शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओलम्पिक कमिटीका अध्यक्ष भन्छन्–एसियाली खेलकुदको बजेटकै टुंगो छैन

मङ्गलबार, २६ असार २०८०, १८ : ०१
मङ्गलबार, २६ असार २०८०

काठमाडौँ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एसियाली खेलकुद प्रतियोगिता (एसियाड) आयोजना हुन करिब दुई महिना बाँकी रहँदा पनि प्रतियोगिताका लागि आवश्यक बजेटको व्यवस्था हुन नसकेको रहस्य खोलेका छन् ।

वरिष्ठ खेल पत्रकार नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तकको विमोचन समारोहमा एनओसी अध्यक्ष श्रेष्ठले उक्त कुरा बताएका हुन् । एसियाडको १९औं संस्करण आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म चीनको हाङ्झोउमा आयोजना हुँदैछ । 

अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सम्बन्धित राष्ट्रका खेलाडीहरुको सहभागिता पक्का गराउन एनओसीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । तर, पूर्वमन्त्रीसमेत रहेका एनओसी अध्यक्ष श्रेष्ठले अन्तिम अवस्थामा आइपुग्दासम्म पनि एसियाड सहभागिताका लागि बजेटकै टुंगो नलागेको रहस्य खोलको हुन् । 

‘एसियाली खेलकुद सुरु हुन करिब दुई महिना समय बाँकी छ । तर, अहिलेसम्म सरकारले एसियाली खेलकुदका लागि बजेटकै टुंगो लगाउन सकेको छैन । युवा तथा खेलकुद मन्त्री आज हामीसँगै यो कार्यक्रममा हुनुहुन्छ । केही समयपछि मन्त्री परिषद् बैठक पनि सुरु हुँदैछ । बैठकमा जान मन्त्री ज्यू हतारिनु भएको छ,’ पुस्तक विमोचन कार्यक्रममा अतिथिका रूपमा उपस्थित भएका श्रेष्ठले भने, ‘मन्त्री ज्यू, तपाईँ आज समयमै क्याबिनेट बैठकमा पुगेर आगामी एसियाली खेलकुदका लागि बजेटको विषयमा कुरा उठाउनु होला र यसलाई टुंगोमा पनि पुर्‍याउनु होला ।’

नेपाली खेलकुदको वृहत् इतिहास समेटिएको पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ मंगलबार काठमाडौँमा विमोचन गरिएको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, एनओसी अध्यक्ष श्रेष्ठ, शरदचन्द्र शाह मेमोरियल फाउन्डेसनकी अध्यक्ष श्रीमती रेणु शाह, नेपालको पहिलो पुस्ताको खेलकुद पत्रकारसमेत रहेका प्राध्यापक पी. खरेल, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने एथलेटिक्स खेलाडी जीतबहादुर केसी र पुस्तकको प्रकाशक संस्था क्रिएटिभ बुक्सका टीएस ठकुरीले संयुक्त रूपमा विमोचन गरे । 

कार्यक्रममा एनओसी अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको विकासमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव शरदचन्द्र शाहको महत्त्वपूर्ण भूमिका रहेको चर्चा गरे । ‘शरदचन्द शाहको दुईवटा फरक व्यक्तित्व छ । उहाँको राजनीतिक व्यक्तित्वको विषयमा म कुरा गर्न चाहन्न । तर, खेलकुद क्षेत्रको विकासमा उहाँले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ,’ श्रेष्ठले भने ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा राज्य खासै गम्भीर नहुने तर, नतिजा राम्रो ल्याउन नसकेपछि दोषको भागिदार भने खेलाडी बन्नुपर्ने नराम्रो परम्परा नेपाली खेलकुदमा विकास भएको उनले बताए । ‘अहिलेसम्म पनि हामी खेलकुदको विकासका लागि संघर्ष गरिरहेका छौं । एसियाली खेलकुद संघारमा छ, तर बजेटकै टुंगो लाग्न सकेको छैन । यति ठूलो प्रतियोगिताको खेलाडीले कसरी तयारी गर्दैछन् भनेर कसैले चासो देखाएको पाइँदैन,’ उनले भने । उनले नेपाली खेलकुदको इतिहास समेटेर लेखिएको ‘नेपाली खेलकुदको वृत्तान्त’ पुस्तक सबैका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । 

विमोचन कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री लिम्बूले अर्यालद्वारा लिखित पुस्तक नेपाली खेलकुदको विषयमा विस्तृत रूपमा जान्न र बुझ्न चाहनेहरुका लागि महत्त्वपूर्ण दस्ताबेज भएको धारणा व्यक्त गरे । उनले खेलकुद क्षेत्रका समस्याहरू समाधानका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको धारणा पनि व्यक्त गरे । 

प्राध्यापक पी. खरेलले आफूले खेलकुद पत्रकारिता गर्दाको क्षण स्मरण गर्दै नेपाली खेलकुदको विकासमा तत्कालीन सदस्यसचिव शाहको महत्त्वपूर्ण योगदान रहेको बताए । ‘तत्कालीन सदस्यसचिव शरदचन्द्र शाह वृहत् राष्ट्रिय खेलकुद, अन्तर नगर खेलकुद र दक्षिण एसियाली खेलकुदका अवधारणाकार हुन् । कसैको इतिहास मार्न चाहेर पनि मारिँदैन । हामीले विगतको एसियाली खेलकुद प्रतियोगितामा हासिल गरेको उपलब्धिलाई समेत पछ्याउन सकेका छैनौँ,’ उनले भने ।  

पुस्तकका लेखक अर्यालले पुस्तकलाई तथ्यगत रूपमा ओजपूर्ण बनाउन आफूले गरेको प्रयास र लेखनका क्रममा भोग्नु परेको समस्याहरूको विषयमा चर्चा गरेका थिए । ‘वास्तवमै इतिहास लेखन गहन विषय रहेछ । विश्वमै खेलकुद साहित्य अत्यन्ते कम लेखिन्छ । त्यसमाथि नेपालमा खेलकुदको इतिहासको बारेमा पर्याप्त दस्ताबेज नै थिएनन् । यस्तो अवस्थामा महिनौँ भारतका विभिन्न स्थानमा धाएर मैले तथ्यहरु संकलन गर्नुपर्‍यो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप