सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

धादिङका दुई तिहाई खेतमा अझै भएन रोपाइँ

शनिबार, ३० असार २०८०, २२ : १२
शनिबार, ३० असार २०८०

धादिङ । असारको अन्तिम दिनसम्म धादिङका दुई तिहाइ खेतमा रोपाइँ हुन सकेको छैन । धान बालीको पकेट क्षेत्र मानिएको फाँटहरुमा अघिल्लो बाली पाकिनसकेका कारण रोपाइँ हुन नसकेको हो । 
यो वर्ष असार मसान्तसम्म ३५ प्रतिशतमा मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र धादिङका कृषि प्रसार अधिकृत कमलराज शर्माले जानकारी दिए । वर्षात ढिला भएको र चैते धान र मकै पाकिनसकेको कारण रोपाइँ ढिलो भएको शर्माको भनाइ छ । 

खोलाको पानी लाग्ने खेतमा भर्खर मात्रै रोपाइँको रौनकले छोएपनि टारी खेतमा मकै पाकेकै छैन । “मनसुनका लागि चैते धान रोपाइँ नै ढिलो भयो । त्यसैले मकै ढिला लगाइयो”, कृषि प्रसार अधिकृत शर्मा भन्छन्, “अहिले टारी खेतमा चैते धान र मकै दुवै भित्र्याउने बेला हुँदैछ, त्यसले पनि यो वर्ष रोपाइँ ढिलो भएको हो ।”

धादिङमा वार्षिक ५० हजार मेट्रिकटन वर्षे धान र २० हजार मेट्रिकटन चैते धान उत्पादन हुँदै आएको छ । विशेष गरी कम उचाइ भएका ठाउँका किसानले मकवानपुर १, सावीत्री, सुख्खा १, २, ३, ४, ५ रामधान जस्ता धान लगाउने गरेका छन् । बढी उचाइ भएका ठाउँका किसानले खुमल ४, खुमल १०, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान लगाउँदै आएका छन् ।

जिल्लाको नीलकण्ठ नगरपालिका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती हुने पकेट क्षेत्र मानिँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप