आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

केन्द्रीय समितिलाई देउवाको बेवास्ता : एक वर्षमा एक पटक पनि बसेन बैठक

काठमाडौँमा बोलाइयो जिल्ला सभापतिको भेला
सोमबार, १८ असार २०८०, ०६ : २५
सोमबार, १८ असार २०८०

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको बेवास्ता कारण करिब एक वर्षदेखि पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन । सभापति देउवाले नचाहँदा गत भदौ ५ यता कांग्रेस केन्द्रीय समिति बैठक बस्न नसकेको हो ।

२०७८ मङ्सिरमा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा दोहोरिएका देउवाले २० महिनामा ५ पटक मात्र केन्द्रीय समिति बैठक बोलाए । देउवाको दोस्रो इनिङ्सको पहिलो बैठक गत वर्ष पुस १० गते बसेको थियो । त्यसपछि पुस १९ मा दोस्रो र माघ १४ मा तेस्रो बैठक बसेको थियो ।

चौथो बैठक चैत ११ देखि १५ सम्म बसेको थियो भने पाँचौँ बैठक असार २७ देखि साउन २ सम्म चल्यो । यसअघि भदौ ५ मा केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो । नेता स्वर्गीय प्रदीप गिरीको शोक प्रस्ताव पारित गरी सकिएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सात महिना यता बसेको छैन ।

तर, पार्टी विधानको धारा २१ को १२ मा केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्ने उल्लेख छ । विधान अनुसार यसबीचमा कम्तीमा ५ पटक बैठक बस्नुपर्ने थियो । तर कांग्रेसले केन्द्रीय समितिको सट्टा केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेर ‘काम चलाउँदै’ आएको छ ।

गत मङ्सिर ४ मा सम्पन्न आम निर्वाचन लगत्तै केन्द्रीय समिति बैठक बस्ने कांग्रेसको तयारी थियो । चुनावी गठबन्धन सरकार निर्माणका क्रममा तलमाथि हुँदा कांग्रेस बैठक तन्कियो । पुस २२ मा बोलाइएको बैठक २८ हुँदै माघ १५ का लागि मिति सारेर अनिश्चित कालका लागि रोकिएको छ ।

पुस १० मा एमालेसहितको गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई फकाउन देउवाले पार्टीको बैठक राख्न उपयुक्त नहुने ठानेर पार्टीभित्रका गुटगत बैठक पनि रोक्न लगाएका थिए । फागुन १२ मा प्रचण्डले एमाले छाडेर कांग्रेससँग सहकार्यको हात मिलाएपछि राष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता र उपनिर्वाचनको विषयले पार्टीमा बैठकको गुञ्जायस भएन ।

वैशाख १० को उपनिर्वाचनमा अनपेक्षित परिणाम आएपछि कांग्रेसमा केन्द्रीय समिति बैठक बोलाउने गृहकार्य भइरहेको थियो । वैशाख २८, २९, ३० र ३१ चार दिन केन्द्रीय समिति बैठक बस्ने तयारी थियो । महामन्त्री गगन थापाका अनुसार सोही अनुसार केन्द्रीय सदस्यलाई खबर पनि दिन थालिएको थियो ।

नेकपा एमालेले पनि २८, २९ र ३० को केन्द्रीय समिति बैठक लागि संसद् रोकाएको थियो । कांग्रेसले पनि त्यही बेलामा केन्द्रीय समिति बैठक राख्न खोजेको थियो । वैशाख २८ अघि पार्टीका विभाग, नेविसंघ, तरुण दल सबै भ्रातृ संस्थाको कमिटी विस्तार गर्ने योजना थियो । 

तर, मन्त्री छनोटमा आफूलाई बाइपास गरिएपछि महामन्त्री थापा सभापति देउवामाथि खनिए । सभापति देउवा र महामन्त्री थापाबीचको सम्बन्ध तनावपूर्ण बनेपछि पार्टीको आन्तरिक गृहकार्यमा पुनः अवरोध खडा भयो । महामन्त्री थापाले विद्रोहको चेतावनी दिए पनि केन्द्रीय समिति बैठक भने रोकिने अवस्था थिएन ।

तर, वैशाख २७ मा नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि देउवाले वैशाख २८–३१ मा बस्न तयारी गरिएको केन्द्रीय समिति बैठक रोकिदिए ।

पार्टीमा खाणलाई निलम्बन नगर्ने निर्णय पनि बहुमतबाट गराउनुपर्ने अवस्था देखेपछि देउवाले बैठक पन्छ्याइदिए । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल बैठक राख्न गरेको प्रस्ताव देउवाले लत्त्याइदिएका थिए ।

खाण पुर्पक्षका लागि जेल चलान भइसक्दा पनि केन्द्रीय समिति बैठक कहिले बस्ने कांग्रेसमा केही सुरसार छैन । सिंगापुरबाट उपचार गरेर फर्किएपछि देउवाले केन्द्रीय समिति बैठक बोलाउने नेताहरूको अपेक्षा थियो । तर, देउवा तत्काल केन्द्रीय समिति बैठक बोलाउने पक्षमा नरहेको बुझिएको छ । गत माघदेखि केन्द्रीय सदस्यले बैठकको माग गर्दा पनि देउवाले बेवास्ता गर्दै आएका देखिन्छ । गत माघमा संस्थापन पक्षीय दर्जन केन्द्रीय सदस्यले बैठकको माग गरेका थिए । केन्द्रीय सदस्यद्वय नैनसिंह महर र मीन विश्वकर्माको अगुवाइमा भएको छलफलपछि उनीहरूले देउवालाई भेटेर पनि बैठकको माग गरेका थिए । देउवा केन्द्रीय समिति बैठक बोलाउन तयार भएनन् । यही असार ११ मा संस्थापन इतर पक्षीय केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै पार्टी कार्यालय सानेपामा निवेदन दिएका छन् । 

‘विधानको धारा २१ को उपधारा १२ ले केन्द्रीय समिति बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्नुपर्ने व्यवस्था’प्रति ध्यानाकर्षण गराउँदै केन्द्रीय समिति बैठक यथाशीघ्र बोलाउन अनुरोध गर्दछु,’ आचार्यको अनुरोध पत्रमा उल्लेख छ ।

केन्द्रीय सदस्यहरूले राखेको बैठकको मागप्रति ध्यानाकर्षण भएको भन्दै असार अन्तिम साता केन्द्रीय समिति बैठक बस्ने उपसभापति पूर्णबहादुर खड्काले बताए ।

उनले भने, ‘असार अन्तिम साता केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । साथीहरूको मागपछि हाम्रो ध्यानाकर्षण भएको छ । हामी केन्द्रीय समिति बैठकको आन्तरिक तयारीमा छौँ ।’

काठमाडौँमा बोलाइयो जिल्ला सभापतिको भेला 

केन्द्रीय समिति बैठकको टुङ्गो नलागेपछि महामन्त्री थापाले जिल्ला सभापतिसँग छलफलको तयारी थालेका छन् । यही असार २० गते जिल्ला सभापतिलाई छलफलका लागि काठमाडौँ बोलाउने तयारी भइरहेको कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले रातोपाटीलाई बताए । 

पराजुलीका अनुसार पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल गर्न लागेको छ । उनले भने, ‘जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफलको एजेन्डा छ ।’ पराजुलीका अनुसार एक दिन छलफल भएकाले सबैलाई काठमाडौँ आउन अनिवार्य गरिएको छैन ।

‘काठमाडौँमा उपस्थिति जिल्ला सभापतिसँग भौतिक रूपमा पार्टी कार्यालयमा छलफल हुन्छ,’ उनी भन्छन्, ‘केही सभापति काठमाडौँ उपस्थिति हुन सक्नुभएन भने जुमबाट छलफल गर्छौँ । जिल्ला सभापतिलाई काठमाडौँ आउन अनिवार्य पनि गरिएको छैन ।’

कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप