चिया कफी प्रवर्धनमा स्थानीय तह
खोटाङ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवर्द्धन कार्यक्रम लागू गरेका छन् । लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ्नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन् ।
जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यस वर्ष २५ हजार कफीका बिरुवा निःशुल्क वितरण गरेको छ । पाँच वर्षभित्र पाँच लाख कफीको बिरुवा पु¥याउने लक्ष्य लिएको यस नगरपालिकाले दुई लाख बेर्ना उमार्ने गरी नर्सरी बनाएको छ ।
प्रतिवर्ष दश लाख केजी प्रशोधित कफी उत्पादन गर्ने लक्ष्यसहित कफी खेती प्रवर्द्धन कार्यक्रम लागू गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए । “जिल्लामा कफीको माग धेरै बढेर गएको पाइएको छ । कफीमा अहिले वार्षिक रु २० करोडभन्दा बढी पुँजी पलायन हुन्छ । अबको केही वर्षभित्रै जिल्लाभरि कफीको माग पूर्ति गर्ने गाउँपालिकाको लक्ष्य छ”, उनले भने, “कफी खेतीका लागि पकेट क्षेत्र निर्धारण गरेर यो वर्ष २५ हजार बिरुवा किसानलाई वितरण गरेका छौँ । आगामी वर्ष दुई लाख वितरण गर्ने योजना छ । नगरपालिकाले निःशुल्क बिरुवा उपलब्ध गराएपछि किसान पनि उत्साहित बनेका छन् ।”
दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मैस्याङटार डाँडालाई चियाको बगानमा परिणत गर्न सुरु गरेको छ । वडा–६ छितापोखरीमा पर्ने उक्त डाँडामा करिब ४० रोपनी सरकारी जग्गामा गाउँपालिकाले सात हजार चियाका बिरुवा रोपेको छ ।
सुम्निमा पारुहाङ पार्क (उद्यान)समेत रहेको उक्त डाँडा आन्तरिक पर्यटकको रोजाइमा पर्छ । आगामी दिनमा आन्तरिक पर्यटक वृद्धिसँगै बाह्य पर्यटक भित्र्याउन र कृषिबाट रोजगारी दिन मैस्याङटार डाँडालाई चिया बगान बनाउन सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईले बताए । जिल्लाका विभिन्न भूभागसँगै हिमाल र तराईका फाँटको दृश्य अवलोकन गर्न सकिने मैस्याङटार डाँडामा हरेक दिन आन्तरिक पर्यटक घुम्न आउने गरेका छन् ।
यो वर्ष सात हजार चियाको बिरुवा रोपेको गाउँपालिकाले पछिल्ला वर्ष बिरुवा निरन्तररुपमा थप्दै जाने तयारी गरेको छ । केपिलासगढी गाउँपालिका– १ फेदीमा पनि चियाका बिरुवा धमाधम रोप्न थालिएको छ । जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा यसवर्ष दुई लाख चियाका बिरुवा रोपिने वडाध्यक्ष नीरकुमार राईले जानकारी दिए ।
फेदीमा गत वर्षदेखि व्यावसायिक चिया खोती सुरु गरिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीबाट व्यावसायिक र गुणस्तरीय चिया उत्पादन गर्नेगरी बिरुवा रोप्ने काम सुरु गरिएको गाउँपालिका प्रमुख समिर राईले जानकारी दिए ।
फेदीका तालखर्क, डाँडाखर्क, बर्खे, सुम्देलगायत ठाउँमा प्राविधिक टोलीसहितले चियाका बिरुवा रोप्ने काम गरिरहेका छन् । फेदीमा व्यावसायिक चिया उत्पादनका लागि दुईवटा किसान समूहसमेत गठन गरिएको छ । साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा गत वर्षदेखि नै व्यावसायिक चिया खेती सुरु गरिएको थियो । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँचवटा मात्र वडा रहेको) साकेला गाउँपालिकाले यसवर्ष मात्रै सात हजार बिरुवा रोपेको छ ।
पर्यटकीयस्थल तावाभञ्ज्याङमा रोपिएका चिया बगान हेरचाह गर्न कामदारसमेत राखिएको गाउँपालिकाले जनाएको छ । चिया खेतीलाई पर्यटन प्रवद्र्धनसँगै जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने गाउँपालिकाको उद्देश्य रहेको गाउँपालिका उपप्रमुख बिर्सिका राईले जानकारी दिइन् ।
खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित कपासेभञ्ज्याङमा पनि व्यावसायिक चिया खेती सुरु गरिएको छ । टेम्के–थामडाँडा कृषि सहकारी संस्थाले निःशुल्क उपलब्ध गराएको १५ हजार चियाको बिरुवा रोखिएको गाउँपालिकाले जनाएको छ । जिल्लामा उत्पादित चिया तथा कफीलाई जिल्लामै प्रशोधन गरेर उपयोग गर्नेगरी तयारी गरिएको स्थानीय तहहरुले जनाएका छन् । एक लाख ५७ हजार तीन सय हेक्टर अर्थात् ४८ दशमलव ५८ हेक्टर क्षेत्रफल जमिन रहेको जिल्लामा खेतीयोग्य जमिन ६२ हजार तीन सय ६० दशमलव ०२ रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण