बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
यातायात

नेपाल रेल्वेको सेवा विस्तार, अब भंगहा (बिजलपुरा) सम्म रुट

२० वर्षपछि गाउँमा रेल आउँदा खुसीको सीमा छैन
आइतबार, ३१ असार २०८०, २० : ००
आइतबार, ३१ असार २०८०

जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा ‘नेपाल रेल्वे’ ले आजदेखि महोत्तरीको भंगहा (विजलपुरा) सम्म सेवा विस्तार गरेको छ  भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमबीच रेल सेवा विस्तार उद्घाटन गरेका हुन् । 

१५ महिनादेखि भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरसम्म रेल सेवा सञ्चालनमा थियो । आजदेखि १७ किलोमिटर दुरी थप भइ ५२ किलोमिटरको दुरीमा सेवा सञ्चालनमा आएको छ ।

गत जेठ १८ गते थप १७ किलोमिटर भागको लिक निर्माण गरेर भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेपछि सो क्षेत्रमा रेल सेवा विस्तार गरिएको हो । करिब २० वर्षपछि गाउँमा फेरि रेल सेवा सञ्चालन भएपछि खुसीको सीमा नै नरहेको भंगहा नगरपालिकाका मेयर संजीवकुमार साहले बताए । उनले भंगहा(बिजलपुरा) मा रेल सेवा सञ्चालन भएपछि भंगहा नगरवासीमा निकै उत्साह देखिएको बताए ।

rail b

नगरपालिकाभित्र रेल सेवा सञ्चालन भएसँगै भोलिका दिनमा भंगहा नगरपालिका औद्योगिक करिडोरको सम्भावना बढेको मेयर साहको भनाइ छ । उनले भने, ‘अब यहाँको व्यापार पनि बढ्ने भयो र, यसले यस नगरवासीको आर्थिक अवस्था पनि राम्रो हुनेछ ।’

उनले अब भारतबाट सिधा भंगहा सीतापुरसम्म व्यापारको वातावरण बनेको बताए । अगामी दिनमा यहाँ औद्योगिक करिडोर स्थापना भएपछि यहाँको जीवनस्तर अझै राम्रो हुने उनको अपेक्षा छ । ब्रोडगेज दुई सेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो ।

सुरुमा दुवै रेल जनकपुरबाट जयनगर जाने र आउने गरी दैनिक दुई पटक सेवा दिँदै आएकोमा गत वर्ष मंसिरदेखि दिनको दुई पटक आउने र जाने गरी चार पटक सेवा दिइरहेको छ ।

rail b3

अब भोलि(सोमबार) देखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीन पटक आउने र जाने गरी ६ पटक सेवा प्रदान गर्ने नेपाल रेल्वेका महाप्रबन्धक निरन्जन झाले बताए । तर हाललाई भंगाहा स्टेशनसम्म दिनको एक पटकमात्र (बिहान जाने र साँझ फर्किने) उनले जनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप