शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

‘गौँथली’ ट्रेलर : एक युवतीको विवाहपछिको चुनौती र सङ्घर्ष

शनिबार, २० असार २०८३, ०८ : ३९
शनिबार, २० असार २०८३

सारांश

  • चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ, जसले एक युवतीको शिक्षा र वैवाहिक जीवनका चुनौतीलाई देखाउँछ ।
  • चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का हुन्, जसको अभिनय ट्रेलरमा केन्द्रित छ ।
  • यो चलचित्र डा. भोला रिजालको कथामा आधारित छ र उहाँका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन् ।

काठमाडौँ । चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी साउन १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको सङ्घर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ । ट्रेलर चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र सिम्रन खड्का वरिपरि घुमेको छ ।

‘गौँथली’लाई डा. कपिल रिजालले निर्देशन गरेका छन् । चलचित्रमा अरुण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीको अभिनय छ ।

डा. भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिलसँगै निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले गरेका हुन् । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन् । निर्माताको रूपमा सुमन गिरी र डा. कपिल रिजाल छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माता रहेको चलचित्रमा शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत छ ।

हरि हुमागाईको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछाने र मौसम हिमालीको कोरियोग्राफी चलचित्रमा छ । ‘गौँथली’ नाममा डा. भोला रिजालले दुई दशकअघि चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्रलाई नेपालको पहिलो ‘गीति फिल्म’ (म्युजिकल फिल्म) मानिन्छ । ‘गौथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको थियो । अहिले सोही नाममा डा. भोला रिजालका छोरा तथा निर्देशक डा. कपिल रिजालले नयाँ चलचित्र ‘गौँथली’ निर्देशन गरेका हुन् ।

चलचित्रलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफ.डी. कम्पनीले वितरण गर्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप