बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
अलपत्र बन्यो फ्लाइओभर
फोटोफिचर

अलपत्र बन्यो फ्लाइओभर

शनिबार, २३ असार २०८०

ललितपुर । गत वर्ष निकै उत्साहका साथ निर्माण सुरु भएसँगै नेपालमा पहिलो पटक बन्ने ग्वार्को चोकको फ्लाइओभर सबैको चासो र खुसीको विषय बनेको थियो । केही महिना काम भएको भए पनि अहिले फेरी यसको काम रोकिएको छ । 

मुख्य लेन बन्द गरेर सुरु गरिएको काम डिजाइनमा समस्या देखिएपछि तत्कालको लागि रोकिएको छ । यहाँको काम कहिलेदेखि सुचारु हुन्छ भन्ने टुङ्गो छैन । त्यसमाथि चक्रपथको निकै व्यस्त मध्येको ग्वार्को चोकमा सवारी जाम भने बढ्दै छ । एक त काम नभएको त्यसमाथि दोस्रो पटक पनि निर्माणका क्रममा समस्या आउँदा यसको मारमा सर्वसाधारण परेका छन् ।

‘डिजाइनमा आएको समस्याका कारण काम रोकिएको छ र निर्माणको कार्य सम्बन्धमा अध्ययन भइरहेको छ । साथै माटोको वेरिङक्यापसिटी टेस्ट हुँदैछ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भने ।

करिब ६ महिना काम भइसकेपछि फाउन्डेसनको माटोको प्रकृति र डिजाइन फरक भएकोले हाल प्राविधिक टोलीले अध्ययन गरिरहेको र केही दिनमा नै कसरी, कुन डिजाइनमा निर्माण गर्ने भन्ने तय गरेर निर्माण कार्य सुरु हुने मन्त्रालयले जनाएको छ ।

दैनिक लाखौंको सङ्ख्यामा मानिसहरूले प्रयोग गर्ने यो सडक खण्डमा पिक आवरको समयमा ग्वार्को चोकदेखि बी एन्ड बी हस्पिटल र बालकुमारी पुलसम्म पुग्ने गरेको छ । रिङ रोड बाहिर पनि ग्वार्को चोकदेखि बाहुनधारासम्म र रिंगरोड भित्र पाटनको गाःवहालसम्म जाम पुग्ने गर्छ ।

यस अघि पनि ग्वार्कोमा निर्माण भइरहेको ‘फ्लाइओभर’ निर्माण माघबाट सुरु हुने भनिएको भएपनि डिजाइन स्वीकृतमा ढिलाइ हुँदा फागुनबाट निर्माण कार्य सुरु भएको थियो ।

निर्माण कम्पनीले पेस गरेको डिजाइन केही करेक्सन गरेर विभागले माघमा स्वीकृत गरेर निर्माण कार्य सुरु गरेको थियो । अघिल्लो सातासम्म पनि यहाँ पाइलिङको काम गर्नको लागि पिच कटिङ गरेर ड्रिलिङको काम भइरहेको थियो । पाइलिङको लागि ३४ मिटर तलसम्म पिलरको लागि प्यारालाल ८ स्थानमा ड्रिलिङ गरेर पिलर तयार गर्ने योजना थियो । 

निर्माणको जिम्मा पाएको आरसी, समानान्तर र रेलिग्रेले फ्लाइओभरको लागि बीएन्डबी अस्पतालबाट वालकुमारीसम्म र्‍याम उठाएर फ्लाइओभर निर्माण गर्ने योजनामा छ । 

एमएसी वालको प्रयोग गरी ६ मिटरको पिल्लर निर्माण गरेर उचाइको फ्लाइओभर तयार गर्ने योजना थियो । फ्लाइओभरको लम्बाइ कुल ४ सय ९० मिटर हुने छ भने केन्द्रले इपीस मोडेलमा ठेक्का लगाएको हो ।

फ्लाइओभर बालकुमारीतर्फबाट दुई सय ८० मिटर लामो र्‍याम र सातोबाटोतर्फबाट एक सय ७५ मिटर लम्बाइको र्‍याम निर्माण गरिने छ भने यसको उचाइ ६ मिटरको हुनेछ  । 

डिजाइनदेखि निर्माणको सबै उत्तरदायित्व निर्माण कम्पनीकै हुनेछ । हाल रिङरोडमा रहेको ८ लेन मध्ये ४ लेनलाई उठाएर रिङरोडमा फ्लाइओभर निर्माण गरी रिङरोडको जाम हटाउन यस्ले सहयोग पुर्‍याउने छ । 

जसअनुसार सो फ्लाइओभरले कलंकी–कोटेश्वर सडक खण्डको सवारी फ्लाइओभरबाट र ग्वार्को–लामाटार र ग्वार्को–पाटनको सवारी ओभरपासको सडक खण्डबाट गुड्ने छन् । कुल १७ करोड ६८ लाख रुपैयाँ लागत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया