शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा सर्पको डसाइबाट चार जनाको निधन

मङ्गलबार, २६ असार २०८०, १५ : २७
मङ्गलबार, २६ असार २०८०

कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दुई दिनमा चार जनाको निधन भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको निधन भएको थियो । 

निधन हुनेमा नौ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेका गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए । 

दुवैजना आफ्नो हजुरआमासँग एकतले घरको भुईँमा सुतेका थिए । बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले बताए ।

नातिसँग सुतेकी ६० वर्षीय हजुरआमा बसन्ता भुसाललाई पनि  सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।

मृतक दाजुभाइकी आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेको प्रहरी निरीक्षक शाहीले बताए । बुबाको भने यसभन्दा अगाडि नै दुर्घटनामा परी निधन भएको थियो । 

यसैगरी सोमबार बिहान बुद्धभूमि नगरपालिका–१० की १६ वर्षीय ममता रैदासको पनि सर्पको डसाइबाट निधन भएको छ । सर्पले डसेलगत्तै उनलाई नजिकै रहेको गोरुसिङ्गेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्र लगिएकामा त्यहाँ उपचार सम्भव नभएपछि तौलिहवा  जिल्ला अस्पताल पठाइएको थियो  तर त्यहाँका चिकित्सकले ढिलो भएकाले बचाउन नसकिएको बताएका थिए  । 

सोमबार नै महाराजगन्ज नगरपालिकाकी ३० वर्षीय अनिता यादवको सर्पको डसाइबाट मृत्यु भएको थियो । दिउँसो साढे १ बजेको समयमा घर नजिकै रहेको पराल निकाल्ने क्रममा उहाँलाई गोमन सर्पले डसेको थियो । लगत्तै सोही उपचार केन्द्रमा उपचारका लागि लगिएकामा त्यहाँ उपचार नभएपछि बुटवल लैजाँदै गर्दा उनको पनि बाटोमै निधन भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिए । जिल्लामा बर्खा लागेसँगै सर्पको बिगबिगी बढिहरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप