षेत्र तेस्रो भएको थियो । ०४२ सालमा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएपछि उनको ढोका नेपाली राष्ट्रिय भलिबल टीमका लागि खुल्यो ।

त्यस क्रममा भएका मैत्रीपूर्ण प्रतियोगितामा २० वर्षे उमेरमै तहल्का मच्चाए । काठमाडौं र उत्तर प्रदेशमा भएका मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेकै कारण उनी सन् १९८६ मा दक्षिण कोरियाको सोलमा हुने एसियाली खेलकुदका लागि छनोट भए । नेपाली भलिबल टीमले त्यसयता एशियन गेमको अनुभव लिन पाएको छैन । एसियाली खेलकुदमा सहभागीता जनाउने उनीसुदूरपश्चिमका एक मात्रै खेलाडी हुन् ।

स्पेशल अवार्ड : चन्द र कामीलाई
कुस्तिका राजेन्द्र चन्द कराँतेका आनन्द कामीलाई स्पेशल अवार्ड प्रदान गरियो । कुस्तीका चन्दको प्रशिक्षकत्वमा सुदूरपश्चिमले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँच स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेको थियो ।  यस्तै कैलालीको गोदावरी नगरपालिका– १२ ओलानीमा कपाल काट्ने सैलुन समेत गरिरहेका करातेका आनन्द कामीले ०७९ सालमा गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुद अन्तरगत कराँते प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई स्वर्ण पदक दिलाउन सफल भएका थिए ।

पर्वतको कुश्मामा भएको राष्ट्रिय कराँते प्रतियोगितामा कामीले ५० किलो ग्राम तौल समूह अन्तरगत कुमुतेमा स्वर्ण पदक जित्न सफल भएका उनलाई स्पेशल अवार्ड प्रदान गरिएको खेलकुद पत्रकार मञ्चका अध्यक्ष प्रदीप पाठकले बताए ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार, सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप