सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

सभामुखमाथि दलको छायाँ ? प्रश्नको घेरामा सभामुख घिमिरेको कार्यशैली

बिहीबार, २८ असार २०८०, १० : १९
बिहीबार, २८ असार २०८०

प्रतिनिधिसभाको सभामुख स्वतन्त्र, निष्पक्ष, तटस्थ भूमिकामा रहनुपर्ने संसदीय मान्यताका कारण आफ्नो राजनीतिक दलको सदस्यता समेत त्याग्ने प्रचलन रहँदै आएको छ।  त्यही प्रचलन अनुरुप नै वर्तमान सभामुख देवराज घिमिरेले पनि आफ्नो पार्टी नेकपा एमाले परित्याग गरेका छन् । तर उनको कार्यशैली स्वतन्त्र, निष्पक्ष र तटस्थ नभएको र एमाले मोह झल्किएको केही घटनाले देखाउँछ भने उनको भूमिकाप्रति दलका नेता तथा सांसदहरुले प्रश्न उठाउन थालेका छन् ।
के सभामुख घिमिरेको भूमिका निष्पक्ष नभएको हो त ? यस्तो छ सभामुख घिमिरेको केही विवादास्पद भूमिका र  विभिन्न दलका सांसदहरुको भनाइ:

–गत जेठ २२ गते प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गरेका थिए । भारत भ्रमणबारे संसद्‍मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधन लगत्तै प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई सम्बोधन गर्न समय दिए, जुन संसदीय परम्परा विपरीत थियो ।

–जेठ २२ गतेकै बैठकमा प्रधानमन्त्रीले सांसदहरुको प्रश्नबारे जवाफ दिइरहँदा बीचमै उठेका एमाले सांसद सूर्य थापालाई सभामुख घिमिरेले प्रतिप्रश्न गर्न समय दिए । त्यसिपछि एमाले र सत्तापक्षका सांसदहरु पनि उठेपछि केही समय बैठकको कारबाही नै प्रभावित भयो । त्यसपछि उनले नियमापत्तिको साहारामा रघुजी पन्तलाई बोल्न समय दिए, त्यसपछि कांग्रेस सांसद विश्वप्रकाश शर्मादेखि स्वतन्त्र सांसद अमरेश सिंहलाई समेत बोल्न समय दिए । यस क्रममा प्रधानमन्त्री आधा घण्टाभन्दा बढी समय रोष्टममा उभिएर बैठकको तामासा हेरिरहे, जो संसदीय अभ्यास विपरीत थियो ।

–गत असार २० गते बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले दिएको एक अभिव्यक्तिलाई लिएर एमालेले विरोध गर्‍यो । बैठकको सुरुमै एमाले सांसद रघुजी पन्तलाई ८ मिनेट बोल्न समय दिएपछि संसदको आकस्मिक समयको रुपमा हुम्लाकी माओवादी सांसद छिरिङ ल्हामु तामाङलाई बोल्नका लागि सभामुखले समय दिए । तर सभामुखले उनको भनाइको मतलव नगरी विरोधमा उभिएका प्रतिपक्षी दलका सांसदहरुलाई बस्न र संसद सुचारु गर्न आग्रह गरिरहे । उनले सांसदमा बोलिरहेकी सांसद तामाङलाई भनाइ टुङ्याउन वा बस्न आग्रह नगरी उनले बोलिरहेका बेला बैठक स्थगितको घोषणा गरे, जुन शैली संसदीय अभ्यासका हिसाबले त्रुटिपूर्ण थियो ।

यतिमात्रै होइन, सभामुखले सो बैठकमा प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतलाई बोल्न समय नै दिएनन् ।

–असार २५ गते बसेको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रमुख प्रतिपक्षी दलले बोलेको कुरा नै अरु प्रतिपक्षी दलको पनि भनाइ रहेको जस्तो भाष्य स्थापित गर्न सभामुखले भूमिका खेलेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । उनले रास्वपाको आफ्नो छुट्टै मान्यता रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डको विवादास्पद अभिव्यक्तिबारे अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले धारणा राखेपछि अरु प्रतिपक्षी दललाई सभामुखले बोल्न समय नदिएकोमा आपत्ति जनाएका थिए ।

उनले भनेका थिए, ‘यसभन्दा २ दिन अगाडि संसद्‍मा जुन किसिमले रास्वपालाई बाइपास गरेर आफ्ना कुराहरु राख्न दिइएन । त्यसमा हामी घोर आपत्ति जनाउन चाहन्छौँ । रास्वपा प्रतिपक्षीको भूमिकामा छ, रास्वपा प्रतिपक्षीको भूमिकामा हुनुको पनि आफ्ना मुद्दाहरु छन् । रास्वपा अरु कुनै दलको मुद्दा बोक्दैन, जनताका मुद्दाहरु छन्, आफ्नै स्वतन्त्र अस्तित्वका साथ उभिएको छ । यसबारे हेक्का होस् भन्ने कुरा म सम्मानित सदनलाई बताउन चाहन्छु । जसले गर्दा हामीले हाम्रो कुरा राख्न पाएनौँ । प्रमुख प्रतिपक्षले जे बोल्यो, त्यसलाई पनि हाम्रै भाष्य हो भन्ने कुरा प्रमाणित गर्ने किसिमको जुन जालसाजीपूर्ण क्रियाकलाप भयो, हामीलाई त्यसमा आपत्ति छ ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद लिङदेनले पनि रवि लामिछानेले जस्तै सभामुखको व्यवहारलाई लिएर बैठकको सुरुमै ध्यानाकर्षण गराएका थिए ।

उनले भनेका थिए, ‘म ध्यानाकर्षण गराउन चाहन्छु कि यो संसद्‍मा केही राजनीतिक दलहरु मात्रै छैनन् । यो पटक थुप्रै राजनीतिक दलहरु छन् र निर्णायक तहमा छन् । अघिल्लो बैठकमा जुन प्रकारको रुलिङ भयो । त्यसप्रति म खेद व्यक्त गर्न चाहन्छु, दुःख व्यक्त गर्न चाहन्छु ।’

पुस्तक विमोचनको क्रममा प्रधानमन्त्रीले बोलेको कुरालाई लिएर अघिल्लो बैठकमा प्रधानमन्त्रीको स्पष्टिकरण लिन चाहे पनि सभामुखबाट बिचार राख्ने मौका किन नदिएको भन्दै उनले प्रश्न गरेका थिए ।

उनले भनेका थिए, ‘हामीले प्रधानमन्त्रीमा नैतिकता छ भने राजीनामा दिनुपर्छ भनेका थियौँ तर त्यो दिन (अघिल्लो बैठकमा) सभामुखज्यूबाट त्यो पद्धति मिचेर किन सत्तापक्षतिर बोल्ने क्रम घुमाइयो ? यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु र सभामुखको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

सभामुख अपरिपक्व नै हुनुहुन्छ : रामहरि खतिवडा

सांसद नेपाली कांग्रेस

सभामुख पहिलो पटक प्रतिनिधि सभामा आउनुभएको रहेछ । पहिला उहाँ राष्ट्रिय सभामा हुनुहुँदो रहेछ । सभामुख मात्र हैन, उपसभामुख पनि अपरिपक्व नै हुनुहुन्छ । कहिलेकाहीँ बैठकमा सभामुख नभएर उपसभामुख मात्र हुँदाहुँदै पनि अरुले संसद चलाउने काम गरे । संसद्‍मा उपसभामुख हुँदाहुँदै कृष्णगोपाल श्रेष्ठले संसद बैठक चलाउनुभयो । त्यो पनि संसदीय प्रचलन विरुद्ध नै हुन्छ ।

बजेट प्रस्तुत गर्ने दिन, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन, बजेटमाथिको छलफलको दिन जस्ता विशेष छलफल हुने बैठकमा शून्य तथा विशेष र आकस्मिक समय हुँदैन । प्रधानमन्त्रीले जवाफ दिने दिन पनि शून्य र विशेष समय हुँदैन । त्यसको व्यवस्थापन सभामुखले गर्नुपर्छ, त्यो दायित्व सभामुखको हो । सत्तापक्ष र प्रतिपक्षको पक्षधरतामा उहाँ देखिनु पनि हुँदैन ।

अघिल्लो सभामुख अग्नि सापकोटाको पालामा एमालेको सबैभन्दा ठूलो अब्जेक्सन थियो कि सापकोटा पार्टीको मात्र सभामुख हुनुभयो भनेर । अहिले पनि त्यही बनाउन खोज्ने हो भने केही अर्थ भएन । अहिले हामीले पार्टीकै सभामुख बनायौँ कोशीमा । पार्टीबाट राजीनामा दिएर म तटस्थ हुन्छु भनेको मान्छेलाई तानेर नथ्थी लगाएर भोट हाल्न ल्याउँदैछन् । यो पद्धति जसले गरेको भए पनि संसदीय मान्यता विरुद्ध भयो जुन सभामुखले गरे पनि । हामी त कृष्णप्रसाद भट्टराई जस्तो सभामुखको खोजी गर्न चाहन्छौँ । यो पक्ष त्यो पक्ष हैन, तटस्थ र यताउति नगर्ने दमननाथ ढुङ्गाना जस्तो निष्पक्ष सभामुख हुनुपर्छ ।

कहिलेकाहीँ सभामुख घिमिरेले त्यो भूमिका निर्वाह गर्न सक्नुभएको छैन तर बिस्तारै त्यो भूमिका सुधार गर्नुहुन्छ भन्ने विश्वासमा छौँ ।  

कार्यव्यवस्था परामर्श समितिको बैठकमा कहिलेकाहीँ हामी छलफल गर्छौँ, कतिपय मुद्दाहरु छन् त्यहाँ, कतिपय कुराहरु त्यहाँ पनि राखिरहेका छौँ ।

एकदिन म राजनीति गर्न नै यहाँ आएको हुँ भनिदिनुभयो उहाँले । राजनीति गर्न सभामुख भइराख्नु पर्दैैन । सभामुख छोडेर राजनीति गरे हुन्छ राजनीति गर्नेले । हिजोअस्ति प्रधानमन्त्रीको जिब्रो चिप्लिएजस्तो कहिलेकाहीँ सभामुखको पनि जिब्रो चिप्लिन सक्ला । तर हामीले उहाँबाट निष्पक्षताको अपेक्षा गरेका छौँ । उहाँले निष्पक्ष भूमिका निर्वाह गर्ने आशा पनि छ । 

उहाँमा निष्पक्षता छैन भन्ने देखिन्छ : हितराज पाण्डे

सांसद, नेकपा माओवादी केन्द्र

सभामुखज्यूले संसदका केही मर्यादालाई उल्लंघन गर्नुभएको छ । जस्तै संसद्‍मा प्रधानमन्त्रीले बोलेपछि अरुले नबोल्ने चलन थियो । प्रधानमन्त्रीले बोलिसकेपछि उहाँले प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्न समय दिनुभयो,  यो संसदीय प्रचलन अनुसार मिलेको विषय हैन ।

प्रधानमन्त्रीले रोष्टममा उभिएर बोल्दा पनि सांसदलाई प्रश्न गर्न समय दिएर लामो समय उभ्याएर राख्नुभयो । त्यो पनि सही विषयबस्तु हो जस्तो मलाई लाग्दैन ।

एक पटक म आफैँले नियमापत्ति गर्न हात उठाएँ । त्यो पटक सभामुखको आशनमा उपसभामुख हुनुहुन्थ्यो । उहाँले मलाई बोल्नुस् त भन्नुभयो तर मलाई कर्मचारीहरुले माइक नै दिएनन्, त्यसकारण मैले बोल्न नै पाइनँ । सभामुखले निष्पक्षताका साथ काम गरिरहनुभएको छैन भन्ने आवाज उठिरहेको छ । प्रधानमन्त्रीले संसद्‍मा बोल्छु भनेपछि अरुलाई बोल्न दिने चलन हैन । असार २५ गते प्रधानमन्त्रीले सम्बोधन गर्नेदिन संसद्‍मा बोल्न एमाले, रास्वपा र राप्रपाका सांसदहरुले यति धेरै जिद्दी गर्नुभयो । प्रधानमन्त्रीले बोल्ने बारेमा सबै सहमति भइसकेपछि हामीलाई बोल्न नदिने हो भने विरोध गर्छौँ भनेपछि प्रधानमन्त्रीले ल भयो नि त भन्नुभयो । प्रधानमन्त्रीले समय मागेपछि त प्रधानमन्त्रीलाई समय दिनुपर्ने हो ।

सभामुखज्यू जहिले पनि संसद चलाउन सबैको सहमति हुनुपर्छ भन्नुहुन्छ तर अरुको सहमति नभएको बेला स्थगित गर्ने, हाम्रो सहमति नहुँदा भने बैठक चलाउनुुहुन्छ, त्यसले उहाँमा निष्पक्षता छैन भन्ने देखिन्छ ।

असार २० गतेको बैठकमा आकस्मिक समय भनेर हाम्रो दलको सांसद छिरिङ ल्हामु तामाङलाई बोल्न समय दिनुभयो । समय दिइसकेपछि त कि नबोल्नुस् भन्नुपर्छ, कि तपाई बस्नुस भन्नुपर्छ । केही नभनीकन सांसदले बोल्दा बोल्दै एक्कासी सभा रोकेर आफू हिँडिदिनुभयो । 

एमालेबाहेक अरु प्रतिपक्षी दललाई महत्त्व दिनुहुन्न : धवलशम्शेर राणा

सांसद, राप्रपा  

सभामुखले असार २० गतेको बैठकमा अन्याय गर्नुभयो । एकैचोटी प्रमुख प्रतिपक्षी दलको नेतालाई बोल्न दिनुभयो । त्यसपछि सदन स्थगित गर्नुभयो । अरु प्रतिपक्षी दलको कुरै सुन्नुभएन । प्रधानमन्त्रीजीले आफ्नो सफाई दिने भनेपछि, क्षमायाचना मागेपछि किन संसद किन बन्द गर्ने भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सभामुखलाई अवगत गराएका थियौँ । उहाँले अरु २ वटा प्रतिपक्षी दललाई संसद्‍मा महत्व नदिने काम गरेर गल्ती गर्नुभयो । आइन्दा यस्तो कुरा नहोस् भन्ने हाम्रो चाहना छ । संसद्‍मा ३ वटा मात्र हैन अरु दल पनि छन्, त्यसकारण आफ्नो हैसियत अनुसार सबै दललाई महत्त्व दिनुपर्छ भनेर हामीले आफ्नो मत राखेका छौँ ।

संसदको नेताको रुपमा सभामुखले भूमिका खेल्नुभएन : प्रेम सुवाल

सांसद, नेपाल मजदुर किसान पार्टी

सभामुख त संसदको नेता हुनुपर्ने हो, सभामुखले सरकारलाई संसदप्रति जवाफदेही बनाउनुपर्ने हो । राजनीतिक पार्टीहरु सबैलाई संसद्‍मा बोल्न दिनुपर्छ । नेपाल मजदुर किसान पार्टीलाई बोल्नका लागि समय उपलब्ध नगराउने काम भएको छ । असार २५ गतेको बैठकमा बोल्न दिनका लागि धेरै आग्रह गरेको थिएँ । देशको सार्वभौमिकता सम्बन्धी विषयमा बोल्न दिनुपर्छ भनेर आग्रह गरेको थिएँ तर मलाई समय दिनुभएन । अस्ति असार २० गतेको बैठकमा बोल्नका लागि समय मागियो, २२ गते माग्यौँ बैठक भएन । २४ गते माग्यौँ, बैठकै भएन । संसदको नेताको रुपमा सभामुखमा सबै गुण हुनुपर्ने हो तर बोल्न नदिएपछि त्यो गुण नभएको ठहर्छ । 

सभामुख भनेको संसद्‍मा सबै दलहरुको नेताको रुपमा रहनुपर्छ । संसद बैठक भनेको एक घण्टा, दुई घण्टामा बैठक टुङ्ग्याउनु हुँदैन । जसरी सरकारी कर्मचारी दश बजेदेखि पाँच बजेसम्म काम गर्नुपर्छ, संसद पनि त्यसरी नै दिनको ७ घण्टा चल्नुपर्छ, सबै विषयमा छलफल हुनुपर्छ । संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरुलाई उहाँले बोल्न दिनुपर्छ । त्यो उहाँको कर्तब्य नै हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप