सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक : आकस्मिक समयमा कसले के भने ?

शुक्रबार, २९ असार २०८०, १५ : ४९
शुक्रबार, २९ असार २०८०

काठमाडौँ । नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले लम्पिस्किन रोगको रोकथामका लागि सरकारले उदासिनता देखाएको बताएका छन् ।  

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक गिरीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकार उदासिन भएको बताएका हुन् । उनले लम्पिस्किन रोगबाट किसानहरुलाई ३७ अर्ब बराबरको क्षति भइसकेको भन्दै अझैपनि पशुहरुलाई प्रभावकारी ढंगले खोप लगाउन नसकिएको बताए । उनले गाउँगाउँमा प्राविधिकहरु समेत पठाउन नसकेको भन्दै सरकारलाई यसप्रति ध्यानाकर्षण गराए । उनले बजेट अभाव भएमा निर्वाचन क्षेत्र विकास कोषबाट रकमान्तर गरेर भएपनि नियन्त्रणका लागि लाग्नुपर्ने बताए । 

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले बालुवाटार जग्गा प्रकरणका मुल पात्रहरुलाई कारबाही गर्न माग गरे । उनले व्यापारी र साना कर्मचारीलाई मात्रै सरकारले ध्यान दिएको भन्दै ठूला माछाहरुलाई पनि कारबाही गर्न माग गरे ।  

नेकपा(माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले दलित समुदायप्रतिको ज्यादतीले सिमा नाघेको बताए । उनले दलित समुदायका व्यक्तिले अन्तरजातिय विवाह गरेमा विभिन्न झुठा मुद्दा लगाएर फसाउने गरिएको भन्दै उसप्रति सरकारको ध्यानाकर्षण गराए । उनले यस्ता घटना घट्न नदिन संसदीय विशेष समिति नै आवश्यक परेको बताए । 

त्यस्तै जातीय भेदभाव तथा कसुर सजाय ऐन २०६८ लाई निर्भिक कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराए ।   

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकको कार्यसूचीमा मिटरब्याज सम्बन्धी विधेयक नआएको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले संसदको आगामी बैठकमा मिटरब्याज सम्बन्धी विधेयक नल्याएमा संसद् बैठक चल्न नदिने चेतावनी दिए । उनले आफूहरु मिटरब्याज पीडितको पक्षमा रहेको बताए ।   

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दलित समुदायका व्यक्तिहरुलाई राज्यको सर्वोच्च निकायमा पु¥याउनुपर्ने बताए । उनले दलित समुदायका व्यक्ति देशको प्रधानमन्त्री नभएसम्म जातीय छुवाछुत अन्त्य नहुने धारणा राखे । 

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले तराई, मदेसमा खेतियोग्य जमिनमा सिँचाइ नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले आफ्नो आँखा मधेसमा पनि पु¥याउनुपर्ने बताए ।

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैँले व्यहोर्ने बताएको भएपनि अर्थ मन्त्रालयसँग उपचार खर्च मागेको भन्दै विरोध गरे । उनले ललिता निवास जग्गा प्रकरणमा प्रधानमन्त्री र मन्त्रीहरुलाई पनि कारबाही गर्नुपर्ने बताए ।

आम जनता पार्टीका सांसद प्रभु शाहले गएराति रौतहटमा एक युवाको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरे । उनले बालाजु र कालिमाटीको तरकारी बजारको सटर गैरकानूनी रुपमा भाडामा लगाइएको भन्दै यसप्रति कृषिमन्त्रीको जवाफ माग गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकि सांसद रोशन कार्कीले लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराए ।

नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नेकपा(एमाले)ले अवरोध गरेको संसद् खोले पनि संसद् बैठक चलाउन सरकार पक्ष तयार नभएको बताए । उनले अवरोध खोलेकै दिनदेखि संसद् बैठक किन पछि धकेलेको भन्ने प्रश्न गरे ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप