आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

अध्यागमनले रोकेका १५ जना आफ्नै खर्चमा जोर्डन जाने

विभागद्वारा गल्ती स्वीकार, क्षतिपूर्ति दिन अस्वीकार
मङ्गलबार, २६ असार २०८०, १३ : ११
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । अध्यागमन कार्यालयले रोकेका १५ जना नेपाली श्रमिकहरू आफ्नै खर्चमा वैदेशिक रोजगारीका लागि जोर्डन जान पाउने भएका छन् । असार २४ गते वर्किङ भिसा र भिसा रिभ्यूका लागि अनुरोध मात्र गरिएको भन्दै अध्यागमनले फर्काएको थियो । एससीसी मेनपावर कम्पनीमार्फत जोर्डन जान लागेका १ जना पुरूष र १४ जना महिला गरेर १५ जनालले अब आफ्नै हवाई खर्चमा जान पाउने भएका हुन् ।

आवश्यक पर्ने सबै कागजात पेश गर्दा पनि अध्यागमनले भिसाको कारण देखाउँदै फर्काइदिएको भन्दै क्षतिपूर्ति माग गरिएको थियो । तर, अध्यागमनले क्षतिपूर्ति दिन भने अस्वीकार गरेको छ । अध्यागमनमा रहेको ड्युटी अफिसरबाट गल्ती भएको विभागले स्वीकार गरेको छ । विभागले उनीहरूलाई छलफलको लागि बोलाएको थियो । त्यही क्रममा ड्युटी अफिसर समेत सहभागी थिए । र विभागका महानिर्देशक झलकराम अधिकारीले आवश्यक कागजात सहि रहेको प्रतिक्रिया दिएका थिए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा भएको छलफलको क्रममा विभागले भने क्षतिपूर्ति दिन भने अस्वीकार गरेको हो ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीले गल्ती गरेपछि क्षतिपूर्ति पाउनुपर्ने तर, विभाग क्षतिपूर्तिका लागि अस्वीकार गर्दै आएको बताए । विभागले क्षतिपूर्ति दिने अधिकार आफ्नो हातमा नरहेको बताएपछि उनीहरू गृहमन्त्रीलाई भेट्न जान लागेका छन् । अब मेनपावर व्यवसायीले उनीहरूले आफ्नै खर्चमा टिकट काटेर जोर्डन पठाउन लागेको छ । कम्पनीका सञ्चालक अबुल शाहले आफैंले टिकट काटेर उनीहरूलाई पठाउने तयारी भइरहेको बताए ।

‘उताबाट कम्पनीले मान्छे जति सक्दो चाँडो पठाउ भनिरहेको छ । टिकट हेरिरहेको छु । पाइरहेको छैन । टिकट मिल्ने विक्तिकै उनीहरूलाई उठाईहाल्छौं । हाम्रो कानूनी लडाई त गर्दै गर्छौ,’ शाहले भने । विभागका महानिर्देशक अधिकारीले पर्सनल भिसा र कन्ट्रयाक्ट पेपर बनाएर जान पाउने बताए । यो विषयमा क्षतिपूर्ति पाउने भन्ने कुनै कानूनी व्यवस्था नरहेको उनको भनाई छ ।

उनीहरूको तर्फबाट क्षतिपूर्तिको माग भइरहेको छ भन्ने विषयमा महानिर्देशक अधिकारीले भने, ‘क्षतिपूर्तिको कहाँ व्यवस्था छ र ? त्यो हामीले सम्बोधन गर्न नसक्ने विषय पर्यो । हाम्रो कार्यक्षेत्रभित्र परेन । अध्यागमन अधिकृतले गरेको निर्णयविरुद्ध अपिल त लाग्दैन क्षतिपूर्तिको कुरा परको हो । संसारभर कहि पनि हुँदैन यसमा । कन्सुलर अफिसर र अध्यागमन अधिकृतले गरेको निर्णयमा कहि पनि क्षतिपूर्ति पाइँदैन ।’ कहिँ कतै यात्रा गर्ने क्रममा बर्डेन अफ प्रुफ (प्रमाणको भार) आफुसँगै हुनुपर्ने उनको भनाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप