मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
लम्पी स्किन

गाईभैँसीमा लम्पी स्किन रोग नियन्त्रणबाहिर पुगेकै हो ?

रोकथामका लागि तीन तहका सरकारबीच छैन समन्वय
शनिबार, २३ असार २०८०, १२ : ३९
शनिबार, २३ असार २०८०

काठमाडौं । गाईभैँसीमा लाग्ने ‘लम्पी स्किन’ रोग ७१ वटा जिल्लामा फैलिसकेको छ । यो रोगका कारण साढे २५ हजारभन्दा धेरै गाईभैँसी मरेका छन् । पशु सेवा विभागका अनुसार हालसम्म ६ लाख ९० हजार ६९७ पशु यो रोगबाट सङ्क्रमित छन् ।

२०७७ साल असार १२ गते मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ११ का गाईमा लम्पी स्किन रोगका लक्षण पहिलो पटक पुष्टि भए पनि यसले प्रकोपको रूप लिएको थिएन । पछिल्लो समय गर्मी सुरु भएसँगै बस्तुभाउमा यो रोग फैलिँदै गएको हो । पशु सेवा विभागका वरिष्ठ पशु विज्ञ तथा सूचना अधिकारी डा.चन्द्र ढकालका अनुसार यो रोग अहिले देशव्यापी रूपमा फैलिसकेको छ ।

सरकारले लम्पी स्किनलाई महामारी भनेर घोषणा नगरे पनि सरकारी अधिकारीहरू महामारीकै रूपमा बस्तुभाउमा यो रोग फैलिएको स्विकार्छन् । केन्द्र, प्रदेश र स्थानीय सरकारको समन्वयका अभावमा देशभर यो रोगले भयावह रूप लिएको विभागका कर्मचारी बताउँछन् ।

प्रत्येक पालिकालाई एक लाख

लम्पी स्किनले धेरै गाईभैँसी प्रभावित भएपछि पशुसेवा विभागले प्रत्येक पालिकालाई बिहीबार चालु आर्थिक वर्ष अन्तर्गतकै बजेटबाट एक–एक लाख रुपैयाँ पठाएको छ । विभागले ७ करोड ६० लाख रुपैयाँ पालिकाहरुलाई पठाएको सूचना अधिकारी डा. ढकालले बताए ।

मूलतः पशुमा लाग्ने यस्ता रोग तथा तिनको उपचारका लागि स्थानीय तहले नै आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने ढकाल बताउँछन् । तर स्थानीय तहले गर्ने काम यतिबेला संघ सरकारले गर्नु परिरहेको उनको भनाइ छ ।

‘संघले अहिले लम्पी स्किनको पहिचान, उपचार गर्नु भनेको संघीयताको विरोध गर्नुजस्तै हो,’ उनले भने, ‘काम गर्ने अधिकार, बजेट स्थानीय तहमा छ । तर विडम्बना, केन्द्रबाट काम भइरहेको छ ।’

विभागले केन्द्रका लागि विनियोजन गरिएको बजेट कटौती गरी पालिकालाई पठाउन बाध्य भएको उनले बताए ।

कुल बजेटको २ प्रतिशतमात्रै पशुपन्छीको क्षेत्रमा विनियोजन गरिएको छ । पशु विभागका लागि केन्द्रबाट गरिने कार्यक्रम र तलबका लागि चालु आर्थिक वर्षमा २ अर्ब ३९ करोड विनियोजन गरिएको थियो । जसमा ७८ करोड कर्मचारीको तलबमा खर्च हुन्छ । १ अर्ब ३९ करोड रुपैयाँ पशु बिमाको तिर्नुपर्छ भने २२ करोड रकम कार्यक्रमका लागि छुट्याइएको थियो ।

केन्द्रमा खोप उत्पादन, कृत्रिम गर्भधारण, तलब र केही कार्यक्रमका लागि मात्रै सीमित रकम छुट्याइने डा. ढकालले बताए । बस्तुभाउमा देखिने रोगको पहिचान, उपचार र नियन्त्रणको अधिकार र कर्तव्य स्थानीय तहको हुने उनी बताउँछन् ।

देश संघीयता गइसकेपछि पशुपन्छीमा देखिने रोग नियन्त्रण, उपचार र पहिचानका लागि स्थानीय तहमै बजेट पठाइने गरेको उनले बताए । स्थानीय तहले सडक र भवन निर्माणलाई उच्च प्राथमिकता दिने गरे पनि पशु चौपाया, कृषि क्षेत्रलाई बेवास्ता गरेको डा.ढकालको जिकिर छ ।

‘अधिकांश पालिकाले पशुपन्छीको उपचार, विकास लागि शून्य बजेट राखेका छन्,’ उनले भने, ‘अधिकार पाएका स्थानीय तहले शून्य बजेट राख्ने अनि पशुपन्छीमा रोग फैलिँदा विभागको मुख ताक्ने प्रवृत्ति छ ।’

ढकालका अनुसार प्रत्येक पालिकाले ‘एक पालिका एक भेटेनरी केन्द्र, एक गाउँ एक प्राविधिक’ राख्नुपर्ने व्यवस्था भए पनि त्यसलाई बेवास्ता गर्दा लम्पी स्किन तीव्र गतिमा फैलिएको हो । उनले संघबाट पठाएका भेटेनरी डाक्टरलाई समेत स्थानीय तहले राख्न नमान्ने गरेको सुनाए ।

उनले संघ, प्रदेश र स्थानीय तह बीच नीतिगत रूपमा समन्वय र सहकार्य हुन नसकेको बताए । विशेष गरी स्थानीय तहमा पर्याप्त तालिम प्राप्त प्राविधिक जनशक्ति नरहेको र महामारी नियन्त्रणका लागि विशेष कोषको व्यवस्था नहुँदा समस्या भएको उनको भनाइ छ ।

निजी क्षेत्रको भरमा खोप

देशका सबैजसो जिल्लामा संक्रमण देखा पर्दासमेत सरकारले लम्पी स्किनविरुद्धको खोप खरिद गर्न बेवास्ता गरेको छ । यस्ता रोगको पहिचान, उपचार, नियन्त्रणको दायित्व स्थानीय र प्रदेश सरकारको भनेर संघ सरकार उम्किने गरेको छ ।

यद्यपि पशुपन्छीमा दिइने विभिन्न १३ थरी खोपसँगै लम्पी स्किन रोगविरुद्ध दिइने खोपको गुणस्तर अनुगमन, खोप उत्पादनसम्बन्धी तालिम, खोपको ढुवानी व्यवस्थापन, पोष्ट खोप निगरानी र महामारीजन्य रोग नियन्त्रण कार्यका लागि एकद्वार प्रर्णालीको व्यवस्था गर्न नसक्दा लम्पी स्किन रोकथाम र नियन्त्रणमा चुकेको विभागका एक अधिकारीले सुनाए ।

तर विभागका सूचना अधिकारी डा. ढकाल भने खोपको कमी नरहेको बताउँछन् । ‘निजी क्षेत्रबाट लम्पी स्किन रोग विरुद्धको खोप प्रत्येक जिल्लामा पुगेको छ । औषधिका लागि प्रत्येक पालिकालाई एक–एक लाख रुपैयाँ पठाएका छौँ,’ उनले भने, ‘यो संक्रामक रोग हो । यस्तो महामारीका सबै स्थानमा एकै पटक पशुमा स्वास्थ्य समस्या देखिएकाले अभाव देखिएको हो । लम्पी स्किन विरुद्धको खोप सबै जिल्लामा सहज रूपमा उपलब्ध छ ।’

सरकार आफैँले लम्पी स्किन रोगको खोप निःशुल्क उपलब्ध गराउन नसके पनि निजी क्षेत्रलाई बाटो खुल्ला गरिएकाले सहज रूपमा ठाउँठाउँमा उपलब्ध रहेको उनको भनाइ छ ।

२०७७ साल असार १२ मा लम्पी स्किनको पहिलो लहर देखा पर्दा थोरै सङ्ख्यामा गाईभैँसी प्रभावित भएका थिए । यसपालि एक्कासि देशभर रोग फैलिए पनि यस विषयमा अध्ययन हुन सकेको छैन ।

हाल लम्पी स्किन देखिएका गाईबस्तुको आँखा, खुट्टामा गाँठाहरू देखिनु साथै पशुमा गम्भीर खालको स्वास्थ्य समस्या देखिएको डा. ढकालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप