आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा विस्तार

शुक्रबार, २२ असार २०८०, १७ : ३६
शुक्रबार, २२ असार २०८०

दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा विस्तार भएपछि बिरामीलाई सहज भएको छ । महँगो गाडि भाडा तिरेर नेपालगञ्ज, बुटवल वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । बिरामीहरुले प्रतिष्ठानमा विस्तारित सेवाअन्तर्गत फिजिसियन, प्रसूति, सर्जन, हाडजोर्नी, बालरोग, मानसिक, छाला, नाक, कान, घाँटी रोग विशेषज्ञसहित अत्याधुनिक उपकरणसहितको ल्याबबाट सेवा पाउने गरेको बताइएको छ । 

प्रतिष्ठानमा विस्तारित सेवा (इएचएस) सुरु हुने भएको छ । विस्तारित सेवा प्राप्त गर्ने बिरामीहरुलाई लाइनमा लाग्नु नपर्ने र आफूले रोजेको चिकित्सकबाट उपचार सेवा प्राप्त गरेमा बिरामीहरु थप लाभान्वित हुने प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले बताए । उनले  विस्तारित सेवा प्रभावकारी हुने र चिकित्सकबाट विशेषज्ञ सेवा बिरामीहरुले दुर्त गतिमा पाउने बताए । विस्तारित सेवा हरेक दिन दिउँसो १२ बजेपछि नाम दर्ता गरेर अस्पतालको टिकट काट्ने व्यवस्था मिलाइएको र १ बजेपछि बिरामीले सेवा पाउने छ्न । अस्पतालमा आउने बिरामीहरुले जनरल बाहेकको समयमा आफूले इच्छाएको र रोजेको चिकित्सकबाट उपचार सेवा दिने उद्देश्यले इएचएस सेवा सुरु हुन लागेको उपकुलपति  डा.लामिछानेले जानकारी दिए ।

यसैगरी प्रतिष्ठानले पोषण पुनः स्थापना गृहबाट ४२ कुपोषित बिरामीलाई उपचार सेवा दिएको जनाइएको छ । २०७० सालमा रु ६० लाखको लागतमा दुईतले भवन बनाएर पाँच वर्ष आफैंले चलाएर २०७५ असार मसान्तमा नेपाल युथ फाउन्डेसनले हस्तान्तरण गरेपश्चात् सञ्चालनमा ल्याउने प्रयास गरिए पनि  २०७८ पुस १ गतेदेखि विधिवत् रुपमा सञ्चालनमा आएको  हो । पोषण पुनःस्थापना गृहबाट साबिक राप्तीका दाङ, प्यूठान, सल्यान, रोल्पा र रुकुमका कुपोषित बिरामीको उपचार गरिएको जानकारी गराइएको छ । 

पोषण अधिकृत सर्जु बरालले हाल ६ शय्याबाट सेवा प्रदान गर्दै आएको जानकारी गराउँदै हालसम्म ४२  भर्ना भएकामा ३६ ‘डिस्चार्ज’ भएको र ६  उपचाररत रहँदा एक जनालाई भने ‘रिफर ’गरिएको बताए । उनका अनुसार २०७८ को पुसमा एक, माघमा एक, फागुनमा सात, चैतमा आठ, वैशाखमा १०, जेठमा ८ असारको १४ गतेसम्म सातजना भर्ना भएकामा उपचारपछि ३६ डिस्चार्ज भएको जानकारी दिए ।

उपचारका लागि आउने बिरामीहरुलाई पोषण सुरक्षासहित आहार, औषधि, उपचार निःशुल्क, जाँच परीक्षण, चिकित्सकको निर्देशनअनुसार औषधि पनि हुने गरेको बताइएको छ । उपचारका लागि सबैभन्दा सल्यानबाट कुपोषित बिरामी आउने गरेको जानकारीसमेत गराइएको छ ।  उपकुलपति डा. लामिछानेले केन्द्रको मात्रै बजेटले उपचार सेवा सम्भव नहुने भन्दै सकेसम्म कुपोषण हुनै नदिने गरी समुदाय स्तरमा सचेतना बढाउने कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए । समुदायमा रहने नागरिकको स्वास्थ्यका लागि वडास्तरबाटै पहल हुनुपर्ने भए पनि अहिले पनि स्थानीय सरकार पूर्वाधार निर्माण मात्रै केन्द्रित हुँदा मानवीय विकास पछि पर्दै गएको उनले भने, “मानव विकास सूचकाङ्क सुधार गर्न उनीहरुको आधारभूत तहको सेवा र सुविधामा ध्यान दिनुपर्छ, जसका लागि समुदाय स्तरमा सचेतना पुर्याउनुपर्छ ।” 

उनले अहिलेको भौतिक विकासले मानिसलाई धेरै कुरामा प्रभाव पार्दै लगेको हुँदा सचेत नागरिक, सेवा प्रवाहमा खटिने निकायले सही सूचना र सन्देश दिँदै मानवीय जोखिमबाट बचाउनुपर्ने बताए ।  समुदाय स्तरमा सुआहारा जस्ता कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । प्रतिष्ठान अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेतले हालको सेवासुविधा बढाउन पूर्वाधार विकासमा ध्यान दिने बताए । सेवाको पहुँचसँगै आम नागरिकमा पोषण सुरक्षाका बारेमा सही जानकारी दिने गरी प्रतिष्ठानले निरन्तर कार्यक्रम गर्दै जाने उनको भनाइ थियो ।

सुआहाराका रोशन पौडेलले दाङमा एक हजार  दुई सय बढी कुपोषित बिरामी रहेको जानकारी गराउँदै समुदाय स्तरमा पुगेर उनीहरुको उपचार गर्न चुनौतीपूर्ण बन्दै गएको बताए । उनले जानेका व्यक्तिले लापरबाही गर्ने तथा दूरदराजका नागरिकहरुले नजानेरै कुपोषणको सिकार हुने क्रम रहेको बताए ।

“कतिपय अत्यन्तै विपन्न भएकै कारण बालबालिका कुपोषणको सिकार भएका छन् भने कतिपय पोषण स्वास्थ्यका बारेमा जानकारी नपाएर प्रभावित भएका छन् यसमा सबै पक्षको सहयोग चाहिन्छ”, उनले भने, “वडाले यस्ता कुरामा पहल गर्नु जरुरी छ, त्यसका लागि लक्षित बिरामीको उपचारमा वडाले पहुँच बढाउनु पर्छ ।” जिल्लामा अहिले कडा खालको कुपोषित बिरामी करीव ४ सय बढी रहेको पनि जानकारी गराए । कुपोषण दर घटाउन र स्वस्थ नागरिक बनाउन समुदाय स्तरबाटै स्वास्थ्य सचेतना बढाउनुपर्ने हुँदा स्थानीय सरकारसँगको सहकार्यमा अब बृहत् रुपमा कार्यक्रम गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप